रास्वपा दुईदलीय प्रणालीविरुद्ध मोर्चाबन्दी र वैकल्पिक शक्तिहरुको सहकार्यमा विश्वस्त

रास्वपा दुईदलीय प्रणालीविरुद्ध मोर्चाबन्दी र वैकल्पिक शक्तिहरुको सहकार्यमा विश्वस्त
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित दुईदलीय प्रणालीविरुद्ध मोर्चाबन्दीको आह्वान गरेको छ । 

सत्ता साझेदार दुई ठूला दल नेपाली काँग्रेस र एमाले दुईदलीय प्रणालीको पक्षमा रहेको चर्चा चलिरहँदा रास्वपाले विचार मिल्ने दल, शक्ति, समूह र व्यक्तिलाई ध्रुवीकरण प्रक्रियामा सामेल हुन अपिल गरेको छ । पार्टीको प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिहरु ढिलो–चाँडो सहकार्यका लागि एकै ठाउँमा उभ्याउने उल्लेख छ । 

‘सरकार सहयात्री नेपाली काँग्रेस र एमालेले मलुकलाई दुईदलीय व्यवस्थामा लैजाने प्रपञ्च गरिरहेकाले राजनीतिक ध्रुवीकरणको आधार बन्दै गएको छ । व्यवस्थापकीय सुधार र राजनीतिक स्थिरताको बहनामा उनीहरू साना दलको अस्तित्व मेटाउने योजनामा छन्,’ प्रतिवेदनमा भनिएको छ,’ ‘सम्भावित यो कदमले वैकल्पिक राजनीतिक शक्ति बन्न चाहने नयाँ दल र शक्तिहरुलाई ढिलो–चाँडो सहकार्यका लागि एकै ठाउँमा ल्याउन सक्छ ।’

राष्ट्र, राष्ट्रियता र जनजीविकाका मुद्दामा सहकार्यसहित लोकतान्त्रिक अभ्यासविरुद्ध हुनसक्ने चलखेल र राज्य सृजित विकृति–विसंगतिको खबरदारीका लागि सार्थक मोर्चाबन्दी जरुरी रहेकोमा जोड दिँदै लामिछानेले प्रतिवेदनमा लेखेका छन्, ’त्यसैले वाद र बिचारको संकीर्णता नरहेको दल, शक्ति, समूह र व्यक्तिलाई ध्रुवीकरण प्रक्रियाबारे गहन छलफलका लागि आह्वान गर्दछु ।’ 

रास्वपाले पुराना राजनीतिक दलप्रति मिश्रित दृष्टिकोण राखेको छ । राजनीतिक प्रतिवेदनमा विगतमा राजनीतिक परिवर्तनका लागि उनीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै वर्तमानका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाइएको छ ।

 

‘राजनीतिक व्यवस्थापन शासन–सत्ता सञ्चालन र जनआकांक्षा सम्बोधनमा अनेकौं कमजोरी गरेका छन् । राजनीतिक अस्थिरता, दलहरुप्रतिको अविश्वनीयता र नागरिकमा निराशा बढाउन उनीहरु नै जिम्मेवार छन् । राजनीतिक विकृति–विसंगति, देश–जनताको अविकास र अनियमितता–भ्रष्टाचारका कारण पनि तिनै हुन् । चरम सत्ता स्वार्थ अस्वस्थ प्रतिष्पर्धा र अनैतिक राजनीतिले मुलुकबाट युवा र आशा समेत लाखातेका कारण हामीले उनीहरुको खरो आलोचना गर्दै आएका छौँ’, प्रतिवेदनको ‘संघर्ष, सहकार्य र ध्रुवीकरण’ उपशीर्षकमा उल्लेख गरिएको छ, ‘तर, राजनीतिक परिवर्तनका लागि ति दलहरुले गरेको लामो संघर्ष, नेताहरुले खेपेको दुःख–कष्ट र कार्यकर्ताको बलिदानी भावनाको उच्च प्रशंसा गर्दछौँ । उनीहरुको अगुवाइमा भएको परिवर्तनले हामीलाई जन्मिने, हुर्कने बढ्ने तथा हाकाहाकी उनीहरुकै आलोचना गर्ने वातावरण दिएको छ यसकारण पनि उनीहरु धन्यवादका पात्र हुन् ।’ 

गौरवपूर्ण विगत हुँदाहुँदै पनि अन्योलपूर्ण वर्तमान र अनिश्चित भविष्यको कारक शक्तिका रुपमा पुराना पार्टीलाई चित्रित गर्दै प्रतिवेदनमा थप भनिएको छ, ‘राजनीतिमा इतिहासको ‘ब्याज’ भन्दा वर्तमानको कर्म बलशाली हुन्छ, हुनुपर्छ ।’

पुराना राजनीतिक दलका वैचारिक पक्षसँग नभई उनीहरुका कर्म र मुद्दाका आधारमा नजिक–टाढा हुने नीति रास्वपाले लिएको छ । त्यसैकारण उनीहरुले अङ्गीकार गरेका विचारका आधारमा नभई मुद्दाका आधारमा संघर्ष र सहकार्य निर्धारण गर्ने उसको नीति छ । 

‘हाम्रो असन्तुष्टि तिनले अंगालेको वाद र विचारमा होइन, तिनको अकर्मण्यतामा हो । मुलुक बर्बादीको भूमिकाका लागि हो’, प्रतिवेदनमा उल्लेख छ । अहिलेको राजनीतिक प्रणाली स्वीकार गरेका सबै राजनीतिक दलसँग मुद्दगत रुपमा सहकार्यको ढोका खुला राखेको रास्वपाले चुनावी गठबन्धन भने नगर्ने स्पष्ट नीति लिएको छ । 

प्रतिवेदनमा रास्वपालाई ‘वाद’ र ‘विचारको संकीर्णतामा नरहेको, देश र जनताको हितलाई केन्द्रमा राख्ने तथा गुण र दोषका आधारमा सहकार्यको नीति लिएको राजनीतिक शक्तिका रुपमा अर्थ्याईएको छ ।

टिप्पणीहरू