सभामुखको भूमिकामाथि माओवादीले उठायो प्रश्न, अवरुद्धको निर्णय यथावत

सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । माओवादी जनयुद्धलाई हिँसा भनिएकोप्रति आपत्ति जनाउँदै आएका माओवादी नेताहरुले यसमा सभामुख निष्पक्ष हुन नसकेको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराईले भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा सशस्त्र विद्रोहलाई ‘माओवादी हिँसा’को संज्ञा दिएका थिए । संसदबाटै त्यसको प्रतिवाद गरेका माओवादी सांसदले रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेका थिए ।

त्यसदिन सचिवालयका कर्मचारीलाई छानबिन गर्न निर्देशन दिनुभएको सभामुखले गत बुधबार ’हिँसा’ शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादी आक्रोशित भएको हो । उक्त शब्द रेकर्डबाट नहटेसम्म संसद चल्न नदिने उसको अडान छ । 

यसैबीच राष्ट्रिय सभा सांसद विष्णुबहादुर विश्वकर्माले सभामुख घिमिरेले एमाले कार्यकर्ताको भूमिकामा आफूलाई प्रस्तुत गरेको आरोप लगाए । राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले हिंसा शब्दलाई संसदको रेकर्डबाट नहटाउने सभामुखको निर्णय एमालेको कार्यकर्ताको रुपमा आएको जिकिर गरे । 

प्रतिनिधि सभामा चर्किएको यो विवादलाई लिएर आक्रोशित हुँदै उनले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भनि प्रश्न गरे । माओवादी विद्रोह जनयुद्ध भएको दाबी गर्दै उनले त्यसलाई अन्यथा ढंगले व्याख्या गरिए राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनीसमेत दिएका छन् । 

यता, माओवादी केन्द्रका केही नेताहरुले सभामुख घिमिरेलाई भेटेर निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । संसद्को जारी अवरोध कायम राख्ने दलको निर्णय सुनाउन पुगेका केही नेताहरुले ‘हिँसा’ शब्द नहटाउने निर्णय एकपक्षीय भएकाले पुनर्विचार गर्न आग्रह गरेको अताइएको छ । 

संसद खुलाउनेबारे सभामुख र राष्ट्रिय दलका सचेतकहरुबीच आज बिहान छलफल भएको थियो । तर, सहमति नजुटेपछि माओवादीले सदन अवरुद्ध जारी राख्ने निर्णय यथावत छ ।

टिप्पणीहरू