मधेसमा भित्रभित्रै मिलाउने मन्त्रणा
परिवर्तनको नारा दिएर सत्तामा आए,परिणाम दिन सकेनन् । एकातिर थ्रेस होल्डको भय, अर्काेतिर खुद्रा दोकान थाप्दा भाउ पाउन नसकेपछि टुटेफुटेका मधेसी दल एक बनाउने ‘सुपर ग्लु’को काम गर्दै छ,जनमत पार्टीले ।
नामका अगाडि‑पछाडि मधेसी जोडिएका दर्जन हाराहारी पार्टी छन् तर उनीहरू स्वचालित र आर्थिक रुपमा आत्मनिर्भर नहुँदा कत्ति पनि भाउ नपाइने स्थिति थियो । त्यहीमाथि नयाँ राजनीतिक दल र नयाँ विचार रोक्नका लागि कांग्रेस र एमाले संयुक्त सरकारले जुन खालको चलखेल गर्दै छ,सोविरुद्ध सिके शक्तिलाई एक गराउन प्रयास र छलफल तीव्र पारेका छन् । बुझिएअनुसार जनमत पार्टीले मधेश केन्द्रित दलको दोस्रो तहका नेताहरूसँग ध्रुविकरण वा गठबन्धनका लागि चरण चरणमा छलफल चलाइसकेको छ । हृदयेश त्रिपाठी,लोकतान्त्रिक समाजादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ला,बृषेशचन्द्रलाल,रामचन्द्र कुशवाह,गोविन्द चौधरी,रामकुमार महतोहरूसँग यो विषयमा सघन छलफल भइसकेको छ।
गजेन्द्रनारायण सिंहले ०४१ सालमै नेपाल सद्भावना परिषद् नामक पार्टी खोलेको तीन वर्षमै टुटफुटको श्रृंखला शुरु भएको हो । ०५८ सालमा उनको निधनपछि सद्भावना क्षतविक्षत भयो । पत्नी आनन्दीदेवी सिंहले पार्टी फुटाइन् र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) जन्मियो । मधेस आन्दोलनपछि लक्ष्मणलाल कर्णले सद्भावना पार्टी चलाए । ०६५ मंसिर २४ गते राजेन्द्र महतोले आफ्नो नेतृत्वमा अर्को सद्भावना पार्टी गठन गरे । अर्कोतर्फ श्यामसुन्दर गुप्ता,खुशीलाल मण्डल र सरिता गिरीले पार्टी फुटाए र नाम नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) नै राखे । ०६८ सालमा आनन्दीदेवीको मृत्युपछि श्यामसुन्दर गुप्ता जेल गए अनि सरिता गिरी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा गइन् । उपहारमा सांसद पद पाएपछि महतो नेतृत्वको सद्भावना दुई टुक्रामा विभाजित भयो ।
अनिलकुमार झा र सरिता गिरीले मिलेर संघीय सद्भावना पार्टी गठन गरे। रामनरेश रायले भने अर्कै पार्टी खोले । पछि महेन्द्रराय यादवले तराई मधेस सद्भावना पार्टी खोले । उपेन्द्र यादव नेतृत्वको फोरम पनि टुटफुटमै रह्यो । कुनै समय संसदमा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बनेको फोरमबाट २०६६ सालमा विजयकुमार गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरम,नेपाल (लोकतान्त्रिक) पार्टी बन्यो । ०६८ सालमा उपेन्द्रको पार्टीबाट १३ सभासद लिएर जेपी गुप्ताले मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बनाए ।
सो पार्टीबाट अशोक राई ७ सांसद लिएर अलग भएको धेरै भएको छैन । ०६४ सालमा कांग्रेसबाट जन्मिएका महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टी टुटफुटपछि थुप्रै राजनीतिक पसल खोलिएकोमा छिट्टै महन्थ ठाकुर,सिके राउतलगायतको एउटा एलायन्स र उपेन्द्र यादवलगायत कम्युनिष्ट विचारधारा बोक्ने दलबीच अर्काे गरी दुई वटा मात्र शक्ति निर्माण हुने गरी गतिविधि अगाडि बढिरहेको मधेश मामलाका जानकारहरू बताउँछन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू