'हिँसा' नहटेसम्म माओवादीले संसद चल्न नदिने
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले जनयुद्धलाई हिँसा भनिएको विषय छिनोफानो नभएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।
एमालेका सांसदहरुले जनयुद्ध र जनमुक्ति सेनालाई अपमानित गर्ने ढङ्गले संसदमा बोलेकाले त्यस्ता अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग छ । अन्यथा सशक्त प्रतिवाद गर्न निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ । त्यो शान्ति सम्झौता र संविधानविपरित छ । समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढङ्गले आएको छ', उनले भने, 'आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्नेगरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।'
पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराईले प्रतिनिधिसभा बैठकमा माओवादी जनयुद्धलाई 'हिँसा' को संज्ञा दिएका थिए । संसदबाटै त्यसको प्रतिवाद गरेको माओवादीले रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । त्यसदिन सचिवालयका कर्मचारीलाई छानविन गर्न निर्देशन दिएका सभामुखले अस्ति बुधबार 'हिँसा' शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि आकोशित माओवादी सांसदहरुले संसद अवरुद्ध गरेका थिए ।
बैठकले उपसभामुख इन्दिरा रानालाई हटाइए प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ । संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको माओवादीको निष्कर्ष छ ।
टिप्पणीहरू