नेपालको नक्कल गर्दै मूर्ति बनाउन थाल्यो भारतले

नेपालको नक्कल गर्दै मूर्ति बनाउन थाल्यो भारतले
सुन्नुहोस्

व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको सीतापुलस्थित व्यासऋषिको मन्दिर छेउमा महर्षि वेदव्यासको मूर्ति राख्ने तयारी भइरहेको छ । नेपालका प्रथम जगदगुरु मोहनशरण देवाचार्यको अगुवाइमा महाकाली नदी र तिंकर नदीको संगममा वेदव्यासको मूर्ति राख्ने तयारी भइरहँदा छिमेकी भारतले अतिक्रमित नेपाली भूमि गुञ्जीमा छुट्टै मूर्ति बनाउने तयारी थालेको छ । 

वेदव्यासले तपस्या गरेको र वेदपुराण लगायतका ग्रन्थहरू रचना रहेको स्थान भएकाले यसक्षेत्रको उच्च महत्व रहेको भन्दै देवाचार्यले १४ फिट अग्लो मूर्ति स्थापनाको संकल्प गरिसकेका छन् । गत जेठ पहिलो साता जगदगुरुले व्यासक्षेत्रको भ्रमण गरिसकेका छन् भने मूर्ति स्थापनाका लागि निर्माणसमेत थालिएको छ । 

नेपाल र भारत जोड्ने महाकाली नदीमाथिको सीतापुल (काठेपुल)को छेउमै अष्टधातुको मूर्ति राख्ने तयारी छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा व्यास गाउँपालिकाले गत आर्थिक वर्ष मूर्ति स्थापनाको जग निर्माण कार्य सम्पन्न गरेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । ‘प्रदेश सरकारले गाउँपालिकामार्फत उपलब्ध गराएको १० लाख रूपैयाँ खर्च गरेर मूर्तिको जग निर्माण कार्य पूरा भएको छ’ उहाँले भन्नुभयो । 

व्यासक्षेत्रमा बसोवास गर्दैआएका व्यासी सौका समुदायले वेदव्यासलाई आफ्नो इष्टदेव मान्दैआएका छन् । 

केही दशकअघिसम्म नेपाल र भारत दुवैतर्फ सात गाउँका सौका समुदायले सामूहिक रूपमा छाङरुको सीतापुलस्थित व्यासऋषि मन्दिरमा पूजापाठ गर्थे । जनसंख्या बढ्दै गएपछि गुञ्जी, नाभी, रोङकाङ र चपलच्यु गाउँका स्थानीय समुदायले गुञ्जीको मनिला मैदानमा छुट्टै मन्दिर स्थापना गरी वेदव्यासको पूजा गर्दैआएका छन्् । महाकालीपारि बुँदी र गब्र्याङ गाउँका सौका समुदायले पनि छुट्टै मन्दिर स्थापना गरी वेदव्यासको पूजा गर्दै आएका छन् । 

पछिल्लो समय गाउँपिच्छे छुट्टाछुट्टै मन्दिर निर्माण र पूजापाठको कार्यक्रम भइरहे पनि व्यासऋषिको मुख्य पूजास्थल सीतापुल रहेको छाङरुका स्थानीयवासी बताउँछन् । हरेक वर्ष साउन पूर्णिमा तिथिमा ठूलो पूजा गरिन्छ । व्यासी सौका समुदायको सबैभन्दा ठूलो चाडपर्वको रूपमा साउन पूर्णिमाको पूजा मानिन्छ । 

मोहनशरण देवाचार्यले काठमाडौंमा मूर्ति निर्माण गराइरहेका छन् । नेपालतर्फ मूर्ति स्थापना शुरु भएपछि भारततर्फ पनि नक्कल शुरु गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा महाकाली नदीको उच्च तटीयक्षेत्र भ्रमण गरेका उत्तराखण्ड राज्य सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले यस्तो पहल थालेका छन् । 

आफ्नो अध्यक्षतामा रहेको उत्तराखण्ड पर्यटन विकास परिषद्को बैठक डाकेर साउन दोस्रो साता सतपालजीले मूर्ति स्थापनाको गृहकार्य थाल्न निर्देशन दिएका छन् । गुञ्जी अतिक्रमित नेपाली भूमि हो । लिम्पियाधुराबाट बगिआउने महाकाली नदी र लिपुलेकबाट कालापानी हुँदै बग्दै आएको लिपुखोलाको संगमस्थलसमेत हो ।

गुञ्जीबाट महाकाली किनारैकिनार भएर नाभी गाउँ, कुटी गाउँ हुँदै जोलिङकाङ क्षेत्र पुगिन्छ । जोलिङकाङ क्षेत्रमा पार्वती सरोवर रहेको छ भने यसैक्षेत्रको पश्चिमतर्फ आदि कैलाश (छोटी कैलाश) पर्वत छ । गुञ्जीबाट लिपुखोलाको किनारैकिनार भएर १० किलोमिटर अगाडि कालापानी पर्छ । कालापानीमा लिपुखोला तरेर पूर्वतर्फ सैनिक क्याम्प राखिएको छ भने महाकाली नक्कलीको मुहान खडा गरिएको छ । महाकालीको नक्कली मुहानमा काली माताको मन्दिरसमेत बनाइएको छ । कालापानीभन्दा ९ किलोमिटर पूर्व–उत्तरतर्फ नाभीढाँग पर्छ । नाभीढाँगबाट पूर्व दिशातर्फ प्राकृतिक रूपमा ओम लेखिएको ॐ पर्वत दर्शन गर्न सकिन्छ । भारत सरकारले गुञ्जीमा शिवधाम निर्माण शुरु गरेको छ भने आदि कैलाश, पार्वती सरोवर र ओम पर्वत क्षेत्रलाई धार्मिक, प्राकृतिक र साहसिक पर्यटन प्रवद्र्धन गर्दैआएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू