नेतृत्व हस्तान्तरणबारे पार्टीमा छलफल भैरहेको छ- प्रचण्ड

नेतृत्व हस्तान्तरणबारे पार्टीमा छलफल भैरहेको छ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे छलफल भैरहेको बताउनुभएको छ । 

एउटा बिधि बनाएर उत्तराधिकारी तयार गर्ने र आफू फरक भूमिकामा रहनेगरी छलफल चलिरहेको उहाँले जानकारी दिनुभएको हो । झन्डै तीन दशक आफूले पार्टीको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले अब एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा रहेको स्पष्ट पार्नुभयो । 

‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ', प्रेस सेन्टर नेपाल बाँकेले आज बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले भन्नुभयो, 'पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५-३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोंचमा छु ।’

 त्यसक्रममा उहाँले पार्टी फुट्छ भन्ने हल्ला निराधार रहेको जनाउँदै झन एकढिक्का भएको दाबी गर्नुभयो । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्नेक्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । 

अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । सरकारमा जानुभन्दा पार्टी निर्माण कार्यमा लाग्ने उहाँको भनाई छ । 

अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावनाविपरित चलिरहेको पनि बताउनुभएको छ । ‘संविधानको भावनाविपरित बनेको सरकारले निरन्तर जनताका इच्छा विपरित काम गरिरहेको छ', उहाँले भन्नुभयो, ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौं ।’

फरक प्रसंगमा उहाँले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो भन्नुभयो । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले आजका दिनमा माओवादी नै त्यस्तो शक्ति भएको दाबी गर्नुभयो ।
 

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ', प्रचण्डले भन्नुभयो, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’

टिप्पणीहरू