केपी कमरेड, सधैं हनिमुन मनाउन पाइन्छ ?

केपी कमरेड, सधैं हनिमुन मनाउन पाइन्छ ?
सुन्नुहोस्

केपी ओलीको यो सत्तारोहण अन्तिम हुनुपर्छ । यो तेस्रो प्रधानमन्त्रित्वकाल हो । प्राविधिक रूपमा चौथो पनि भनिन्छ । चालु कार्यकालमा उनले भिजन, मिसन, गोल प्रस्ट्याएर त्यसलाई कार्यान्वयन गर्न लागिहाल्नु पर्छ । उनले भनेझैं बाँकी रहेको एक वर्ष दश महिनाको कार्यकालभित्र सम्पन्न गर्नैपर्ने काम गर्नैपर्छ । पूरा गर्न नभ्याइएको काम उत्तराधिकारीलाई हस्तान्तरण गर्नुपर्छ । 

त्यसो त सरकार गठन प्रकृयामै ओलीले सत्ता समीकरणको लागि उत्तराधिकारी परिचालन गरिसकेका हुन् । अब ६ दशक बढीको सक्रिय राजनीतिलाई बीट मार्नुपर्छ । राजनीतिबाट विश्राम लिनुपर्छ । नेपाली राजनीतिज्ञहरू आर्यघाट नपुग्दासम्म सत्तास्वार्थमा लिप्त रहन्छन् भन्ने भाष्यलाई विस्थापित गर्नुपर्छ । तब मात्र केपी ओलीको छवि राजनेताका रूपमा रहिरहनेछ । देश, जनता र पार्टीको भरपर्दो अविभावकको रूपमा उनले आफूलाई पुनर्पुष्टि गर्ने यो दुर्लभ अवसर हो । 

तीनपल्ट प्रधानमन्त्री र दुई कार्यकाल पार्टीको सर्वोच्च पदमा बस्नु भनेको यथेष्ट समय हो । सबैभन्दा ठूलो दलको प्रमुख हुँदा उनले जेजस्तो सपना बाँडे त्यो नै उनको क्षमता, योग्यता र हैसियत प्रमाणित गर्ने कडी हो । 

आफूलाई जनता र कार्यकर्ताले जति समय दिन्छन् त्यो नै कुनै पनि नेताको लागि पर्याप्त समय हो । यही समयको प्रचूर सदुपयोग नै नेताको ल्याकत प्रदर्शन गर्ने क्षेत्राधिकार हो र यसले नै उसको योगदानलाई इतिहासको कालखण्डमा यथोचित स्थान दिनेछ । यही भएर नै हुनुपर्छ गएको शनिवार आफ्नो कार्यकाल एक वर्ष दश महिना पन्ध्र दिन मात्र छ भन्दा उनको अनुहार झलल चम्किरहेको थियो ।

पाएको समयभित्रै हो नेताले जनताको सेवा गर्ने । समय घर्किएपछि यसो गर्न चाहन्थेँ, उसो भन्न चाहन्थेँ भन्नुको कुनै तुक रहँदैन । जिम्मेवारी पाएको बेला नेताले अल्मलिएर, बहकिएर समय सक्यो भने न देश उँभो लाग्न सक्छ न त नागरिकको जीवन र जीविकामा परिवर्तन नै आउन सक्छ । जनताको जीवनमा बोलेअनुसारको सुधार ल्याउन नसक्ने नेता जतिपल्ट सरकार प्रमुख बने पनि, पार्टी सभापति बने पनि त्यसको फुट्टी अर्थ रहँदैन । 

मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइराला छोटो समय प्रधानमन्त्री रहे तर नेपाली जनमानसमा सम्झनाको तरेली बनेर बसिरहेका छन् । एमालेकै महासचिव मदन भण्डारी सत्तामा कहिल्यै पुगेनन् तर राजनेताको रूपमा जनताको हृदयमा स्मरणीय छन् । त्यसैले अहिलेको सरकारले पाउने सय दिन हनिमुनको छुट पनि यसपालि प्रधानमन्त्री केपी ओलीलाई छैन । किनभने, हनिमुन तीनचोटि हुँदैन, एकै पटक हुन्छ । पहिलोपल्ट विवाह गरेकोलाई हनिमुन पिरियड भनिन्छ, तीनचोटि बिहे गरेकोलाई केको हनिमुन ?

केपी ओली प्रधानमन्त्री भएको सय दिनसम्म पनि अब कोही चुप लागेर मौन बस्नै हुँदैन किनभने उनी पहिलोपल्ट देशको प्रधानमन्त्री बनेका होइनन् । घरमा नयाँ बुहारी आएपछि उनलाई चुलोचौको, ढुकुटी, खेतबारी, छिमेकी, इष्टमित्र, देवपितृ, वस्तुभाउ, देवर जेठाजु, भाञ्जाभाञ्जी, सासूससुरा, कुकुर बिराला के, को, कहाँ, कहिले भन्ने थाहा नहुने भएकाले त्यसको जानकारीका लागि हनिमुन पिरियडको सुविधा दिने गरिएको हो । तर बारम्बार सत्ताको बागडोर सम्हाल्न पुगेकालाई केको हनिमुन पिरियड ! ? श्रीमान् श्रीमती एकअर्काको आनीबानी, व्यवहार, स्वभावप्रति परिचित हुन सय दिनलाई हनिमुन पिरियड भनिएको हो र सत्तारोहण गरेपछि सय दिन सरकारका लागि पनि हनिमुनझैँ मानिएको हो । 

यो समय ट्याउँट्याउँ बोलेर सक्ने होइन है । बोल्नुपर्ने बोलिसक्यौ, अब गरेर देखाऊ ! आलोचना बारम्बार सुन । जवाफ दिनतिर नलाग ।

अन्तिम पटक सत्तामा पुगेको आत्मबोध भएको व्यक्तिले तपसिललाई हेरेर होइन, आफूले यसअघि शुरु गरेका नीति, योजना, कार्यक्रमलाई उच्च गतिमा अगाडि बढाएर समयसीमाभित्रै सम्पन्न गर्ने हो । आफ्नै कार्यक्रममा गर्नुपर्ने सुधार पनि यतिखेरै गर्ने हो ।

त्यसैले यो सुवर्ण समय ट्याउँट्याउँ बोलेर सक्ने होइन है, प्रधानमन्त्री । तिमीले बोल्नुपर्ने बोलिसक्यौ, अब भनेका कुरा गरेर देखाऊ ! बाँकी रहेको प्रत्येक मिनेटको महत्व छ, यदि तिमीमा साँच्चिकै केही गरेर देखाउने हुटहुटी छ भने । तिमीले आफ्नो समयको अधिकतम प्रयोग गरेर सफलता प्राप्त गर्नु छ भने पार्टी, संगठन, सरकारी–गैरसरकारी निकाय, नागरिक समाज, युवा–विद्यार्थी, मजदुर–किसानका आलोचना बारम्बार सुन । जवाफ दिनतिर नलाग । आफैंले कबुल गरेका कामहरू कार्यान्वयन गर । केपी ओलीले यतिकाम गर्न सकेन भन्ने अवसर कसैले नपाओस् ! भीडमा एकोहोरो प्रलाप गर्नुको कुनै अर्थ छैन किनभने भीडले यथार्थ सोच्दैन । बरु समय निकालेर आलोचकका कुरा सुन, मनन गर र सकुञ्जेल कार्यान्वयन गरिहाल । आलोचकलाई हरेक दिन सुन अनि कार्यकारी प्रधानमन्त्रीको रूपमा आफ्नो विवेकको प्रयोग गरेर कार्यान्वयन गर । विरोधीको आलोचना, असन्तुष्टहरूलाई जवाफ दिन एक मिनेट पनि समय खेर नफाल । चाकरवाजबाट घेरिने, तिनकै कुरा सुन्ने र उनकै फाइदाको लागि समय व्यतित ग¥यौ भने तिमीले पाएको यो सुवर्ण अवसर खेर जानेछ । 

ब्रेकफाष्ट, लञ्च र डिनर, सिर्जनात्मक, उद्यमशील र आलोचनात्मक चेत भएकाहरूसँगको संवादमा बिताऊ । चाकरवाज, दास र स्वार्थी झुण्डहरूसँग होइन । कम समय सुतेर धेरै समय क्रियाशील हुने प्रधानमन्त्रीको रूपमा चिनिएका ओली उत्पादनशील र स्वप्नदर्शी कार्यमा मात्र ब्यस्त छन् भन्ने सन्देश देऊ नकि पट्यारलाग्दा अर्ति, उपदेश र व्याख्यामा समय खेर नफाल । तामझाम, स्वागत सत्कार, भोजभतेर लम्बेतान भाषणमा बरालिने समय होइन यो । त्यसो त सामाजिक सञ्जालमा सेलिब्रिटीझैं छाउन पनि जरुरी छैन । 

गर्छु भनेका कामलाई प्राथमिकता दिएर समय अगावै सम्पन्न गर्नुको विकल्प छैन । जनताको हित पनि यसैमा छ । अब तिमीले आफूलाई कसैसामु चिनाइरहनु पर्दैन । कसले नचिनेको छ र केपी शर्मा ओलीलाई ! त्यसैले ढिला नगरी आफ्ना १ सय १ योजना, कार्यक्रम, मापदण्ड के–के छन् सार्वजनिक गरिहाल ! अनि तिनको द्रुत कार्यान्वयनमा लाग । यी काम पुरा नगरी सुस्ताउने फुर्सद छैन । बुझिराख एकछिन पनि अल्मलियौ भने टार्गेट पूरा हुनेछैन । लक्ष्य पूरा भएन भने अरुजस्तै अधुरै सकिने छौ । सिंहदरबारमा झुण्डिने तस्बिर मात्रै हुनेछौ । 

अहिलेको समयमा पञ्चायतकालदेखिको विद्रोही, जनपक्षीय, गणतन्त्रको प्रमुख सूत्रधारमध्येको शक्तिशाली प्रधानमन्त्री कमल थापाको किताब विमोचन गर्न जानु भनेको समयको बर्बादी मात्रै हो । यस्ता विमोचन, शिलान्यास र उद्घाटनमा मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्रीको मूल्यवान समय खेर नफाल । 

अहिले प्रधानमन्त्री केपी ओलीले गर्न सक्ने काम र गर्नुपर्ने सुधार के–के हुन् ? आलोचनात्मक चेतको आलोकबाट आफूलाई हेर्नु पर्छ, आलोचकका कुरा सुन्नुपर्छ । आफ्ना धेरै वटा पुराना आनीवानी र ब्यवहार सुधार्नुपर्छ किनभने आलोचक भनेका लोकतन्त्रमा दुश्मन होइनन् ती त वैकल्पिक विचार बोक्ने वाहक हुन् । 

आलोचकका कुरा सुनेर त्यस अनुकूल परिवर्तन गर्न ढिलाइ भयो भने जनता जाग्छन् । तिमी मात्र होइन, तिम्रो पार्टीलाई पनि नारायणहरि बनाइदिन सक्छन् । राजनीतिप्रतिको आक्रोश, घृणा द्वेष र असन्तुष्टि टपरटुइयाँ, लुटेरा, लुच्चा, ठग, बिचौलिया, दलाल, माफिया, डन, अपराधीहरूले उछिट्याउन सक्छन् । सरकार प्रतिक्रिया जनाउने अंग होइन, सार्वजनिक सेवाप्रदायक हो । यो त आशा जगाउने भरोशायोग्य विश्वासिलो अभिभावक हो । प्रभावकारिता झन् बढाएर जनतालाई सेवा–सुविधा उपलब्ध गराउने निकाय हो । सरकार भनेको जनताले, जनताको सेवाका लागि चुनेर पठाएको सेवकहरूको समूह हो । 

समयको मूल्यलाई आदर गर्न ओलीले निमेशभर पनि कञ्जुस्याईं गर्नु हुँदैन । चाकरी, चुक्ली र चाप्लुसहरूको घेराबाट आफूलाई मुक्त राख्नुपर्छ । हरेक दिन आफूले आफैँलाई तरोताजा पारिरहनुपर्छ । आफूमाथि आफैंले पाइन लगाइरह्यो भने मात्र कार्यकालभर धारिलो रहिरहन सकिन्छ, नत्र भुत्ते हुन्छ । 

ओलीपछि एमालेको नेता को हो ? उत्तराधिकारीलाई जिम्मेवारी सुम्पिँदै जानुपर्छ । यो अभ्यास ढिलो भैसकेको छ । आफ्नो सक्सेसर लिएर केपी ओली मिसन २०८४को चुनावमा हेलिनुपर्छ र, यो अभ्यास अहिलेदेखि नै थालिहाल्नुपर्छ । अन्तिम कार्यकालका योद्धा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफलता मिलोस्, शुभकामना !

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू