दरले नारीबीच बढाउँदै दूरी

दरले नारीबीच बढाउँदै दूरी
सुन्नुहोस्

धिपि र धिपि आगै र बोलो बरिलै त्यही पारि गोठैमा 
रातै र भरि धानै र कुटे बरिलै लाउँदैन ओठमैं

त्यो बटुकी को के हो नि आमा बरिलै फिटेको बेसार

हरितालिकामा हिन्दू नारीहरुले आफ्ना पतिको दीर्घायुको कामना गर्दै ब्रत बस्ने र पूजाआजा गरेर तीज पर्व मनाउने गर्छन् । यस पर्वमा विवाहित छोरी चेलीलाई माइतबाट लिन जाने, तीजको अघिल्लो दिन सबै बसेर मीठा परिकारहरू ‘दर’ खाने र भोलिपल्ट निराहार ब्रत बस्ने परम्परा छ । 

नेपाली नारीले भोग्नुपरेको अभाव, पीडा, व्यथा, अन्याय आदिका आवाजहरू तीजमा गुञ्जने गर्दछन् । आफ्नो घरका पीडा र व्यथा माइती गाउँका साथी जम्मा भई थपडी बजाउँदै गाउने र कम्मर मर्काउँदै नाच्ने यस पर्वमा नारीलाई ठूलो स्वतन्त्रता प्रदान गरेको महशुस हुन्छ । तर तीजका नाममा केही हुनेखाने सम्भ्रान्त परिवारबाट भित्रिएको भड्किलो संस्कारले उल्टै लाखौँ चेलीबेटीलाई दुःख दिन थालेको छ ।

कुनै एउटा कार्यक्रममा नाच्न र दर खानका लागि मात्र झण्डै तीन लाख रूपैयाँ खर्च लाग्ने अनुमान थियो । तीजका नाममा केही वर्षयता नाचगान र भोजका लागि होटल र पार्टी प्यालेस प्रयोग गर्ने क्रम बढ्दो छ । आधुनिकताका नाममा छाडा शैलीमा तीज मनाउने र यौन उत्तेजनात्मक गीत गाएर संस्कृति परिवर्तन सम्भव छैन । बरु यस्तो चलनले समाजलाई अधोगतितर्फ उन्मुख गर्दै अस्वस्थ प्रतिस्पर्धा, आडम्बरी र भड्किलो जीवनशैलीलाई प्रोत्साहन गर्दछ । 

एक–दुई महिना अगाडिदेखि पर्वको महत्वलाई ओझेलमा पारेर केही सीमित र सम्भ्रान्त वर्गबाट भित्राइएका यस्ता चलनले समाजमा वर्ग विभेद बढाउने निश्चित छ । यस्ता गतिविधिले पति गुमाएका महिलाहरूमा त झन् ठूलो पीडा थपेकोे छ । एउटै समाजभित्र एकथरि महिला सशक्तीकरण र लैङ्गिक समानताका नारा बोक्दै परिवर्तन खोजेर हिँडेका छन् । अर्काथरि पितृसत्तात्मक सोचलाई निरन्तता दिँदै असल पतिको प्राप्ती वा उसको दीर्घायुका लागि कठोर ब्रत गर्नुले नारी पर्व तीज विरोधाभासपूर्ण बनेको छ ।

यसरी नारीको महान् पर्व तीज विस्तारै विकृतिको जालोमा फसिरहेको अनुमान लगाउन सकिन्छ । अरुको देखासिकीमा न्यनून आर्थिक अवस्थाका महिलाहरू पनि महँगो शुल्क तिरेर भएपनि तीज मनाउन बाध्य देखिन्छन् । वास्तवमा तीज पर्वलाई देवी पार्वतीको महादेवसँग मिलन भएको दिनका रूपमा लिइन्छ । 

धार्मिक ग्रन्थहरूका अनुसार, पार्वतीले १०७ औँ जन्मसम्म पनि महादेवलाई आफ्नो पतिका रूपमा पाउन नसक्दा कठोर तपस्याको फलस्वरूप १०८औँ जन्ममा उनलाई पतिका रूपमा प्राप्त गरिन् । पार्वतीले महादेव पति पाउन भनी दरका रूपमा रातमा एक अञ्जुली पानी मात्र पिएर भोलिपल्ट निराहार ब्रत गरेको किंवदन्ती छ  यसर्थ, तीजको दिनलाई आफ्नो इच्छा पूरा हुने मान्यताका साथ वैवाहिक सुख वा आदर्श पतिका लागि तीन दिनसम्म महिलाहरूले शुभ दिनको रूपमा लिन्छन् । 

त्यसैले यो पर्व पतिको दीर्घायु र सुस्वास्थ्यको रूपमा ब्रत बसी महादेवको पूजा–आराधना गर्दै मनाइन्छ । हरेक चेलीबेटीले तीजको अघिल्लो रात मीठो–मीठो खाना दरका रूपमा खाने प्रचलन छ । ब्रतका दिन सम्पूर्ण हिन्दू नारीले आफ्नो पतिको दीर्घायुको कामना गर्दै राता चुरा, टीका, पोते र सारी लगाई नाचगान गर्छन् । गीतकै माध्यमबाट आफ्नो वैवाहिक जीवनभित्रका सुखदुःख अभिव्यक्त गर्ने गर्छन् ।

तीज सबै नारी जातिको सम्मान हुने चाड हो । चाहे त्यो धनी परिवारकी होस् या गरिब सबैले आफ्नो पतिको दीर्घायुको कामना गरी शुभलाभ प्राप्त गर्नु हो । चेलीबेटीहरू यो अवसरमा माइती घर जाने र सुखदुःखहरू आफ्ना बुवाआमा, दाजुभाइ, दिदीबहिनीसँग पोख्ने हाम्रो समाजको चलन छ । तर सहरी समाजले भने आधुनिकताको नामा नारीमाथि घोर अन्याय गरिरहेको छ । देशका उच्च ओहोदामा रहेकाहरुले यस्तो विभेदमा सहयोग गरेकाले समतामूलक समाज र कानुनको समेत बर्खिलाप हुन पुगेको छ । 

एक महिना अघिदेखि नेपाली समुदायमा तीज मनाउने चलन नै बनेको छ । महिनौं दिनसम्म डीजेको तालमा, नाना थरिका गीतहरूमा नाचेर, खाएर फलदायी समय खेर फल्ने गरिएको छ । यसमा एउटा होडबाजी नै देखिन्छ । तीज सहर र विदेशमा बस्ने उच्च आर्थिक स्रोत भएकालाई रमाइलो तर दुर्गम र आर्थिक रूपमा विपन्न नेपाली महिलालाई अभिशाप बनेको छ । 

के चाडपर्व, जात्रा, उत्सव भनेको हुने खानेलाई मात्र हो ? हुँदा खानेले कसरी मनाउने ? एक महिनासम्म तीजको रमझमले समाजमा कस्तो असर पार्छ ? यस विषयमा कुनै संघ संस्था वा नारी उत्थानमा लागेका महिलाहरु स्वयंले सोचेका छन् ? आगामी दिनमा तीजलाई समय र परिस्थिति अनुसार सुहाउँदो  तारिकले मनाउनुुपर्छ । यसो गर्दा सामाजिक मूल्य मान्यता र गरिमालाई बचाइराख्न सकियोस् ।

अर्काको देखासिकी र प्रतिस्पर्धाको भावनाले होइन, सामूहिक हित र सहभागितामा चाडपर्व मनाउनुपर्छ । पछिल्लो समय तीज नारी मुक्ति, नारी स्वतन्त्रता र नारी अधिकारका लागि नभएर स्वयम् नारीभित्रै कुण्ठा र हीनताबोध बढाउन अग्रसर भएको विश्लेषण गर्न थालिएको छ । 
अझ नेपाली पर्व र तीज संस्कृतिका बारेमा हामीले हाम्रा विदेशमा हुर्किंदै गरेका सन्तानलाई सिकाउनुपर्ने अवस्था आएको छ । त्यसैले चाड एउटा फेसन शो वा सुन्दरी प्रतियोगिता नभएर पवित्र र गरिमामय चाडको सन्देश दिन सक्नुपर्छ । तीजलाई नारीले वर्षमा एक दिन मनाउने हौसलापूर्ण र सङ्गीतमय चाडको रुपमा लिनुपर्छ ।

२१ औं शताब्दीमा विश्वले नारी र पुरुषलाई समानताको अधिकार दिएको छ । यो अवस्थामा नेपालमा भने रूढीवादी र पुरातनवादी सोचका कारण ५१.५ प्रतिशत संख्या ओगटेका नारीहरू विवश तवरले बाँचिरहेको पाइनछ । केही नारीले समानताको अधिकार पाउँदैमा सबैले रमाइहाल्ने स्थिति पनि छैन । यस पटकको (हरितालिका) तीजमा सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।

टिप्पणीहरू