एमालेले जनयुद्ध नस्वीकार्ने, पुरस्कार बाँड्ने ?

एमालेले जनयुद्ध नस्वीकार्ने, पुरस्कार बाँड्ने ?
सुन्नुहोस्

तत्कालिन नेकपा (माओवादी)ले गरेको दश वर्षे जनयुद्धलाई नेकपा (एमाले) ले ‘जनयुद्ध’ भन्न त परै जाओस् ‘सशस्त्र युद्ध’ पनि नस्वीकारेर ‘हिंसा’ हो भनिरहेको छ । यो स्वार्थी नीति भएको माओवादी नेताहरुको भनाई छ । दुई हप्ताअघि संघीय संसदका योगेश भट्टराईले बिनाप्रसंग जनयुद्ध हिंसा थियो भन्दै माओवादीहरुलाई घुमाउरो शैलीमा हत्याराको संज्ञा दिए । उनको बोलीमा लोली मिलाउँदै एमालेका अर्का संघीय सांसद रघुजी पन्तले पनि जनयुद्ध हिंसा नै थियो भन्न भ्याए । त्यसो त एमालेमा छुद्र छविका र हाल अध्यक्ष केपी ओलीले नरुचाएका गोकुल बाँस्कोटासहित गत निर्वाचनमा भक्तपुरबाट हारेका महेश बस्नेत पनि उग्र रुपमा माओवादीलाई सत्तोसराप गर्ने उच्च कोटीमा पर्छन् ।

कुरोको चुरो खोलौँ विशाल–कुमार स्मृति दिवस र यसैको सन्दर्भमा बाँडिएको पत्रकारिता पुरस्कारबाट । विशाल अर्थात, शेरमान कुँवर र कुमार अर्थात, मोहनचन्द्र गौतम । यी दुई योद्धा जनयुद्धका क्रममा सिन्धुलीबाट शहादत प्राप्त गर्ने होनहार सहिदहरु हुन् । यिनैका नाममा सिन्धुली जिल्लाको नेकपा (एमाले)ले नौटंकी, रत्यौलीपूर्ण राजनीतिक नाच मञ्चन गरेको छ । हुन त सहिद भनेका साझा हुन्छन्, सहिद कुनै पार्टी विशेषका हुँदैनन् । तर विशाल–कुमार जनयुद्धका सहिद भएकाले उनीहरु हिँडेको बाटोलाई एमालेका सांसदहरु मात्र नभई सो पार्टीका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै धारे हात लगाउँदै बेलाबेलामा जनयुद्ध हत्या नै हो भनिरहँदा यही भदौ २१ गते नेकपा (एमाले) सिन्धुलीले भने विशाल–कुमार स्मृति दिवस भव्यतापूर्वक मनाएको छ । दिवस मनाउने मात्र होइन, एमालेले विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार नै स्थापना गरेको छ र यस वर्षको पुरस्कार एमाले निकट प्रेस चौतारी सिन्धुलीका एक कार्यकर्ता कृष्णहरि घिमिरेलाई प्रदान गरेको छ ।

त्यही जनयुद्धमा सक्रियतापूर्वक सहभागिता जनाएका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्टहरु, सिन्धुलीका तत्कालिन माओवादी नेताहरु निरु दर्लामी कुँवर, मनोजजंग थापा, शान्तिमान कार्कीहरुलाई एमालेमा भित्र्याउँदा चाहिँ गर्व गर्ने ? 

माओवादी र एमाले एकता भई नेकपा निर्माण भएका बेला तयार पारिएको दस्तावेजमा जनयुद्धलाई एमालेले पनि स्वीकारेको विषय हो । त्यसो त नेकपा भएकै बेला एमाले सांसद योगेश भट्टराईले नै जनयुद्ध उत्पीडित, शोषित, दमितहरुका आवाज बुलन्द पार्न र संविधानसभाको निर्वाचन गर्दै देशलाई हालको संघीयता, समावेशी, धर्मनिरपेक्षता लिपिबद्ध भएको संविधान जारी गर्न जनयुद्धको भूमिका थियो भनेर सार्वजनिक मन्तव्य नै दिएका थिए । एमालेका अर्का सांसद एवं प्रेस चौतारीका पूर्व नेता सूर्य थापालाई त नेकपाले कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार नै प्रदान गरेको थियो । त्यही हिँसा भनिएको जनयुद्धकै सर्वोच्च नेता प्रचण्डकै पार्टी नेकपा (माओवादी)ले एमालेलाई पटक–पटक सत्ताको कुर्सीमा पुर्याउने काम गरेको छ । आगामी दिनमा पनि अझै यी दुई पार्टीबीच निरन्तर सहकार्य हुनेछ, हुनुपर्छ । 

त्यसैले सत्ताको कुर्सीमा पुगेपछि बिगतका सबै सहकार्य र सहयोगलाई बिर्सने स्वार्थपूर्ण राजनीतिले गर्दा देशले नै दुःख पाउने हो, नेपाली जनता नै दुखी बन्नुपर्ने हो । त्यसो त विगतमा गरिएको भनिएको झापा बिद्रोहमा नेकपा एमालेले हतियार उठाएकै हो । यसले पनि हिंसा गरेकै हो । आफूले मान्छे मार्दा ठीक र अर्काले क्रान्ति गर्दा बेठिक देख्ने आँखा दोषी हो । यदि जनयुद्धलाई हिँसा (हत्या) नै हो भन्ने हो भने त्यही जनयुद्धमा सक्रियतापूर्वक सहभागिता जनाएका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्टहरु, सिन्धुलीका तत्कालिन माओवादी नेताहरु निरु दर्लामी कुँवर, मनोजजंग थापा, शान्तिमान कार्कीहरुलाई एमालेमा भित्र्याउँदा चाहिँ गर्व गर्ने ? यसकारण जनयुद्धका सहिदहरु शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिसभा र पुरस्कार स्थापना गर्दाचाहिँ एमालेले गर्व होइन ग्लानी गर्नुपर्ने होइन ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू