संसदीय टोलीको मुकाम ठमेल, खानपिन ललितपुरको झमेल
नेपाल भ्रमणमा रहेको नर्वेजियन संसदीय टोलीको आजको मोटामोटी कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयमा भेटघाटको समय दिउँसो साढे ४ बजे मिलाइएको छ । त्यसअघि दिउँसो १ बजे ललितपुरको झम्सीखेल अर्थात झमेलको बेल बार एण्ड बिस्ट्रोमा दिवा खाना (लञ्ज) को कार्यक्रम छ ।
सिंहदरबारको भेटघाटपछि टोली साँझ ५ बजे पुनः ललितपुर जाने छ । पाटन दरबार क्षेत्रको अवलोकनपछि नर्वेजियन राजदूतको निवासमा रात्रिभोजमा सांसदहरु सामेल हुने बताइएको छ ।
राति साढे ८ बजे १३ जनाको संसदीय टोली ठमेलको त्रिदेवी मार्गस्थित मुकाम होटल बाराही फिर्ता हुने छ । नर्वेको उक्त टोली नेपाल भ्रमणमा हिजो आएको हो । भारतको नयाँ दिल्ली हुँदै टोली एअर इण्डियाको उडान नम्बर एआई २१५ मा दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको थियो ।
टोलीमा ११ जना सांसद र दुई जना संसदीय समितिका सचिवहरु छन् । तीमध्ये एक जना सांसद हिजो बिहानै दोहा हुँदै काठमाडौं आइपुगेका थिए ।
उनीहरु सबै नेपाल भ्रमणपछि भोलि राति सवा २ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।
यो पनि...
नर्वेको संसदीय टोली नेपाल भ्रमणमा
टिप्पणीहरू