बा, बालेन अनि निरन्तर बबाल

बा, बालेन अनि निरन्तर बबाल

बा अर्थात प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली । बालेन अर्थात काठमाडौं महानगरपालिका मेयर एवम् र्‍यापर बालेन्द्र साह । बबाल अर्थात अनावश्यक झमेला, नचाहिँदो कचिङ्गल, व्यर्थको टन्टा, बखेडा आदि । 

केही समययता यी तीन शब्द एक–आपसमा असाध्यै जोडिएका छन् । जानकारहरु बताउँछन्– बा नामले परिचित केपी शर्मा ओलीको व्यक्तित्व पहिलेदेखि घोचपेच र तिखो वचनका कारण चर्चामा रमाउने प्रकारको देखिन्छ ।

नाकाबन्दीताका उनले भारतविरुद्ध लिएको अडान होस् या पार्टीभित्र एकछत्र राज गरिरहेका माधव नेपाललाई पराजित गरी शक्तिशाली पार्टीको अध्यक्ष भएर प्रधानमन्त्री पदमा हुँदा, उनले आफ्नो पुरानो तिखो वक्ताको छवि छोडेनन् । काठमाडौं महानगरपालिका मेयर बालेनको स्वभाव र गतिविधि पनि ठ्याक्कै ओलीको जस्तै झल्किन्छ । भलै यी दुईको उमेर र पृष्ठभूमि फरक–फरक रहेको छ । तर, प्रवृत्ति उस्तै हो ।

अवस्था हेरेर कसरी हुन्छ माहोल तताउने, अप्रिय पात्रका विरुद्ध खनिइहाल्ने र चर्चा पाउनेमा बा र बालेन उस्तै देखिएका छन् । अहिले बालेनको तवर–तरिका हेर्दा तीतो सत्य ओकलेको जस्तो लाग्छ । जनताप्रति सहानुभूति प्रकट गरेजस्तो देखिन्छ । यिनै कारणले उनी राजनीतिप्रति आजित जनमानसको ध्यान खिच्न सफल छन् । बालेनको प्रवृत्तिलाई समालोचनात्मक तरिकाबाट विश्लेषण गर्दा उनका टिप्पणी घोचपेचको मुख्य आशय चर्चा कमाउने र रमाउने प्रकृतिकै भएको आभाष मिल्छ । 

केपी शर्मा ओली एमाले अध्यक्ष र प्रधानमन्त्री हुनुअघि नै उनको स्वभाव तिखो बोल्ने, प्रतिपक्षलाई व्यङ्ग्य गर्न कुनै कसर बाँकी नराख्ने, प्रतिद्वन्द्वीलाई खुलस्त आलोचना गर्ने नेताको हो । जसकारण उनलाई राजनीतिक वृत्तमा चतुर र छुच्चो नेताका रुपमा हेरिन्छ पनि । ओलीको तर्क, हाउभाउ र भनाइका कारण उनका कतिपय अभिव्यक्ति मिडियामा निकै भाइरल भएका थिए । त्यस्तै बालेन जनप्रतिनिधि हुनुभन्दा अघि नेता र उनीहरूको कार्यशैली तथा भ्रष्टाचारलाई र्यापमार्फत सांगीतिक प्रहार गरिरहेका हुन्थे । कहिले गरिबको चमेली बोलिदिने कोही छैन त, कहिले के १ 

मेयर भैसकेपछि पनि उक्त कार्यलाई निरन्तरता दिइरहेका छन् । पहिला बालेन गीतमार्फत आलोचना गर्थे भने हिजोआज घोचपेच एवम् आलोचनाको शैलीलाई परिवर्तन गरेका छन् । बालेन आजभोलि ट्विटर, फेसबुकमार्फत नेताहरूलाई गाली गर्छन् र तालि पाउँछन् । कहिले उनी प्रचण्डमाथि व्यंग्य गर्छन् त कहिले शेरबहादुर देउवालाई, त कहिले केपी शर्मा ओलीलाई पेचिलो प्रहार गरिरहेका हुन्छन् ।

बालेनको फेसबुकमा पोस्ट गर्ने बानीले अहिले आलोचना र समर्थन दुवै पाइरहेको छ । केही बौद्विक तथा आलोचनात्मक चेत भएका व्यक्तिले बालेनको यो तरिका पदीय मर्यादाअनुसार ठीक नभएको बताएका छन् । तथापि बालेन भने प्रायः शीर्ष नेताहरुलाई व्यङ्ग्य गरिरहेका हुन्छन् । बालेनको नेताप्रति कटाक्ष विभिन्न दलगत नेताको तुलनामा प्रधानमन्त्री तथा एमाले अध्यक्षमाथि बढी देखिन्छ । बारम्बार फेसबुकमार्फत कहिले गिरी बन्धु चिया बगानको जग्गा हिनामिना गरेको आरोप त कहिले कार्यकर्तालाई राम्रो प्रशिक्षण नदिएको सवालमा सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्छन् । 

भर्खरै बालेनले एमाले लुम्बिनीकी नेतृ रेखा शर्मालाई नाबालिकालाई घरेलु कामदार बनाई बाल शोषण गरेको आरोप लगाउँदै कार्यवाहीको माग राखेर फेसबुकमा पोस्ट गरेका थिए । त्यसलगत्तै उनका प्रशंसकले केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो र फलो गरिरहेका छन् । यस घटनाले पुनः एकपटक ओली र बालेनबीच सामाजिक सञ्जालमा भर्चुअल युद्व चलिरहेको देखिन्छ । एउटा पक्ष मेयर साहको पोस्टलाई आधार मानेर फेसबुकमा रिपोर्ट गर्ने, अर्को त्यसका विरुद्ध गएको अवस्था छ ।

जिम्मेवार पदमा राति ९–१० बजे, बिहान ६ बजे पोस्ट गर्नुले न उनको क्षमतालाई न्याय गर्छ न त उनलाई विश्वास गरेका जनताप्रति ।

बालेन साहका पोस्ट हेर्दा आखिर शीर्ष नेतासँग किन बेलाबेलामा बबाल गरिरहन्छन् रु के उनको उद्देश्य खाली नेताहरूलाई गाली गरी सस्तो लोकप्रियता कमाउने हो रु भन्ने प्रश्न उब्जन्छ ।बालेनले जुन तरिकाबाट फेसबुकमा नेतालाई लिएर कमेन्ट र पोस्ट गरिरहेका छन्, त्यस्तै कमेन्ट, टिप्पणी र गालीगलोज प्रत्येक चोकका चिया पसल, भट्टीमा सुनिन्छ । उनको भन्दा तिखो आलोचकहरु चिया पसल र भट्टीमा गुञ्जिन्छन् । सरसर्ती हेर्दा यसरी चोकका पसलहरुमा बसेर, विभित्र सामाजिक सञ्जालको प्रयोग गरेर नेताका विरुद्ध लेख्नु/बोल्नु सबैभन्दा सजिलो माध्यम हो । यसबाट लाइक, कमेन्ट, सेयर पाउन सकिन्छ ।

एकछिन मनलाई शान्त पार्न र अरुको ध्यान तान्न त सकिएला, तर समाधान भने निकै कठिन छ । वर्तमान नेपाली राजनीतिकक अवस्था हेर्दा, नेपाली नेताको रवैया र प्रवृत्ति हेर्दा आम जनतामाझ उनीहरूप्रति रिस, क्रोध र घृणा प्रशस्त रहेको छ । तर पीडा, रिस र समस्या छ भन्दैमा सञ्जाल तथा चोकमा टिप्पणी गर्ने, गाली गर्ने, पुतला जलाउँदैमा समस्या समाधान हुँदैन । सामाजिक सञ्जालमा गालीगलौज र विचार पोस्ट गर्दैमा देशमा परिवर्तन हुने भए अहिले नेपाल संसारको सबैभन्दा शक्तिशाली र विकसित देश भैसकेको हुन्थ्यो ।

वर्तमान परिपाटीमा आम जनताले एउटा कुरा बुझ्न के आवश्यक छ भने नेता बनाउने र बिगार्ने भूमिका जनताकै हो । अरुमाथि दोष थोपर्नुको सट्टा एकपटक आत्मबोध जनताले गर्नुपर्छ । हिन्दीमा एउटा उखान छ, ’जैसा गुरु वैसा चेला’, अर्थात जस्तो जनता, त्यस्तै नेता । 

रोज्ने आफैंले अनि गाली आफैंले, यो त सरासर विरोधाभाष हो । नेतासँग जनताको रिस छ, बेखुशी छन् भने चुनावमा त्यही पार्टीको त्यही नेतालाई भोट दिने होइन । राजनीतिक दल र नेतृत्वको गणना गर्नको लागि नेपाली जनताले पारित गरेको राजनीतिक व्यवस्थाअनुसार हिसाबकिताब गर्नुको विकल्प छैन । निर्वाचन छ, त्यसमा हो जनताले राजनीति दल र उसका नेताको एकएक मूल्याङ्कन गरी आफ्नो आक्रोश पोख्ने । ठीक छ, विकासमा परिवर्तन देखिएको छ भने मत दिने, होइन भने नदिने हो । यदि निर्वाचनबाट पनि पार लागेन भने जनताका आक्रोशहरु आन्दोलनमा बदलिन्छन् । त्यही बेलामा हो सत्ता र नेतृत्वविरुद्ध आन्दोलन उब्जने, त्यही बखत जनता सक्रिय भएर भ्रष्टाचार, अत्याचारका विरुद्ध जाग्ने । न कि फेसबुकमा आक्रोश पोख्ने ।

सामाजिक सञ्जालबाट गालीगलौज र विचार पोस्ट गर्दैमा परिवर्तन हुने भए अहिले नेपाल संसारको सबैभन्दा शक्तिशाली र विकसित देश भैसकेको हुन्थ्यो ।

बालेनले अहिले जुन तरिका र माध्यमबाट नेताहरूको आलोचना गरिरहेका छन्, त्यसबाट न व्यवस्थामा परिवर्तन आउँछ न त व्यक्तिमा परिवर्तन । बालेनको यस्तो टिप्पणीले केपी शर्मा ओली लगायतका नेतालाई केही फरक पर्दैन । बरु यस्तो कार्यले ढिलोचाँडो मेयरलाई नै बेफाइदा पुग्ने देखिन्छ । कुनै दिन राजनीतिक दलका नेताले मेयर साबको फेसबुकमा पोस्ट गर्ने, कराउने आदत हो, काम गर्ने जिम्मा हाम्रो हो भन्न बेर छैन । राजनीतिक दलका नेताहरूको बालेनप्रति भित्री बुझाइ जे–जस्तो भए पनि बाहिरी रुपमा उनलाई समर्थन नै गरेको देखिन्छ । नेताहरूको मेयर बालेनप्रतिको बुझाइ हेर्दा नरम भएको छ । 

मेयर बालेन निर्वाचित भइसकेपछि शीर्ष नेताहरुलाई भेटेका थिए । प्रधानमन्त्री एवम् एमाले अध्यक्षसँगको भेटघाटमा ओलीले बालेनलाई तबला उपहार दिएका थिए । प्रचण्ड, शेरबहादुर देउवाले पनि राम्रै तरिकाबाट भलाकुसारी गरेका थिए । भेटघाटपश्चात् नेताहरुले उनलाई लोकप्रिय पात्र र युवाको आवाज भएको अभिव्यक्ति दिए । यद्यपि केहीले भने संसदीय व्यवस्थामा एक्लो मान्छे, त्यो पनि स्वतन्त्रले वाहवाही कमाउनेबाहेक केही गर्न नसक्ने बताएका छन् । 

अर्कोतिर केही पार्टीकै युवा नेताले भने उनका सामाजिक सञ्जालका पोस्टलाई आधार मानेर टिप्पणीसमेत गरेका छन् । जसमा बालेनलाई उनको पद र जिम्मेवारीअनुसार अराजक तरिकाबाट समाजिक सञ्जालमा प्रस्तुत राम्रो होइन भन्ने गरेका छन् । नेताहरुले जे–जस्तो भने पनि बालेन आफ्नो शैलीबाट पछि हटेका छैनन् । अझ उनी ठाउँको ठाउँ जवाफ दिन्छन् । नयाँ पुराना घटना पल्टाउने र नेताविरुद्ध खनिन सामाजिक सञ्जालबाट प्रहार भने निरन्तर दिइरहेका छन् ।

अहिले नेपाली समाज पीडामा छ । जसरी पीडाको बखत सामान्य कुराले पनि पीडितलाई ठूलै राहत हुन्छ । ठ्याक्कै अहिले सामाजिक सञ्जालमा कुनै चर्चित पात्रले नेताहरुलाई गाली गर्दा राहत मिलेको जस्तो देखिन्छ । वास्तवमा अबको समय पुरानाभन्दा नयाँ नेताको हो । पुरानाहरु उमेर र अवस्थाको आधारमा लगभग आफ्नो कार्यकालको अन्त्यतिर छन् । उनीहरू चाहेर वा नचाहेर दुई–चार वर्षमा निश्चितरूपमा सत्ता र शक्तिबाट छुटिन्छन् । अब नयाँहरु सबै कोणबाट सचेत हुन आवश्यक छ । क्षणिकको चर्चा र सहानुभूतिभन्दा पर रहेर दिगो राजनीतिक भविष्य बनाउनुपर्छ । अनि मात्र राजनीतिक मार्गमा सजिलोसँग हिँड्न सक्छन् । त्यसको लागि बालेनहरुले आफ्ना केही कमजोरी सुधार्नुपर्छ ।

जनताले पुरानाको तुलनामा नयाँलाई निकै विश्वास गरेका छन् । भविष्यमा केही गर्नसक्छ भनेर आशा पालेर राखेका पनि छन् । तर ती व्यक्तिले अब सस्तो लोकप्रियताको लत त्याग्नुपर्छ । जिम्मेवार पदमा बसेर सस्तो चर्चाका निम्ति राति ९–१० बजे, बिहान ६ बजे पोस्ट गर्नुले न उनको क्षमतालाई न्याय गर्छ न त उनलाई विश्वास गरेका जनताप्रति । 

बालेनले अब केही हदसम्म सत्ता र शक्तिको स्वाद चाखिसकेका छन् । सत्तामा जाने बाटो के हो, त्यो बुझेका छन् । जनतालाई कस्तो प्रतिनिधि चाहिन्छ, त्यो थाहा पाएका छन् । जनताले पनि बालेनहरु अहिले जुन बाटोमा हिडिरहेका छन्, त्यो बाटोलाई राम्रो मानेका छन् । आज जसले जनताको पक्षमा राम्रो काम गर्छ, ऊ भोलि जनताको साथ र मतबाट जसलाई काम गर्न सकेनौ भनेर गाली गरेको थियो, त्यहीँ ठाउँमा अवश्य पुग्नेछन् । यसका लागि आजको जुन बानी र शैली छ, बबाल मन पराइरहने प्रवृत्ति छ, त्यसलाई तुरुन्तै त्याग्नुपर्छ । अन्यथा उनी पनि सस्तो लोकप्रियताको तालमा चुर्लुम डुब्ने छन् । भोलिको पुस्ताले एउटा भाइरल छिनमा उदायो र छिनमा हरायो भन्नेछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू