प्रभुराम, रुकुमबाट समातिएकी चेली कहाँ छिन् ?

प्रभुराम, रुकुमबाट समातिएकी चेली कहाँ छिन् ?
सुन्नुहोस्

सैनिक नेतृत्वले आफ्ना विरोधीलाई तह लगाउन जंगी अदालत गठनमा जालझेल गर्दा धेरैजसो अधिकृतहरूसमेत अन्यायमा पर्ने गरेको गुनासो सुनिन्छ । जसमध्येका हुन्– महेन्द्रजंग शाह । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न सूचना आदान–प्रदान गरेको आरोपमा सैनिक अदालतले उनीसहित प्रमुख सेनानी कुलदीप तिमल्सिनालाई कारबाही गरेको छ । यही मेसोमा दुईतारे जर्नेल उपरथी प्रेम शाही पनि बर्खास्तीमा परेका थिए । उपरथी प्रेमप्रकाश थापा मगर र सहायक रथी हेम खत्री यसैगरी समरी जनरल सैनिक अदालतको फैसलाका कारण २०७० सालमै सेवाबाट हटाइएका थिए । सुर्खेतमा जन्मिए, हुर्किएका महेन्द्र २०५८ सालदेखि सेनामा छिरे । जीवनका २२ वर्ष अर्थात् ०८० सालसम्म प्राड विवाक (कानुन) अन्तर्गत रहेर महासेनानी दर्जामै प्रधानसेनापति प्रभुराम शर्माको रिसले जागिर गुमाएका उनी पेन्सन सुविधाबाट समेत वञ्चित छन् ।  अहिले पूर्णतः कानुनी सेवामा होमिएका उनले एलएलएम, राजनीतिशास्त्रमा एमए, जनप्रशासनमा एमए सकाएका छन् । आफू प्राडमा रहँदा नेपाली सेनाले लडेका कुनै मुद्दा नहारेको जिकिर गर्छन्, झण्डै ४० वटा मुद्दा नजिरका रूपमा स्थापित भएका र आफू बाहिरिएपछि त्यस्ता हरेक मुद्दा हारिरहेको सुनाउँछन् ।

‑ हरि गजुरेल 

० अरु सेवाका कर्मचारीले संगठनभित्र न्याय नपाउँदा भन्न जाने, कुरा गर्न मिल्ने ठाउँ बाहिर हुन्छन् । तर, सेनामा यस्तो परिपाटी छैन है ? 

– हामीकहाँ एउटा भ्रान्ति छर्ने काम भएको छ, सेनाले हेरिहाल्छ भन्ने । त्यही भ्रान्तिले त्यस्तो मानसिकता विकास भएको हो । 

० नेपाली सेनामा झण्डै २२ वर्ष जागिर खानुभयो । अहिले तपाईंकै पेन्सन रोक्का भएको सुनिन्छ । कारण के हो ? 

– प्रभुराम शर्मा र उनका केही मान्छेले मेरो इमान्दारी, बफादारीमाथि प्रतिशोध साँध्ने क्रियाकलाप गरे । हाम्रो विभागको प्रमुख रहेका रत्नप्रकाश थापाको तीन वटा नागरिकता छ । ०३९ सालमा एसएलसी पास गरेको मान्छेले ०७२ सालमा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएर तीन वटा नागरिकता बनाएको पुष्टि भएको छ । कुनै पनि मुद्दा घुस नखाई फैसला गरेको रेकर्ड छैन । प्रभुरामकै नागरिकता सक्कली छैन । उनले कुनै पनि सार्वजनिक मञ्च वा कार्यक्रममा एउटै कुरा सत्य बोलेनन् । उनी जुन रोगबाट पीडित छन्, यस्तो मान्छे कुनै पनि देशमा सिपाही हुनसमेत अयोग्य हुन्छ । सैनिक कल्याणकारी कोषमा ८२ अर्ब बचेको छ भनिएकोमा अन्तिममा ७५ अर्बमात्र बुझाइएको छ । बाँकी ८ अर्ब कहाँ गयो ? प्रभुरामको हिम्मत, योग्यता र दक्षता छ भने म यसबारे संसारको जुन कुनै कुनामा गएर छलफल गर्न तयार छु । सेनामा बसेर प्रभुरामले जति अपराध गरेको छ, त्योभन्दा हजारौं गुणा योगदान मैले दिएको छु । प्रभुरामबाहेकका जीवित सेनापतिहरूलाई गएर सोध्नुहोस् मेरो काम र प्रभुराम शर्माको अपराधबारे । अवकाश लागेर भर्खरै घर गए पनि जीवन बाँकी नै छ । 

० नेतृत्व फेरिनेबित्तिकै पुरानो प्रधानसेनापतिसँग नजिक रहेकाहरू किन कोतपर्वमा पर्छन् ? तपाईं पनि त्यसकै शिकार हुनुभएको हो ? 

– प्रभुरामले योग्य र क्षमतावानलाई देख्नै सकेनन् । हिम्मत छ भने प्रेम शाही र प्रभुको नागरिकता टेस्ट गरौं न । अनन्त कार्कीको के कारणले म्याद थप भएन ? आफ्नो भतिजोलाई पिपा गोश्वारामा कर्णेल बनाएर शान्ति सेनामा पठाएको छ । रुकुमबाट चिन्तामणि शर्मासँगै पक्राउ परेकी चेली कहाँ छिन् ? त्यो खोज्नु मेरो अपराध हो ? त्यतिबेला प्रभुराम पृतनापति र अनन्त कार्की उनीभन्दा एक तह मुनि थिए । नेपालगञ्जका चौधरीहरूविरुद्ध प्रभुरामले जुन क्रियाकलाप गरे नि सशस्त्र द्वन्द्वताका त्यो अपराधको सजायँ हुनुपर्दैन ? त्यहाँका महिलाको शोषण र हत्यामा प्रभुरामको भूमिका के छ भनेर पीडितलाई सोधौं न ! नेपालगञ्जका एक व्यापारीबाट ४५ लाख लिने काम भएको छ । त्यो पैसा दिनका लागि ती व्यापारीले आफ्नो जग्गा जमिन बेच्न परेको छ । कोभिडताका निर्मित होल्डिङ सेन्टरमा खर्च भएको २ अर्ब २२ करोडबारे महालेखाले प्रतिवेदनमै कैफियत औंल्याएको छ । प्रभुरामको सम्धी अष्ट्रेलियामा बसोबास गरिरहेका छन् । मैले सुनेको छु, प्रभुरामले मनि लाउण्डरिङ गरे भनेर सम्पत्ति शुद्धीकरणमा निवेदन परेको छ । राजदूतावासमा उजुरी छ । नेपाल कानुनले अपराध भनेको सबैजसो अपराधजन्य कार्य प्रभुरामबाट भएको छ । नेपालको इतिहासमा प्रधानसेनापतिको पहिलो विदेश भ्रमण आफ्नो उपचारका लागि भएको छैन तर प्रभुरामले यसमा रेकर्ड तोड्ने काम गरेका छन् । आफ्नो स्वास्थ्य, नागरिकता र हरेक विषयमा झुट नै झुट बोलेका छन् । उनका यी सबै धन्दाको तिथिमितिसहित सार्वजनिक गर्न सक्छु म । 

० नेपाली सेनालाई अदालतले दिएका आदेशहरू किन कार्यान्वयन हुन्नन् ?  प्रेम शाही, प्रेमप्रकाश थापा मगर, महेन्द्र शाही, आनन्द कार्कीसम्म उदाहरण नै छन् । किन यस्तो हुने गर्छ ?

– सशस्त्र द्वन्द्वकालका १४६० वटा फाइल कण्ठस्थ छ । नेपाली सेनाभित्र न प्रणाली, न पद्धति, संस्कार, आचरण केही छैन । शासनमा बस्नेहरूको आपराधिकतासँग हाकिमहरुको साँठगाँठ छ । कल्याणकारी कोषबाट दिएको २ करोड ७५ लाखमध्ये तत्कालीन मन्त्रीले कांग्रेस पार्टीको महासमिति बैठकलाई १ करोड चन्दा दिएको समेत सुनिन्छ । प्रभुरामको जग भनेको त्यही हो । त्यही जगमा टेकेर सेनापति भए । प्रभुरामकै कारण फाष्ट ट्र्याकको यो गति भएको हो । झुटा बिल भरपाई बनाउने, जमिनमा केही नहुने, सर्लक्कै खाने यस्ता अपराध कति छन् कति । मैले ५८ सालदेखि जागिर खाएयताका सबैजसो प्रधानसेनापतिसँग नजिक भएर काम गरें । तर, प्रभुराम जत्तिको गतिछाडा कोही थिएनन् ।

० प्राड विवाकबाट तपाईं मानव अधिकार विभागतिर सिफ्ट हुनुभयो । सेनामा मानवअधिकार उल्लंघनको अवस्था कस्तो देख्नुहुन्छ ? 

– सेनामा मानवअधिकार उल्लंघनको अवस्था जघन्य छ । सीता कैनीका श्रीमान्को हत्यामा संलग्न रहेबापत छानबिन गर्ने भनेको मान्छे अहिले बढुवाको लाइनमा छ । कानुन विभागका रत्नप्रकाशको मलद्वारबाट रगत आएको फोटो सार्वजनिक नै भयो । विश्वमै अगाडिको दाँत नभएको व्यक्ति नेपाली सेनामा अटाएका छन् । यति मात्र होइन, अहिले उक्त विवाकमा रहेका रञ्जितकारलाई जिल्ला अदालत काभ्रेले २०६३ सालमा ‘फरार अभियुक्त’ करार गरेको विषय अदालतमै बुझाएको छु । २०५७ सालमा काभ्रे, नालामा भएको डकैतीमा अदालतले रञ्जितकारलाई फरार भनेको थियो । उनीसहित ५०–६० जनाको सशस्त्र समूहले यदुराज गिरीको घरबाट ३२ लाख ४९ हजार ८०० रूपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेको आरोप लागेको थियोे । घटनामा संलग्नताको अभियोगमा पक्राउ परेका शरणप्रसाद पराजुली, तुल्सीनारायण श्रेष्ठ र कृष्णप्रसाद दाहालले भने सफाइ पाएका थिए । तर, रञ्जितकारसहितका प्रतिवादी अदालतको म्याद गुजारेकाले हाजिर हुन आएका बेला वा पक्राउ परेका बखत कारबाही प्रक्रियामा आउने गरी मुद्दा मुल्तबीमा राख्न अदालतले भनेको थियो । रञ्जितकार अदालतमा हाजिर नभई हालसम्मै फरार रहेको सर्वाेच्च इजलासमै दाबी गरेको छु । भारतमा विश्व माविबाट एलएलएम र एलएलबी पास हुन्छ ? त्यसलाई सज्जनहरूको समूह भन्ने ? 

० नेपाली सेनामा कीर्ते नागरिकता बोक्ने सेनापतिहरु कति होलान् ?

– प्रभुरामको समयपछि सद्दे मान्छे प्रधानसेनापति हुँदैन भन्ने पुष्टि भएको छ । एउटै जन्ममिति र नागरिकता भएको व्यक्ति प्रधानसेनापति हुनै सक्दैन । प्रभुरामका सम्धी देव सुवेदीको तीनवटा नागरिकता छ । अपवादबाहेकका सबै प्रधानसेनापतिको नागरिकता विवादमा छ । माथिल्लो र्‍याङकिङका कम्तीमा २० प्रतिशतको नागरिकतामा लफडा छ । 

० सेनापतिपिच्छे सैनिक प्रशासनमा देखिने फरक–फरक नीतिले सैन्य सेवाको हित गर्छ र ? 

– कुनै अधिकृत तहका सेनालाई सोध्नुहोस् न नेपाली सेना र सिपाही भनेको के हो ? अमेरिका, भारत, चीनमा कस्तो छ सैनिक संरचना ? हामीकहाँको यो पदसोपानले के संकेत गर्छ ? नेपाली सेनाको तैनाथीले सेना हो भन्ने पुष्टि गर्छ ? सेनाको लुगा लगाउँदैमा सैनिक हुने हो र ? लुगा लगाएको छ, सलाम पनि गरेकै छ, त्यही आधारमा मात्र सेना भनिदिनुपर्ने हो ? वान इक्वेल्स टु थ्री, ११ जनाको सेक्सन हुन्छ, तीन प्लाटुन, कम्पनी, बटालियन, बिग्रेड, डिभिजन हुन्छ । सेनाको तैनाथी भूगोल र आवश्यक्ताका आधारमा हुनुपर्ने हो तर हाम्रोमा सदरमुकाम केन्द्रित छ, यस्तो कहीं र कुनै पनि मुलुकमा हुँदैन । हाम्रो सेना निजामती कर्मचारीभन्दा के कुरामा फरक छ ? महाभारतको युद्धलाई सबै लडाइँमध्ये सभ्य र भव्य मानिन्छ । पूर्णचन्द्रको पालामा सोहीअनुसार संरचना बनाए । उनका उत्तराधिकारीले त्यसलाई भत्काए । प्रभुरामलाई त्यहाँ लैजानुमा पूर्णचन्द्रको विवेकहीनता देखियो ।

० सेनामा प्रधानसेनापतिको तजबिजी कत्तिको चल्छ ? 

– यदि सेनापति सभ्य, इमान्दार, कर्तव्यनिष्ट, देशभक्त छ भने उसले तजबिजी अधिकार प्रयोग गर्दैन, विधि र मापदण्डका आधारमा चल्छ तर प्रभुरामको समयमा कल्याणकारी कोषको दुरूपयोग गरेर आफ्नो आपराधिकतालाई स्थापित गर्ने काम भएको छ । 

० अमेरिका बस्ने एउटा क्याप्टेनले सेनापतिको तजबिजी कोटमार्सल, कोट अफ इन्क्वायरी, विशेष अदालत, सैनिक अदालतमा किन मनपरी भयो भनेर मुद्दा हाल्न जाँदा अदालतले लिनै मानेन । किन यस्तो ? 

– प्रज्वल बस्नेतले हाल्नुभएको थियो । त्यो खारेज भयो । अहिलेको प्रधानन्यायाधीशका साला नाता पर्नेलाई त्रिभुवन आर्मी क्लबमा जागिर खुवाइएको छ । नेक्सस आफैं खोज्नुस्, बुझ्नुहोस् । 

० सेनासँग अख्तियार, अदालत डराएपछि दण्डहिनता मौलाउँदैन त ? 

– हामी त्यसका विरुद्धमा छौं । 

० खरिद, विकास निर्माण र अन्य आर्थिक मामिलामा सेनाको सक्रियता बढिरहेको छ । सेना सुरक्षामा भन्दा व्यावसायिक गतिविधिमा बढी तल्लीन भएन र ? 

– नेपालको सेना व्यावसायिकताभन्दा आपराधिकता र व्यापारमा लाग्यो । कर्णाली राजमार्गमा कसैले नसकेपछि सेनालाई आग्रह गरिएको हो । फाष्ट्र ट्र्याक राजेन्द्र क्षेत्रीका पालामा आएको हो । सैनिक चरित्र भएको भए राजसंस्थाको यो हालत हुन्थ्यो र ?

० तपाईं प्रभुरामप्रति बढी नै आक्रामक देखिनुभयो । राजेन्द्र क्षेत्री, छत्रमान गुरुङ, रुक्मांगद कटवाललगायत पूर्णचन्द्रको पालामा कोर टिमभित्रै रहेर काम गर्नुभएको होइन र ? 

 – म कसैको मान्छे भइनँ । कर्तव्यनिष्ट भएर काम गरेँ । प्रधानसेनापतिले काम लगाए, मैले कारिन्दाको भूमिकामा रहेर काम गरें । कसैको मान्छे थिएँ भने त प्रशस्त लाभ लिन सक्थेँ होला । प्रधानसेनापतिहरूले मेरो उपयोग गरे तर म कहिल्यै कसैको भइनँ । 

० प्रेम शाही प्रकरण के हो ? यसमा ईश्वर पोखरेल कसरी जोडिन्छन् ? 

– प्रेम शाहीले मेरो नागरिकता फरक पर्‍यो भनेर निवेदन दिए । उक्त निवेदन अध्ययन गरिसकेपछि नेपाल सरकारकहाँ फरवार्ड भयो । यसरी जन्ममिति विवादमा परेको निवेदन यसअघि र पछि छानबिनका लागि मन्त्रालयमा पठाइएको थाहा छैन । प्रेम शाहीको मात्र विवाद किन मन्त्रालय गयो ? अनि जानकारीका लागि भनेर पठाइएको पत्र उपप्रधानमन्त्री ईश्वर पोखरेलले क्याबिनेटमा पेश नगरी जन्ममिति मिलेन, साविकबमोजिम गर्ने भनेर किन फिर्ता गरे ? त्यसपछाडि के–के कारण थियो ? उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शाही सर्वाेच्च अदालत गएको हो । एउटा नागरिकले अन्याय हुँदा अदालत जान नपाउनु ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू