दुई ठूला दलको मिलन मनोमानीका लागि होइन : मन्त्री पाण्डे

दुई ठूला दलको मिलन मनोमानीका लागि होइन : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार विपक्षी दलसँग पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

मुलुकका विद्यमान समस्या समाधान गर्न दुई ठूला दल मिलेको दाबी गर्दै उनले त्यसमा अन्य पार्टीहरुको पनि साथ र समर्थन रहने विश्वास व्यक्त गरे । नेपाल पर्वतारोहण संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएपछि कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको जिकिर गरे । 

उनले दुई ठूला दलको सहकार्य मनोमानी र सिण्डिकेट खडा गर्न नभई समस्या समाधान गर्ने उद्धेश्यबाट प्रेरित रहेको पनि बताए । 

‘नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु स्वभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिष्पर्धी पार्टीहरु हुन् । तर हामीले देशको जुन अप्ठेरो देख्यौं । जुन खालको जटिलता देख्यौं । समस्याहरुको आकार देख्यौं । हामी एक ठाउँमा उभिन तयार भयौं', मन्त्री पाण्डेले भने, 'एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । केवल दुई पार्टीको मनोमानी र सिण्डिकेट कायम गर्ने होइन ।'

राष्ट्रिय एकताको बाटोबाट मुलुकलाई स्थिर शासन दिने र गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा सरकार प्रयत्नशील रहेको उनको भनाई छ । 'यो प्रक्रियामा हामी माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं', मन्त्री पाण्डेले भने । 

 देश बचेमात्र राजनीति बच्ने भएकाले एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यसतर्फ सबैले सोच्नुपर्ने बताए ।

टिप्पणीहरू