नेपालको खानी उत्खननमा जाम्बियाको विशेष चासो
अफ्रिकी मुलुक जाम्बियाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा चासो देखाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याटसन चन्दाले उक्त धारणा राखेका हुन् ।
राजदूतले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्न आफ्नो मुलुक तयार रहेको बताएका हुन् । सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूतले नेपाल र जाम्बियाको भौगोलिक अवस्था समान रहेको जनाउँदै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न सकिने उल्लेख गरेको मन्त्रालयले जनाएको छ ।
प्रत्युत्तरमा मन्त्री भण्डारीले दुवै मुलुक अतिकम विकसित र भू–परिवेष्ठित भएकाले चुनौती र विकासका लक्ष्य समान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना छ । नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेकाले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना छ ।’
टिप्पणीहरू