तल विवाद, माथि जनयुद्ध जिन्दावाद

सुन्नुहोस्

माओवादी ‘जनयुद्ध’ कि हिँसा ? प्रतिनिधिसभामा उत्पन्न यो विवादले राष्ट्रिय सभामा पनि प्रवेश पाएको छ । 

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सशस्त्र विद्रोहलाई ‘हिंसा’को संज्ञा दिएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको माओवादीले राष्ट्रिय सभामा पनि विषय उठाएको छ । आजको बैठकमा माओवादी सांसदहरु ‘हिँसा’ शब्दविरुद्ध जोडतोडका साथ प्रस्तुत भएका छन् । 

सांसद रेणु चन्दले भट्टराईको अभिव्यक्तिलाई वैचारिक दरिद्रताको संज्ञा दिँदै माओवादी युद्धलाई अपमान नगर्न चेतावनी दिइन् । जनताले आफ्नो हक र अधिकारको लागि लडेको लडाइँलाई हिँसा भनिनु लोकतन्त्रकै अपमान हुने उनको तर्क छ । 

‘एउटा वैचारिक युद्धलाई, राजनीतिक युद्धलाई जर्बजस्ती संकटकाल लगाएर टाउकोको मूल्य तोक्नेचाहिँ हिँसा हो’, उनले भनिन्, ‘आफ्नो अधिकारको लागि लड्नुलाई हिँसा भनिँदैन, आफ्नो हकको लागि लड्नुलाई कसैले हिँसा भन्छ भने त्यो उनीहरुको वैचारिक दरिद्रता हो, त्यसमा केही भन्न सकिँदैन ।’

सांसद चन्दले कसैले हिँसा भन्दैमा जनयुद्धको महानता कम नहुने जिकिरसमेत गरेकी छन् । ‘गुलाफलाई गोपीको फूल भन्दैमा त्यसको गुण हराउँदैन, जनयुद्धलाई हिंसात्मक भन्नुस्, त्यसको महानता कम हुँदैन’, उनको भनाई छ । 

प्रधानमन्त्री र एमालेका नेताहरुलाई असंवैधानिक भाषा प्रयोग नगर्न उनले सचेतसमेत गराएकी छन् । रोष्ट्रमबाटै उनले भनिन्, ‘प्रधानमन्त्री र उहाँका नेताहरुलाई भन्न चाहन्छु, तपाईंहरुलाई मन परे पनि, नपरे पनि, जनयुद्ध महान थियो, र रहिरहनेछ । म यहीँबाट भन्न चाहन्छु, महान जनयुद्ध, जिन्दावाद ।’ 

यसअघि माओवादीकै अर्का सांसद विष्णुबहादुर विश्वकर्माले यो विवादमा सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका थिए ।

टिप्पणीहरू