मण्डेलाबाट सिक्नु नि हाम्रा माओवादीले
सन् २००६ को अन्त्यतिर एउटा पसलमा पुग्दा सिडी चक्कामा नजर अड्कियो । त्यसमा ४६६६४ लेखिएको थियो । अलि सानो अक्षरमा ‘लङ वाक टु फ्रिडम’ र नेल्सन मण्डेलाको फोटो थियो । खै किन हो, किन्न मन लाग्यो । घर गएर पटक पटक सुनेँ । यो अभियानबारे केही खोजी गरेँ । दिमागमा एक्कासी यसको सिको नेपालमा पनि गर्न सके हुने भन्ने लाग्यो । युद्धको रापतापका बेला यस्ता सुझाव त्यति आवश्यक पनि हुन्न थियो होला । तर, शान्ति वार्तामा आएको केही समयपछि नेताहरू बेलायत आउँदा स्थानीय काउन्सिलबाट संकलित विभिन्न चर्चा र यो सिडीको चक्कासहित केही सुझाव पठाएको थिएँ ।
जनयुद्धको यत्तिका वर्षपछि शान्ति प्रक्रियाले अझै अन्तिम रूप लिन सकेको छैन । संविधान नै सहमतिको दस्तावेज भएकाले यसलाई सशस्त्र विद्रोह मान्न तयार माओवादीलाई अहिले पनि प्रधानमन्त्रीले हिंसात्मक द्वन्द्व भनिरहँदा कतै निषेधको राजनीति शुरु हुन लागेको त हैन ? भन्ने आशंका गर्न मन लाग्छ ।
लामो समयसम्म सरकारमा सहभागी हुँदा पनि माओवादीले सत्ताको उपल्लो सीमारेखा नाघ्न सकेन । छिटपुट राम्रा काम गरे पनि जश लिन सकेन । केही नराम्रा उदाहरणले भए–गरेका राम्रा काम पनि ओझेलमा परे । युद्धमा होमिएर घाइते र अपांग भएका पूर्वसेनासम्मको उचित व्यवस्था गर्न सकिएन । यो एउटा समस्या समाधान गर्न त्यति ठूलो अप्ठेरो पनि थिएन । व्यक्तिगत तथा केही सामूहिक सहयोगले यो समस्या समाधान हुने विषय त झनै होइन । राज्यको ढोका कुर्न नसक्नेहरू गाउँघरमै कुहिएर बसेका कैयौं उदाहरण छन् ।
देशैभरि युद्धमा घाइते र अपाङ्गहरूको सहयोगका लागि सकेको जति अर्थ संकलन गर्न त्यति गाह्रो थिएन । एउटा फाउण्डेशन बनाउन सकिन्थ्यो ।
जतिबेला मैले मण्डेलाको क्यासेट सुनें, त्यति नै बेला नेपालमा पनि एउटा यस्तो लहर फैलाउनुपर्छ भन्ने लागेको थियो । १० वर्ष जनयुद्ध लड्दा र यसअगाडि पनि प्रचण्डलाई देख्ने मानिस निकै कम थिए । द्वन्द्वताका गीत–संगीतले जसरी प्रभाव पारेको थियो, अब निर्माणमा पनि त्यसरी नै प्रभाव पार्ने काम गर्नुपर्छ भन्ने मान्यता थियो । समाज परिवर्तन गर्न गीत संगीतमा पूरा जीवन दिएका यथासम्भव सबैलाई धन्यवाद दिने उपाय मलाई यो सिडीले सुझाएको थियो । जनताले देशैभरि युद्धमा घाइते र अपाङ्गहरूको सहयोगका लागि सकेको जति अर्थ संकलन गर्न त्यति गाह्रो थिएन । यो अभियानलाई राष्ट्र निर्माणको खुड्किलोका रूपमा प्रयोग गर्न सकिन्थ्यो । एउटा फाउण्डेशन बनाउन सकिन्थ्यो ।
पहिलो चरणमा घाइते, अपांगहरूको औषधि उपचारमा केन्द्रित रहेर विस्तारै विभिन्न प्राथमिकताअनुसारका कामहरू गर्न सकिने थियो । सहभागिताको हिसावमा त्यतिखेर सहज हुने थियो भने सक्रियतालाई बढाउनका लागि अहिले झन् ठूलो खाँचो छ । नेल्सन मण्डेला स्वतन्त्रताको लडाईंमा दोस्रोपटक सन १९६४ मा पक्राउ परेका थिए । उनलाई रोबेन आइल्याण्डको काराबासमा राखिएको थियो । कैदी नम्बर ४६६ अर्थात् त्यस वर्ष उक्त कारावासमा पुग्ने उनी ४६६ औं थिए । २७ वर्षपछाडि जेलमुक्त भए र सन् १९९४ मा दक्षिण अफ्रिकाको राष्ट्रपति बने । त्यसबीच पारिवारिक समस्या भयो । दोस्रो विवाह ८० वर्षको उमेरमा गरे । पाँच वर्षीय कार्यकाल सकिएपछि प्रत्यक्ष राजनीतिबाट ओझेलमा परे तर समाजका लागि भने अन्तिम अवस्थासम्म केही योगदान गरिरहे । आफू राष्ट्रपति हुने बेला सन् १९९५ मा चिल्ड्रेन्स फण्डमार्फत् बालबालिकालाई सहयोग गरेका थिए । सन् २००३ मा मण्डेला फाउण्डेशन स्थापना गरे । सन् २००५ मा जेठो छोराको एड्सबाट मृत्यु भयो । त्यसो त उनी आफैं पनि क्यान्सर रोगी थिए ।
सन् २००३ को नोभेम्बर २९ मा केपटाउनको ठूलो स्टेडियममा ४६६६४ कन्सर्ट आयोजना भयो । यो कार्यक्रमले अफ्रिका तथा संसारभर एड्सको प्रकोपबारे जनजागरण ल्याउने उद्देश्य राखेको थियो । यस कार्यक्रममा वियोन्से आनाष्टासियालगायत २५ जना विश्वप्रसिद्ध गायक÷गायिकाले भाग लिएका थिए । यो अभियान देशभित्रका ठूला–साना शहरमात्र हैन, स्पेन, नर्वे, लण्डनमा समेत आयोजना गरियो । यी सबै कार्यक्रममा फरक फरक विख्यात कलाकारहरू सहभागी थिए भने यसबाट संकलित रकम फाउण्डेशनमार्फत विश्वभरि खर्च गरिँदै आएको छ । अहिलेसम्म करिव १३५ वटा देशका ९१ हजारभन्दा बढी मानिसलाई सेवा प्रदान गरिएको देखिन्छ भने संसारभरिबाट नै सहयोग प्राप्त हुने गरेको छ । मैले त्यतिबेलै सुझाएको २०५२१११ अभियान थाल्न ढिला नगरौं ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू