दुर्गा प्रसाईंका कार्यकर्ता मसाल जुलुसको तयारीमा

दुर्गा प्रसाईंका कार्यकर्ता मसाल जुलुसको तयारीमा

विवादित मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानले बृहत प्रदर्शनको घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतबाट प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारीको विरोधमा आजबाट चरणबद्ध आन्दोलन गर्न लागिएको जानकारी दिइएको छ । 

आज देशैभर विरोध सभा र राँकेजुलुस कार्यक्रम राखिएको छ । भोलिदेखि चक्काजाम, विरोध सभा र धर्नालगायतका कार्यक्रम गरिने महाअभियानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

‘आज मिति २०८१ असोज ३ गते देशैभर विरोध सभा, राँकेजुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गतेबाट देशैभर चक्काजाम, विरोध सभा, धर्नालगायतका कार्यक्रम अघि बढाउनुहुन सबै नगर, जिल्ला, अञ्चल तथा केन्द्रीय पदाधिकारीज्यूहरुलाई यसै विज्ञप्तिमार्फत् हार्दिक आह्वान गर्दछौं’,विज्ञप्तिमा उल्लेख छ । 

अदालतले हिजो प्रसाईंसहित सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेपछि विद्युतीय कारोबार ऐनको कसूरमा अनुसन्धानका लागि प्रहरीले अनुमति मागेको थियो ।

टिप्पणीहरू