यचुरीको अन्तिम संस्कारमा सहभागी हुन एमाले उपाध्यक्ष भारत जाँदै

यचुरीको अन्तिम संस्कारमा सहभागी हुन एमाले उपाध्यक्ष भारत जाँदै
सुन्नुहोस्

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीको अन्तिम संस्कारमा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल भारत जाने भएका छन् । आज बसेको सचिवालय बैठकले पोखरेललाई भारत पठाउने निर्णय गरेको छ । 

७२ वर्षीय यचुरीको हिजो निधन भएको थियो । तीन साताअघि मात्रै उनी अल इन्डिया इन्स्टिच्युड मेडिकल साइन्स (एम्स) दिल्लीमा भर्ना भएका थिए । निधनपछि येचुरीको परिवारले शव अल इण्डिया इन्स्टिच्युट मेडिकल साइन्स (आइम्स) लाई नै डोनेट गरेको छ । 

आइम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी उहाँको निधनप्रति दुःखी छौ । उहाँको परिवारले यचुरीको शव हामीलाई डोनेट गर्नुभएको छ । उहाँको शव आधुनिक शिक्षण र शल्यक्रियाको अनुसन्धानमा प्रयोग हुनेछ ।’ 

यचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । छोराको भने कोभिड महामारीमा निधन भएको थियो । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ आज बिहान दिल्ली गएका छन् । उनी यचुरीको अन्तिम संस्कारमा सहभागी हुन गएको अनुमान गरिएको छ ।

टिप्पणीहरू