कहाँ खोज्ने डेरा, कस्ता फेला पर्लान् घरबेटी !

कहाँ खोज्ने डेरा, कस्ता फेला पर्लान् घरबेटी !

पेशा वा अध्ययनका निम्ति शहरमा पाइला टेकेपछि अधिकांशलाई बस्ने कोठाको आवश्यकता पर्छ । आर्थिक क्षमताअनुसार सुविधायुक्त कोठाको खोजी गरिन्छ । सुविधा मात्र राम्रो भएर हुँदैन घरबेटीको स्वभाव, चरित्र र चालचलन कस्तो छ त्यो बारेमा पनि जानकारी लिन सके भविष्यमा पर्नसक्ने अप्ठ्यारा परिस्थितिबाट गुज्रिनुपर्ने छैन । चिनजान, साथीभाइ र नातेदारमार्फत् पनि कोठा वा डेरा खोज्न सकिन्छ । यस्ता सम्वन्ध गाँसिएकाहरूमार्फत प्राप्त हुने कोठा वा फ्ल्याट भरपर्दा हुन्छन् ।

घरबेटी झट्ट हेर्दा राम्रो देखिएर मात्र हुँदैन । कतिपय घरवाला वा घरबेटीले विद्यार्थीलाई कोठा दिँदैनन् भने कतिपयले बालबच्चा भएकाहरूलाई घरमा छिराउन्नन् । राम्रै आम्दानी हुनेहरूले फ्ल्याट नै भाडामा लिन्छन् भने कम आय हुनेहरूले एक–दुईवटा कोठा लिएर बस्नुपर्ने हुन्छ । प्रायःजसोले भने एउटा कोठा मात्र लिएर बसेको पाइन्छ । हिजोआज गाउँ छाडेर शहर पस्नेहरूको लर्को छ । संघीय राजधानी काठमाडौँको चक्रपथबाहिरका खाली जमिनमा धमाधम जस्ताका टहरा बनिरहेको अवस्था छ । अर्को वाक्यमा भन्नुपर्दा गाउँघर खाली हुँदै छ ।

गाउँमा तीन–चार कोठा भएको घर छोडेर वा तालाबन्दी गरेर अनि गोठलाई रित्तो पारेर शहरको एउटा कोठामा खुम्चिई बस्ने अवस्था पनि छ । बालबच्चालाई राम्रो विद्यालयमा पढाउने चाहना बढ्दै गएको छ । हुन त जिल्ला–जिल्लामा स्तरीय तथा नमुना विद्यालय नभएका होइनन् तर किन हो किन शहरमै लगेर बालबच्चा पढाउने लहर नै चलेको छ । सकेसम्म बाटोको छेउमा कोठा लिएर बस्नु हुँदैन । होहल्लाले गर्दा पढाइ लेखाइमा बाधा पुग्न सक्ने हुँदा वायुप्रदूषण र ध्वनि प्रदूषणबाट बच्नेगरी अलि भित्र कम्पाउण्ड खुला भएको घर रोज्दा राम्रो हुन्छ । 

धेरैजसोले घरको भुइँतला भाडामा दिने र आफूहरू सुरक्षितसाथ माथिल्लो तलामा बस्न रुचाउँछन् । भाडामा मान्छे राख्दा घरको सुरक्षा हुने र आम्दानीको रूपमा मासिक भाडा पनि आउने हुँदा घरबेटीलाई मुख्यतया दुईवटा फाइदा वा उपलब्धि हुन्छन् । फ्ल्याट वा कोठा भाडामा दिए–लिएपछि बहालवालाले र घरबेटीले एकआपसमा सद्भाव, सदविचार र सकारात्मक सोचका साथ रहनुपर्छ । यसका लागि देहायबमोजिम केही कुरामा ध्यान दिनु आवश्यक छ । घरबेटी र बहालवालाहरूबीचमा कतिपय शर्त लिखित रूपमा सम्झौतापत्रमा हुन सक्छन् भने कतिपय शर्त दुबैको स्वविवेकमा निहित हुन्छन् ।

बहालमा बस्नेहरू सित्तैमा बस्ने होइनन् । लाग्ने र सुहाउँदो भाडा लिनु कुनै पनि घरबेटीको कर्तब्य हुन आउँछ । बहालमा बस्नेहरूलाई हेलाहोँचो गरेर बोल्नु राम्रो होइन । किनकि उनीहरू भविष्यमा कस्ता ब्यक्ति बन्ने हुन् भन्न सकिँदैन । विद्यार्थीका कुरा गर्ने हो भने भविष्यमा कोही सांसद होलान्, कोही प्रशासक होलान्, कोही इञ्जिनियर होलान् कोही डाक्टर बन्लान् । त्यसैले भारेभुरे विद्यार्थी त हुन् भनी होच्याएर ब्यवहार गर्नु हुँदैन । घरबेटीले भाडामा बस्नेसँग नम्र वचनले कुरा गर्नुपर्छ, बिद्यार्थी हुन् भने सकेसम्म स्नेहपूर्वक बोल्नुपर्छ । केही गुनासो भएमा हाँसेरै बोल्नुपर्छ र सम्झाउनुपर्छ । झर्केर बोलेमा असमझदारी बढ्नसक्छ र घरबेटी आफैँलाई बेफाइदा हुने अवस्था आउन सक्छ । 

लोभमा नपर्ने

बढी भाडा आउँछ भन्दैमा दुई नम्बरी धन्दा गर्नेहरूलाई घर वा फ्ल्याट वा कोठा भाडामा दिनु गलत कार्य हो । किनकि कुनै पनि बेला अवैध धन्दा गर्नेहरू कानुनी कारवाहीमा पर्न सक्छन् र कारवाहीको सिलसिलामा घरबेटीले पनि दुःख झेल्नुपर्ने हुन्छ । कतिपय घरबेटीको मुख्य ध्येय कोठाभाडा नै देखिन्छ । हुन पनि घर बनाउँदा धेरै नै संघर्ष गर्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ । तर पैसालाई मात्र ठूलो ठान्नु हुँदैन ।
हामी हुनेखाने मान्छे हौँ, हामीले चाहेअनुसार बहालवालाको बसाइ हुनुपर्छ भन्ने सोँच पाल्नुहुँदैन । सोहीबमोजिम व्यवहार गरियो भने सम्वन्ध असहज र असन्तुलित हुनसक्छ । 

पानी उपलब्ध भएसम्म बहालवालालाई पानीको सुविधा दिनुपर्छ । पानी नदिनु वा रोकावट गर्नु अमानवीय कार्य हो । बहालमा बस्नेहरूको कोठामा पाहुना आएका छन्् भने बहालवालालाई हाँसेर सम्झाउनुपर्छ– पानी अलि कम खर्च गर्नुहोला, पाहुलालाई पनि सम्झाउनुहोला भनेर ।

पाहुना आउँदा नझर्किने

शहरबाहिरबाट शहर आउनेहरूमध्ये कतिपयका आफन्त र इष्टमित्र हुन्छन् । जसलाई आफन्त र इष्टमित्रकोमा घरायसी वातावरणमा बस्दा अर्कै आनन्द हुन्छ । कतिपयको आफन्त र इष्टमित्र नभएपछि होटल वा लजमा बस्नुपर्ने बाध्यता हुन्छ । बहालवालाका आफन्त वा इष्टमित्र आउँदा कुनै पनि घरबेटी झर्किने र रिसाउने काम गर्नु उचित होइन । बाध्यता नपरी कोही पनि शहर आउँदैनन् । 

जडित सामान मर्मत गर्ने

कमोड, बेसिन, पाइप, टुटी र बत्तीका सामानहरू बिग्रिएमा मर्मतका लागि बहालमा बस्नेहरूलाई खर्चको भार बोकाउनुहुँदैन । त्यसका लागि घरबेटीले नै मिस्त्री बोलाउनु र ज्याला दिनु मनासिव ठहर्छ । 

चन्दा माग्नेलाई सहयोग

घरमा साधु, बिरामी, सामाजिक संस्थाहरू आर्थिक सहयोग वा चन्दा माग्न आएमा उनीहरूलाई सहयोग गर्ने कर्तब्य घरबेटीको हुन्छ । आफ्नो कर्तब्य भुलेर बहालमा बसेकालाई यो भार बोकाउनुहुँदैन । 

बेलुका मूलगेट बन्द गर्ने

बहालमा बस्नेहरू कर्मचारी, व्यापारी, विद्यार्थी जो पनि हुनसक्छन् । ब्यापार, ब्यवसाय गर्नेहरू कोठामा बेलुकी अबेर आउन सक्छन् । त्यस्तै विद्यार्थी र कर्मचारी चाँडो आउँछन् । त्यसैले ब्यवसाय गर्नेहरू आइसकेपछि घरको मूलगेट घरबेटीले नै बन्द गर्नु राम्रो हुन्छ । कथंकदाचित राति अबेर आउने अवस्था भएमा बहालमा बस्ने सदस्यहरूमध्ये कसैले मूलगेट बन्द गर्दा उपयुक्त हुन्छ । 

सबमिटर अनिवार्य गर्ने

एउटा फ्ल्याटमा दुई परिवार बस्ने गरेको अवस्थामा दुई परिवारलाई अलगअलग सबमिटरको ब्यवस्था गर्दा राम्रो हुन्छ । नत्र बहालवालाहरूबीचमा विद्युतको युनिट र हिसावकै कारण विवाद उत्पन्न हुनसक्छ र घरबेटीलाई समेत दिक्क लाग्ने हुन्छ । बालबच्चालाई कोठाको भित्तामा जथाभावी लेख्न र कोर्न दिनुहुँदैन । उनीहरूलाई आवश्यकताभन्दा बढी चकचक गर्न पनि दिनुहुँदैन । भाडा तिरेर बसेको त हो नि भनेर कोठा र बरण्डामा जथाभावी तथा अशोभनीय कृयाकलाप गर्नुहुँदैन । शान्त वातावरणमा रहेर दैनिक कृयाकलाप गर्नाले घरबेटी प्रसन्न हुनेहुँदा यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । माथिल्लो तलामा बस्ने घरबेटीलाई दिक्क हुनेखालका कृयाकलापहरू गर्नुहुँदैन । समयमा खाने र समयमा सुत्ने अनि समयमा उठ्ने बानी बसाल्नुपर्छ । बहालवाला कोठामा रहँदा आफू ठूलो स्वरमा बोल्ने गर्नुहुँदैन र बालबच्चाहरूलाई पनि ठूलो स्वरमा नबोल्नु भनेर सम्झाउनुपर्छ । साथै अडियो÷भिडियो पनि सानो आवाजमा सुन्नुपर्छ । 

बहालवालाले घरबेटीको बगैँचामा बालबच्चाहरूलाई जथाभावी खेल्न दिनुहुँदैन । उनीहरूलाई गमलामा रहेका फूलहरू नटिप्नु र पातहरू नचिमोट्नु भनेर सम्झाउनुपर्छ । राति अबेरसम्म बाहिरै रहने र मदिरा सेवन गरेर कोठामा आउने अनि घरबेटीको निद खल्बलाइदिने जस्ता कार्य बहालवालाले गर्नुहुँदैन । यसतर्फ विशेष ध्यान दिनु कुनै पनि बहालवालाको कर्तब्य हुनआउँछ ।

गर्नै नहुने अर्को कुरा

चुरोटका ठुटाहरू बाथरुमको कमोड र बेसिनमा फालिदिनुहुँदैन । साथै कमोडमा साबुन पानी हाल्नु पनि हुँदैन । किनकि साबुनकै कारण सेफ्टी ट्यांकीमा रहने किराहरू नमर्ने हुँदा फोहोर कुहिँदैन । कहिले घरबेटीबाट बहालवालाले र बहालवालाबाट घरबेटीले कुनै पनि सहयोग लिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा सहृदयतापूर्वक सकारात्मक सोँचका साथ सहयोग आदान–प्रदान गर्नुपर्छ ।

कोही–कोही घरबेटीले घर बनाउँदा लिएको ऋणको किस्ता र ब्याज तिर्नुपर्ने हुन्छ । भनेको समयमा भाडा प्राप्त नभएमा घरबेटीलाई तनाव हुन्छ । भनाभन भएमा सम्वन्ध बिग्रन्छ र बहालवालाले कोठा वा फ्ल्याट छोडेर गएपछि घरबेटीले नयाँ मान्छे कस्ता आउने हुन् भन्ने चिन्ता रहन्छ । यसतर्फ पनि बहालवालाले सोच्नुपर्ने हुन्छ । कसैकसैले कोठा भाडा महिनाको शुरुमै लिने गरेको पाइन्छ भने कसैले महिना समाप्त भैसकेपछि मात्र माग्ने गरेको हुन्छ । भाडा घरबेटीले माग्नुपर्ने अवस्था आउन दिनुहुँदैन । भाडा दिनुपर्ने समयमा आफैले जानेर दिनु राम्रो हुन्छ । 

एकअर्कामा विश्वास

कहिले घरबेटी कतै तीर्थयात्रा भ्रमणमा जाँदा बहालवालालाई घरको पुरै साँचो दिएर जानुपर्ने पनि हुन्छ । किनकि घरबेटीकोमा कोही पाहुना मान्छे आउने र बस्ने पनि हुनसक्छन् । त्यस्तै बहालमा बस्नेले पनि कोठा छोडेर कतै भ्रमण आदिमा जानुपर्दा घरबेटीलाई साँचो छोडेर जानुपर्छ । किनकि बहालमा बस्नेका पनि कोही कोठामा बस्ने गरी आउनसक्छन् । घरवालाको सवारी साधन छ भने भाडामा बस्नेका छोराछोरीलाई विद्यालय वा कलेज जाँदा लिफ्ट दिनुपर्छ । त्यस्तै बहालमा बस्नेको सवारी साधन छ भने घरबेटीका छोराछोरीलाई त्यसरी नै सहयोग गर्दा राम्रो हुन्छ । तर निस्कँदाको समय भने एउटै हुनुपर्छ ।

घरबेटीले पनि उपलब्ध भएसम्म पर्याप्त पानी दिनुपर्छ । बहालवालाले पुग्ने किसिमले मात्र पानीको खर्च गर्नुपर्छ । गाउँघरका २४ सै घण्टा बग्ने धाराको पानी झैँ ठान्नुहुँदैन । हरेक घरमा पानी आपूर्तिको लागि मिटर जडान गरिएको हुन्छ । घरबेटीले हरेक महिना पानीको महसुल बुझाउनुपर्ने हुन्छ । 

लेखकको उदाहरणीय अनुभव

यो लेखक २०४०–४१ सालमा ललितपुरको सातदोबाटोमा १२५ रुपैयाँ भाडा तिरेर एउटा कोठामा बसेको थियो । २०४० देखि २०६९ सालसम्म २९ वर्षको अवधिमा १२ ठाउँ डेरा वा कोठा सर्नुपर्‍यो । कुनै पनि घरबेटीसँग सम्बन्ध बिग्रेको इतिहास छैन । आफ्नो बाध्यतामा कोठा सर्दा घरबेटीले आँसु नै झारेको सम्झना अझै पनि छ । जहाँजहाँ भाडामा बसियो घरबेटीसँग सरल र सहज वातावरणमा दिन, महिना र वर्षहरू गुजारियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू