तथ्य र विगत नभुलौं प्रधानमन्त्रीज्यू
तिम्रो पैतालामुनि कुनै जमिन नै छैन,
आश्चर्य त यो छ कि, तिमीलाई यो यकिन भने छैन ।
– दुश्यन्तकुमार
सम्बन्ध र स्वभावको निक्र्यौल समय र परिस्थितिले गर्छ । आवश्यकतासँगै सम्बन्ध बन्छन् र भत्कन्छन् । स्वार्थलाई आश, लोभ र डरले मलजल गर्छ । सफा, चिरिच्याट्ट कपडामा सजिएर अत्तर घसेका मान्छे पनि हृदयका मैला र चरित्रमा दुर्गन्धित हुन सक्छन् । भ्रमित सत्यले जीवनदृष्टि नै आग्रहतिर लतारिदिन्छ । छेपारोले खतरा देखेपछि रंग फेर्छ, मान्छेले मौका देखेपछि । हात मिलाउँदैमा हृदय मिल्छ नै भन्ने हुँदैन । नेपाली राजनीतिमा कंग्र्रेस, कम्युनिष्ट, एमाले र माओवादीबीचका सम्बन्ध त्यस्तै हुन् ।
इतिहास अध्ययनका लागि इतिहासबोध हुनुपर्छ । अरुको कमजोरी उधिन्नेसँग नम्रतापूर्वक आफ्नो गल्ती स्वीकार्ने एक थान मुटु पनि हुनु जरुरी छ ।
माओवादीसँग संयुक्त सरकार बनाएका, पार्टी एकीकरणसमेत गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, ‘हिजो प्रचण्डजीले बंगलादेशबाट सिक भन्नुभएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउनलाई ? मैले लुटपाट गरेको छु र ?’ ओलीका अभिव्यक्तिबाट कतिबेला धक्का दिने, कतिबेला चिप्लो घस्ने, कतिबेला नेतृत्व गर्ने, कतिबेला पछि लाग्ने भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
प्रमलाई घृणा जगाउँदै आग्रहपूर्ण विमर्श तयार गरेर अस्तित्व सुरक्षाकवच तयार गर्नु छ । त्यस्तै सफ्टवेयर तयार गर्न भावनामा खेल्नुपर्छ भन्ने मान्यतामा उनी माहिर छन् । एमाले अध्यक्ष ओलीको यो चौथो प्रधानमन्त्री कार्यकाल हो । चौथोमा पुग्दा नयाँ योजना, कल्पना हुँदैनन् । जनमतलाई केमा केन्द्रित गराएर आशा र विश्वास जगाउने भन्ने मात्रै ध्याउन्न हुन्छ । उनलाई कंग्रेस रिझाउने बाध्यता भएर कहिले महिला प्रधानमन्त्री, कहिले आफ्नो कार्यकालको तिथिमिति गन्न थाल्नु परेको छ ।
प्रम ओली अहिले भ्रम र भयमा छन् । कर्पोरेट र भ्रष्टाचारीको काँधमा सधैँ टिकिरहन सकिँदैन । सम्झौता पनि तत्कालीन परिस्थितिलाई घर्काएर अनुकूल पार्ने उपाय मात्र हो । जेम्स रसेल लोबेल भन्छन्, ‘सम्झौता छाता त बन्न सक्छ तर छत भने बन्न सक्दैन ।’
राजनीतिमा हिजो नभई भोलिलाई हेरेर नयाँ निर्णय लिइन्छ । यसबीच भ्रममा उल्झाउन सक्नु राजनीतिको पौरख हो भन्ने भाष्य तयार भएको छ । मित्र र शत्रुहरू स्थायी हुँदैनन् भन्ने सिद्धान्त बनेको छ ।’ सामन्ती संस्कृतिमा मात्रै एकपटक बनाइएका धारणा जीवनभर एकै प्रकारको हुन्छ । नांगो सत्यको सामना गर्नु नपर्दा भ्रममा बाँच्नु अत्यन्तै सुखद क्षण हुने गर्छन् तर हेक्का राख्नु पर्ने विषय भनेको– काँग्रेस र एमालेले धेरै पटक सहकार्य गरेर माओवादीका भूमिकाको दोष र गुणलाई अनुमोदन गरिसकेका छन् ।
पार्टीहरूले आफूलाई जतिसुकै लोकतान्त्रिक, समाजवादी, प्रजातन्त्रवादी, गणतन्त्रवादी, जनवादी विभिन्न पदावली प्रयोग गरे पनि मूलनीति भनेको एक्लो मान्छेको सर्वाेच्च नेतृत्व निरन्तर रहनु, उसैको बोली नै नीति, विधि, कार्यक्रममा फेरिनु हो । नीति र विधि निर्देशित आचरण र संगठन चल्नु नपरेपछि नयाँ शक्ति वा पुराना शक्ति एकै खाले देखिने नै भए ।
नेतृत्वसँग सधैँ गुड बुक र ब्याड बुक हुन्छ । त्यसै आधारमा अवसर र भूमिका दिइन्छ । त्यसमा ओली नेतृत्वको एमालेले सबैलाई उछिनेको छ । यी प्रधानमन्त्रीले ३ कार्यकालमा बोलेका र गरेका काम र क्रियाकलाप, झापा विद्रोहकालदेखिकै राजनीतिक जीवन, बनेका मित्र र बिमित्रका आधार र परिणाम त इतिहास हुन् । इतिहास सँगै हुन्छ, मेटिँदैन ।गौरापर्वको बेला टुँडिखेलमा जे दृश्य देखा परे, सरकारी व्यवहारले धेरै संकेत र सन्देश दिएको छ । आँखा छोप्नेबित्तिकै कुरूपता लुक्दैन । सङ्केतले चेत्ने र सावधान हुनेलाई मान्छे भन्छन्, परिणामले मात्रै चेत्ने त पशु हुन्छ ।
नयाँ विमर्शको तयारी
सार्वजनिक व्यक्तित्वको यो विघटनकाल पनि हो । मूर्खभन्दा चतुर बुद्धिजीवी घातक हुन्छन् । उनीहरू कुण्ठा र आग्रहले लतारिने हुँदा पक्षधरता मात्रै हैन चाकरी पनि जनाउँछन् । मान्छे सङ्कटमा, दुःख, कष्ट र डरका कारण भ्रष्ट अनि बौद्धिक दास बनिदिन्छ । इतिहासका व्यवस्थापकहरू अंशमा टेकेर समग्रमा आक्रमण गर्छन् ।
हामी एक असाधारण कालमा बाँचिरहेका छौँ । हिजो दासका शिकार हुन्थे, आज आधुनिक कमारा आफैं शिकार हुन पुग्छन् । बर्खा सकिएपछि मान्छेलाई छाता गह्रुँगो लागेजस्तै इतिहासको प्रसव वेदनाबाट प्राप्त उपहारलाई पनि विभत्स चित्रण गर्न थाल्छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू