ज्ञापनपत्र बुझेपछि मन्त्रीद्वारा सल्लाघारी जग्गाको निरीक्षण

ज्ञापनपत्र बुझेपछि मन्त्रीद्वारा सल्लाघारी जग्गाको निरीक्षण
सुन्नुहोस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भक्तपुरको सल्लाघारीस्थित एक सय ८ रोपनी जग्गाको स्थलगत निरीक्षण गरेका छन् । 

नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि भक्तपुर नगरपालिकाले माग गरेपछि आज उनले जग्गाको अवस्था बुझ्न त्यहाँको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री अधिकारीले विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपभोग गर्न दिने विषयमा आफू सकारात्मक रहेको बताए । 

जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापनको विषयमा ट्रष्ट र नगरपालिकाबीच आपसी समन्वय, सहकार्य र छलफल गरी अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले जग्गा अतिक्रमण हुनबाट रोक्नमा जोड दिए । मन्त्री अधिकारीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिका लागि सरकारले ढिलाई गर्न नहुने धारणा पनि राखे ।

 

जग्गाको निरीक्षणपश्चात् उनले भक्तपुर नगरपालिकासहित ख्वप कलेजको पनि अवलोकन गरेका थिए । नगरपालिकाका मेयर सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतले मन्त्रीको स्वागत गरेका थिए । मेयर प्रजापतिले शैक्षिक संस्था सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले जोड दिदैँ आएको जनाउँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको बताए ।

 

भक्तपुर नगरपालिकाले लामो समयदेखि ख्वप विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ । सोही क्रममा हिजो सांसद प्रेम सुवाल, मेयर प्रजापतिसहितको टोलीले भूमि मन्त्रालय पुगेर विश्वविद्यालय स्थापनाका लागि सल्लाघारीस्थित एक सय ८ रोपनी जग्गा उपलब्ध गराइदिन मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

टिप्पणीहरू