धुलिखेल : घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे

धुलिखेल : घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे

अरनिको राजमार्गमा धुलिखेल–खावा सडकखण्डको यात्रा गर्दा सर्वसाधारणले लामो समयदेखि निकै सास्ती भोग्दै आएका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने सडकका खाल्डाखुल्डीले सवारी साधन गुडाउन हम्मे हम्मे पर्न थालेको छ । 

त्योसँगै प्रायः गइरहने पहिरोले यात्रालाई थप जोखिमपूर्ण बनाएको छ । बर्खायाममा ज्यानै जोखिममा राखेर सडक पार गर्न सर्वसाधारण बाध्य भएका छन् । निर्माण पक्षको काममा ढिलासुस्ती र लापरबाहीका कारण पनि यो अवस्था निम्तिएको हो ।

धुलिखेल–खावा सडकखण्ड मर्मतको ठेक्का काठमाडौंस्थित गौरीपार्वती निर्माण सेवाले लिएको लिएको हो । तर, कम्पनीले कामप्रति तदारुकता नदेखाउँदा मर्मत कार्यको समयसीमा सकिएपनि सडकको हालत उस्तै छ । 

काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासासम्म पुग्न सकिने सो सडक मुलुककै एक प्रमुख व्यापारिक मार्ग पनि हो । केही वर्षयता जीर्ण बन्दै गएको यो सडकलाई १२ मीटरको फराकिलो बनाई कालोपत्र गर्ने भनियो । 

सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालय भक्तपुरले नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमीटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ । 

सोहीअनुसार सडक स्तरोन्नतिसहित विस्तारका लागि डिभिजन कार्यालय र निर्माण पक्षबीच सम्झौता भएको हो । यसका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरियो । २०७९ जेठ २० गतेदेखि २०८० चैत १९ गतेभित्र काम सम्पन्न गर्ने भनियो । 

सडक मर्मतका लागि ठेकेदार कम्पनीको आग्रहमा सम्बन्धित निकायले पटकपटक सवारी आवागमन बन्द गराएपनि अझै काम सकिएको छैन । जबकी सम्झौताअनुसार गत चैतमै काम सकिनुपर्ने हो । अहिलेसम्म जम्मा २० प्रतिशत मात्र काम सकिएको बताइन्छ । 

यो सडक बनाउन थालिएको साढे दुई वर्षभन्दा बढी भइसकेको छ । तर, अवस्था उस्तै छ । ठेकेदारले काममा ढिलाई गर्दा सर्वसाधारण मात्र मर्कामा परेका छैनन् । सडक छेउमा व्यवसाय गर्दै आएका होटलहरु पनि पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् । सडक बन्द भएपछि ग्राहक नआउँदा कतिपय होटल बन्द भइसकेका छन् ।

टिप्पणीहरू