उपसभामुख हटाउने प्रयासबाट पछि हट्यो एमाले
सत्तारुढ नेकपा (एमाले)ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रयासमा नरहेको स्पष्टीकरण दिएको छ । सो पार्टीका सांसद महेश बर्तौलाले उक्त जानकारी दिएका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतकहरुको बैठकपछि उनले उपसभामुखबाट कमजोरी भएपनि हटाउने तहमा आफूहरूले विषय नउठाएको दाबी गरे । रास्वपा र माओवादी केन्द्रले संसदमा यो विषय उठाएपछि आफूहरुले प्रतिवादमात्रै गरेको बर्तौलाको जिकिर छ ।
‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद् छ’, उनले भने।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि उपसभामुखलाई हटाउने विषयमा बैठकमा कुरा उठ्दा बर्तौलाले त्यस्तो तयारी नभएको जवाफ दिएको जानकारी दिए ।
‘उपसभामुखको विषयमा मान्य मुख्य सचेतक महेश बर्तौलाज्यूले त्यस्तो केही थिएन, तपाईंहरुले चाँडै कुरा उठाउनु भयो भन्नुभयो’, उनले भने, ’मैले तपाईंहरुको त्यस्तो केही रहेनछ भनेँ । संसदमा कुरा उठाउने नै हो, कुरा बग्रेल्ती आए, हामीले उठाइ नै हाल्यौँ, तपाईंहरुको त्यस्तो केही रहेनछ भने धन्यवाद, केही पनि फेरि नहोस् भने ।’
पाँच जना गैरसंसदीय व्यक्तिलाई अमेरिकाको भिसा दिलाउन पत्र लेखेपछि विवादमा परेकी उपसभामुख रानालाई पदबाट हटाउने सत्तापक्षको तयारी थियो । तर, संसदमा दुई तिहाई बहुमत जुटाउन नसकेपछि उनीहरु पछि हटेको अनुमान गरिएको छ ।
टिप्पणीहरू