कमरेड प्रचण्ड, सुझाव सुन्ने फुर्सद छ ?

कमरेड प्रचण्ड, सुझाव सुन्ने फुर्सद छ ?

आदरणीय पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका पनि अभिभावक (अध्यक्ष) पुष्कमल दाहाल ‘प्रचण्ड’ज्यू अभिवादन ! लेख्नुपर्ने र सुनाउनुपर्ने कुरा मनमा धेरै मडारिएका छन् । खै, कहाँबाट शुरु गरौँ भन्ने अलमलमा पर्दै छु ।

भर्खरै माओवादीको सम्पन्न स्थायी समिति बैठकमा तपाईंको नेतृत्वशैलीबारे धेरै कुरा उठे । अब पार्टीको अध्यक्ष फेर्नुपर्ने भन्दै बैठकमा बोल्ने अधिकांश नेताले आवाज उठाए । तर, अहिले त्यो विषय पुनः सेलाएको छ । माधव नेपालले नेतृत्व गरेको नेकपा (समाजवादी)सँग पार्टी एकता गर्ने विषयले ‘इस्यु डाइभर्ट’ गर्नुभयो । जति तत्लो लेभलबाट बहस, छलफल हुनुपथ्र्यो त्यति हुन पाएन । तर, माओवादीभित्रैबाट उठेको यो समस्या टरेको छैन, सरेको मात्र छ । तपाईं पनि कम्ता बाठो हुनुहुन्न ! कम्युनिष्ट एकता गर्छु भन्दा मेरो नेतृत्वशैलीप्रति औँला उठाइयो भन्न के बेर ? 

म यहाँ पछिल्लो सिर्जित घटनाक्रमबाट अन्य विषय राख्ने चेष्टा गर्छु । करिब दुई वर्षअघि तपाईंकै प्रमुख आतिथ्यतामा चितवनको भरतपुरमा नेकपा (माओवादी) केन्द्रको जनवर्गीय संगठन (भ्रातृ संस्था)  प्रेस सेन्टरको केन्द्रीय अधिवेशन सम्पन्न भयो । त्यसबाट ‘इलेक्सन’ नभई ‘सेलेक्सन’ विधिबाट तपाईंकै चाहनाबमोजिम विष्णु सापकोटा ‘जुगल’ केन्द्रीय अध्यक्षमा चयन भए । त्यहाँबाट काठमाडौं फर्किएपछिको केही हप्तापछि प्रेस सेन्टरले पदाधिकारी टुंग्यायो । संगठनको कुनै पनि पद तथा जिम्मेवारीमा नरहेका केही व्यक्ति खुमलटार धाएर तपाईंकै आशीर्वादमा पदाधिकारीको टीका धारण गरे । विशेषतः निर्मल ज्ञवाली संगठनका अन्य उपाध्यक्षमध्येका एक हुन् । जो, तपाईंकै जोडबलमा उपाध्यक्ष बनेकोे चर्चा बजारमा अहिले पनि प्रेस सेन्टरमा उत्तिकै ताजा विषय बनिरहेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष जुगल र केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली म ६ वर्षदेखि सम्पादक रहँदै आएको झिल्को डटकम सञ्चालन÷व्यवस्थापन गर्ने भन्दै लगानीकर्ताका रुपमा गत वर्षदेखि भित्रिएँ । हाल झिल्को डटकमको अध्यक्षमा निर्मल ज्ञवाली छन् भने सल्लाहकारमा विष्णु सापकोटा जुगल छन् । सम्पादकमा म स्वयं छु ।

उनीहरू लगानीकर्ताको रुपमा भित्रिँदा हामी झिल्कोमा मासिक पारिश्रमिक लिएर काम गर्ने श्रमजीवी कर्मचारी जम्मा तीन÷चार जना मात्र थियौँ । उनीहरू लगानीकर्ताका रुपमा आउने भएपछि हामी श्रमजीवीहरू निकै हर्षित भयौँ । सोचेका थियौँ, संगठनका केन्द्रीय अध्यक्ष र उपाध्यक्षहरू नै आउने भएपछि त हाम्रो मासिक पारिश्रमिकमा पनि वृद्धि हुन्छ होला, समयमै पारिश्रमिक पाइन्छ होला । पत्रकारकै नेता भनाउँदाहरूले सञ्चालन गरेको मिडियामा श्रमजीवी पत्रकार ऐन लागू हुन्छ होला । अनलाइनमा विज्ञापनमा पनि प्रशस्तै आउँछ होला । तर, हाम्रो सपना यिनीहरूले चकनाचुर बनाए । 

तर, उनीहरू झिल्कोमा भित्रिएको दुई महिनादेखि काम गर्ने वातावरणमा धुमिल पार्ने, मासिक पारिश्रमिक प्रदान गर्न ढिलासुस्ती गर्ने, सम्पादकीय स्वतन्त्रता हनन गर्दा काम गर्ने वातावरण नैं अवरोध भयो । काम गर्ने वातावरण नहुँदा उनीहरू लगानीकर्ता भई आएको एक महिनामै एक जना श्रमजीवी साथीले जबर्जस्ती रोगजारीबाट हात धुनुपर्ने अवस्था आयो । मैले पनि गत पुसदेखि हालसम्म पारिश्रमिक प्राप्त गर्न सकेको छैन । उनीहरूको बेवास्ताका कारण अहिले झिल्को डटकम नै बन्द छ । करिव ९, १० महिनादेखि बेवारिस बनेको झिल्को डटकमको व्यवस्थापन उनीहरूले हुँडलेर छोडेका छन् । माओवादका ठूला कुरा गरेर श्रमजीवीलाई भोकभोकै हुन बाध्य बनाएर निर्मल ज्ञवाली र विष्णु सापकोटा प्रेस संगठनको नाममा गुट सिर्जना गर्दै केही नेताको चाकडीमा व्यस्त हुँदा झिल्को बन्द भएको हो । उनीहरूले प्रेस सेन्टरको नाम भजाएर झिल्कोको नाममा रकम असुली गरेको कुरा प्रेस सेन्टरकै केही नेताले सुनाउँदै हिँडेका छन् । झिल्को डटकमलाई माओवादी केन्द्रको आधिकारिक मुखपत्र हो भन्दै धम्क्याएर, फकाएर र प्रभाव र प्रलोभनमा पारेर विज्ञापन भन्दा पनि रकम असुली भइरहेको कुरा प्रेस सेन्टरकै जिम्मेवार साथीहरूबाट सुनिएको छ । केही साथीले यतिसम्म सूचना दिएका छन् कि उनीहरूले झिल्को पार्टीको आधिकारिक मुखपत्र हो भन्दै भरतपुर महानगरबाट समेत झिल्को व्यवस्थापन गर्नुपर्नेछ भनेर मेयर रेणु दाहालसमक्ष पुगेर रकम असुलेका छन् । यसबारे उचित छानबिन हुन जरुरी छ ।

अध्यक्षज्यू, हाम्रोभन्दा पनि तपाईंको चाहनाबमोजिम नै विष्णु सापकोटा जुगललाई प्रेस सेन्टरको अध्यक्ष बनाइएको हो । उनले संगठन राम्रोसँग चलाउन सक्लान् भन्ने अभिप्रायले तपाईंले उनलाई अध्यक्ष पदमा टीका लगाइदिनुभएको हो । तर, यतिबेला सापकोटा संगठनलाई गतिशील बनाउने, पत्रकारलाई तालिम दिन, क्षमता अभिवृद्धि गर्न लाग्नुभन्दा पनि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको स्वकीय सचिव बनेर गएपछि प्रेस सेन्टर मौरीबिनाको रानोजस्तै बनेको छ । नेपाल पत्रकार महासंघको निर्वाचन आउँदै छ । निर्वाचनका बेला पत्रकारका अन्य विभिन्न संगठनका नेतासँग वार्ता, छलफल, बैठक र एलाइन्स पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि अन्य संगठनका नेताले प्रेस सेन्टरको वार्ता गर्नुपर्ने आधिकारिक व्यक्ति को हो भन्दै खोज्दै हिँडेको सुन्दा सेन्टरमा आबद्ध साथीहरूले मुन्टो निहाराउनुपर्ने स्थिति सिर्जना भएको छ । पत्रकार महासंघको निर्वाचनका लागि योग्य, सक्षम, पत्रकारिता गरेको, जानेको र बुझेको उम्मेदवार चयन गर्नुपर्नेमा आफूहरूजस्तै गैरपत्रकार (मौखिक पत्रकार) उनीहरूले छान्दा अहिले प्रेस सेन्टरमा दुई धार छ । लगभग प्रेस सेन्टर फुटको अवस्थामा पुगेको छ । यहाँ चरम असन्तुष्टि छ, जसरी माउ पार्टी माओवादी केन्द्रमा भाँडभैलो छ ।

‘‘कोही व्यक्ति जनयुद्ध हुँदा नाबालक थियो, जन्मिएकै थिएन भने जनयुद्धमा सामेल हुन नसक्नुमा उसको के दोष ?’’

पत्रकारको संगठनमा गैरपत्रकारलाई नेता बनाउँदा, विद्यार्थीको संगठनमा गैरविद्यार्थीलाई नेता बनाउँदा, किसानको संगठनमा गैरकिसानलाई नेता बनाउँदा नै पार्टी र नेतृत्वको बदनाम भएको हो । यसमा प्रचण्डको गम्भीर कमजोरी र लापरबाही देखिन्छ । तपाईंको चाहनामा प्रेस सेन्टरको नेता बनेर दादागिरी हु्ंकार गर्ने जुगल र निर्मलको अहिले न कुनै मिडिया छ, न त उनीहरूलाई केही वैचारिक लेख, आलेख, विचार, विश्लेषण र फिचर लेख्नै आउँछ । न उनीहरूसँग शैक्षिक योयता छ, न त अध्ययन नै !  उनीहरू अहिले फेसबुके पत्रकार मात्र बन्न पुगेका छन् । अब माओवादी पार्टीमा पनि नेतृत्व चयनका लागि लोकतान्त्रिक पद्धति अर्थात्, निर्वाचनको माग उठेको छ र जनवर्गीय संगठनको नेतृत्व पनि चुनावी प्रक्रियाबाट हुनुपर्छ न कि टिके नेतृत्व । 

तपाईंको पार्टीले गत वर्ष ‘माओवादी रुपान्तरण अभियान’ सञ्चालन गर्‍यो । यो रुपान्तरण जनताका लागि थियो कि नेताका लागि ? रुपान्तरण अभियानले निकालेको निश्कर्ष नेताहरू रुपान्तरण हुनुपर्छ, नेताहरू बिग्रिए, नेताहरू भ्रष्ट भए, नेताहरू दलाल भए, नेताहरू चुनाव जितेर शहर छिरेपछि उतै कमाउ धन्दामा लागे भन्ने होइन र ? मैंले चिनेको, जानेको र भोगेको प्रेस सेन्टरका कथित नेताको त यस्तो चालामाला छ भने अन्य भ्रातृ संगठनका नेताहरूको चालामाला र धन्दा के होला ? के यो कुरा सहजै अनुमान लगाउन सकिन्न ? माओवादी पार्टी हरेक चुनावको नतिजामा खच्किँदै जानु, ओरालो लाग्दै जानु र आज प्रत्यक्षमा १८ सिट मात्र जित्नु के यहाँभित्र मौलाउँदै गाएको ठेकेदारी, दादागिरी, अरुलाई दासझैँ सम्झिनु, आफू नसच्चिनु र अरुमाथि मात्र दोषारोपण गर्नु हैन र ?

र, अर्को कुरा, माओवादी सत्तामा छँदै केही महिनाअघि संघीय सरकार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरिएको थियो । तर, सो पदमा पुनः निवर्तमान अध्यक्षलाई पुनर्बहाली गरियो । किनभने उहाँ जनयुद्ध लडेको व्यक्ति हो रे ! मन्त्रालयका सचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता र प्रेजेन्टेसनका आधारमा भन्दै उही व्यक्तिलाई छनोट ग¥यो । झट्ट हेर्दा प्रक्रिया त पुग्यो तर तपाईंले हरेक कार्यक्रमका सम्बोधनमा दिने मन्तव्य सुशासन र पारदर्शिता त्यहाँ ह्वांगै–छ्यांगै भएर लाजमर्दो स्थिति देखियो । कुरा के भयो भने, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जनाको आवेदन परेको थियो, त्यसमा पनि प्रेस सेन्टरका अध्यक्ष जुगल, उपाध्यक्ष निर्मल ज्ञवालीहरूले नै सञ्चारमन्त्री रेखा शर्मालाई एक अमुक व्यक्तिको नाम लिएर उहाँले जनयुद्ध लड्नुभएको हो, उहाँ नै अध्यक्षमा छनोट हुनुपर्छ भन्नै दबाब सिर्जना गरे ।

अन्ततः उनीहरूको अगाडि विभागीय मन्त्रीको पनि केही लागेन, भयो त्यही । माओवादी शान्ति प्रक्रियामा आएको झण्डै २० वर्ष हुनै लाग्यो । राज्यका हरेक अंगमा नियुक्ति गर्दा उही जनयुद्धमा लागेको एउटै व्यक्तिले मात्र पटक–पटक अवसर पाउने हो भने अन्य नागरिक तथा व्यक्ति माओवादी पार्टीमा किन जोडिने ? यो माओवादीभित्र झांगिएको गलत प्रवृत्ति हो । यो तत्काल निस्तेज पार्नुपर्छ । कोही व्यक्ति जनयुद्ध हुँदा नाबालक थियो, जन्मिएकै थिएन भने ऊ जनयुद्धमा सामेल हुन नसक्नुमा उसको के दोष ? ऊ जान्ने, बुझ्ने भएपछि के योगदान गर्‍यो भन्ने योगदानबाट उसको मूल्यांकन हुन नसक्नु माओवादीको ठूलो भूल हो ।

नेपाल पत्रकार महासंघको निर्वाचन केही समयपछि हुँदै छ । महासंघको निर्वाचनमा केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म उम्मेदवारी दिन पत्रकार साथीहरू तम्तयार भएर बसेका छन् । टिकट पाउन केही पत्रकार नेताको चाकडी गर्न घरदैलो चाहार्दै छन् । विशेषतः प्रेस सेन्टरले उम्मेदवार चयन गर्दा जनयुद्धमा फलानोको भूमिका के थियो ? भन्ने मात्र कुरा नगरेर सबै पक्षको अध्ययन गर्ने, श्रमजीवीको हकबारे आवाज उठाउने, कार्यान्वयन गर्ने हो भने अधिकांश जिल्ला प्रदेश र केन्द्रमा प्रेस सेन्टरले खडा गरेका उम्मेदवारले विजय हासिल गर्ने निश्चित छ । तर, प्रेस सेन्टरकै केन्द्रीय अध्यक्ष र केन्द्रीय उपाध्यक्षले सञ्चालन गरेको झिल्कोमा श्रमको सम्मान छैन, रोजगारको सुनिश्चितता छैन, श्रमजीवी ऐन कार्यान्वयन छैन भने प्रेस सेन्टरका साथीहरूले जित्ने सम्भावना रहँदैन । कृष्णसेन इच्छुक, मिलन नेपाली, चित्रनारायण श्रेष्ठलगायतका जनयुद्धका सयौँ शहीद, बेपत्ता योद्धाको नाम बेचेर प्रेस सेन्टरका नेताहरू कति दिन रमाउलान् ? यो हामीले हेरिरहेका छौँ । महासंघको निर्वाचनमा यदि प्रेस सेन्टरले खडा गरेका उम्मेदवारलाई जनयुद्ध लडेका पत्रकारले मात्र मतदान गर्ने हो भने कति मत आउला ? पार्टी चोइटिएर ५–६ फ्याक भएको वर्तमान अवस्थामा त्यही २५–३० मत जति होलान् प्रेस सेन्टरमा जनयुद्ध लडेका पत्रकार । झिल्कोमा प्रेस सेन्टरकै केन्द्रीय अध्यक्ष र उपाध्यक्षले स–सम्मान काम गर्ने वातावरण सिर्जना नहुनुले प्रेस सेन्टर भनेको मजदुरमारा संगठन हो भन्ने सन्देश बाहिर प्रवाहित भएको छ । तसर्थ झिल्कोमा किन यस्तो भयो ? यसबारे सम्बोधन गर्न जुगल–निर्मलहरूलाई तपाईंले खुमलटार बोलाएर केरकार गर्न जरुरी छ । किनकि उनीहरू तपाईंकै जोडबलमा संगठनको आजको पदमा पुगेका हुन् । संगठनबाट ‘इलेक्टेड’ भएकोभए हामीले केरकार गथ्र्यौं, तपार्इंबाट ‘सेलेक्टेड’ भएका हुनाले यी मैमत्त भएका दुई भाइलाई तपाईंले नै ठीक पार्नुप¥यो कमरेड । नत्र संगठनको बेइज्जत नै हुने भयो । 

अध्यक्ष प्रचण्डज्यू, तपाईंको सुशासनको नारा, योजना र सपनालाई साकार पार्ने हो भने जनताका स–साना समस्यालाई हल गर्नेतर्फ लाग्नुहोस् । तपाईं जनतासँगको सहज पहुँचमा रहनुहोस् । तपाईंको सचिवालयको घेरालाई एकदम सजिलो र सहज बनाउनुहोस् । हिजो पूर्वराजा ज्ञानेन्द्र साहको शासन सत्ताको आखिरी समयमा उनलाई गलत सुझाव, सल्लाह दिने एउटा झुण्डले घेरेर राखेको थियो । ज्ञानेन्द्र शाह तिनैका कुरा सुनेर एकपछि अर्को गलत निर्णय र ‘कु’ गर्न हौसिएका थिए । तपाईं पनि त्यस्ता गलत झुण्डलाई बेलैमा चिन्नुहोस् र आफू बच्नुहोस् । सचिवालय चुस्त बनाउनुहोस् । सचिवालयमा रहेका लोभिपापीहरूलाई बेलैमा चिनेर गलहत्याउनुहोस् । त्यस्ता गलत तत्व प्रेस सेन्टरमा छन् र हरेक भ्रातृसंस्थामा छन् । तिनीहरूको पहिचान गर्न ढिला नगर्नुहोस् ।
 

टिप्पणीहरू