दोषी ठहरिएका हेड सरमाथि सजायँ तोकिँदै
विद्यार्थीको प्रवेशपत्रमा ‘गोलमाल’ गर्ने प्रिन्सिपल दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले राजधानीको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका प्रिन्सिपल गोपालबहादुर महतलाई लिखतसम्बन्धी कसूरमा दोषी ठहर्याएको छ ।
काठमाडौं महानगरपालिका समेतले दायर गरेको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले गत साउन २८ गते ‘कसूर ठहर, सजायँ निर्धारणका लागि पेश गर्ने आदेश’ सुनाएको थियो । सजायँ अर्को पेशीबाट तोकिँदै छ । गत वर्ष कक्षा १२ को परीक्षा वैशाख १४ गतेबाट शुरु भयो । प्रिन्सिपल महतले विद्यार्थीको प्रवेशपत्रमा तस्बिर फेरबदल गरिदिए । पाँच जनाको प्रवेशपत्रमा ‘गोलमाल’ गरेको तथ्य पछि खुल्यो । जसमा दुई जना उनका भाइ तिलबहादुर र दिपक महत थिए । उनले अघिल्लो ब्याचका विद्यार्थीको फोटो टाँसेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।
अर्काको फोटो टाँसेर बोर्डलाई गुमराहमा पार्ने उक्त धन्दाको पर्दाफास परीक्षा शुरु हुनुभन्दा केही दिनअगाडि भएको थियो । वैशाख २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी पर्यो । मन्त्रालयले छानबिनका निम्ति पत्र बोर्डको प्रवेशपत्र शाखामा पठायो । शाखाले प्रवेशपत्रमा गडबडी पाएपछि काठमाडौं महानगरपालिकालाई पत्राचार ग¥यो । अनुसन्धानका क्रममा महानगरले प्रवेशपत्रमा तलमाथि गरेको तथ्य फेला पार्यो । यता, आफ्नो तस्बिर दुरूपयोग भएको भन्दै लोकबहादुर भण्डारीसहितले प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी हाले ।
‘एक वर्षअगाडि २०७९ ब्याचको प्रोलिफिक माविको कक्षा १२ पास भई अन्यत्र क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययनरत विद्यार्थी म निवेदक लोकबहादुर भण्डारीको फोटो दुरूपयोग गरी प्रोलिफिक प्रिन्सिपल महतले नक्कली प्रवेश पत्र बनाएकोले आवश्यक कानुनी कारबाहीको लागि अनुरोध गर्दछु,’ उजुरीपत्रमा उल्लेख छ । प्रहरीले वैशाख १६ गते उनलाई धुम्बाराहीबाट नियन्त्रणमा लियो । यता, बोर्डले सिम्बोल नम्बर २२७३३४०६ भएका विकेश न्यौपाने, २२७३३४०७ भएका दिपक महत, २२७३३४०९ भएका मुकेश चन्द, २२७३३४११ भएका प्रशान्त बिष्ट, २२७३३४१६ भएका तिलबहादुर महतको परीक्षा रद्द गरिदियो ।
प्रिन्सिपल महतका भाइ दिपकको जन्ममिति २०४७ भदौ ५ गते र तिलबहादुरको २०४६ माघ २ गते रहेको छ । बुवाको नाम रणबहादुर हो । भाइ अनुत्तीर्ण हुने भएपछि उनले नक्कली परीक्षार्थी खडा गरेको र अन्य विद्यार्थीबाट पनि रकम असुलेको स्रोतको भनाइ छ । उनीविरुद्ध उजुरी दिने विद्यालयकै शेयर सदस्यमध्ये एक हुन् । प्रकरणमा मुछिएका अन्य दुई जनामाथि अनुसन्धान जारी छ ।
कसूर ठहरियो, अझै पदमा
गत जेठ ११ गते उनीविरुद्ध लिखतसम्बन्धी कसूरमा मुद्दा दायर भयो । महानगर समेतले दायर गरेको मुद्दा ०८०–सी१–९९७७ नम्बरमा दर्ता भएको छ । उक्त मुद्दा छ पटक पेशी चढेको देखिन्छ । प्रतिवादीको तर्फबाट दुईपटक पेशी स्थगित गरिएको छ ।
न्यायाधीश दुर्गा खड्काको इजलासले जेठ १३ गते धरौटीमा रिहा गर्न आदेश दियोे । चालु अवस्थामा रहेको सो मुद्दामा अर्को पेशीबाट सजायँ तोकिने छ । कुनै पनि मुद्दामा कसूर ठहर भइसकेपछि पदमा बसेर काम गर्न नमिल्नुपर्ने हो । स्कूलका हरेक डकुमेण्टमा उनकै हस्ताक्षर चलिरहेको छ ।
सजायँ घटाउन दौडधुप
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ मा लिखतसम्बन्धी कसूरबारे उल्लेख छ । दफा २७६ मा कीर्ते गर्न–गराउन नहुने भनिएको छ । उपदफा १ मा लेखिएको छ, ‘कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि नोक्सानी वा क्षति पु¥याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा कीर्ते गरेको मानिनेछ ।’
त्यस्तै, विना अधिकार वा बेइमानीपूर्वक कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी, केरी वा परिर्वतन गर्ने, एक कामको लागि सहीछाप गरी लिफा, कागज वा छाप लिए दिएकोमा त्यस्तो काममा नलगाई अर्कै प्रयोजनको लिखत खडा गर्ने वा सोमा लगाउने कार्य गर्न नहुने भनिएको छ ।
सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । प्रिन्सिपलतर्फका वकिलहरूले सजायँ घटाउन भागदौड गरिरहेको बताइन्छ । उक्त मुद्दामा भदौ ७ गते नै सजायँ तोकिनुपर्ने थियो । तर, तोकिएन । स्रोतका अनुसार उनले बकपत्रमा पैसाका लागि प्रवेशपत्रमा गोलमाल गरेको स्वीकारेका छन् । ‘बकपत्रमा उहाँले पैसाको लागि त्यसो गरेको बताउनुभएको छ । प्रत्येक विद्यार्थीबाट २५ हजार लिएको उहाँको बयान छ । तर, त्योभन्दा बढी लिएको हुनुपर्छ’, स्रोतले भन्यो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू