निर्माणसम्बन्धी मापदण्ड पूरा नगरे पटके कारवाही

निर्माणसम्बन्धी मापदण्ड पूरा नगरे पटके कारवाही

काठमाडौं महानगरपालिकाले निर्माण कार्यमा तोकिएको मापदण्ड पूरा नगर्नेलाई पटके जरिवाना गर्ने भएको छ । 

महानगरले सूचना जारी गर्दै आर्थिक ऐन, २०८१ बमोजिम मापदण्ड विपरित निर्माण कार्य गर्नेलाई कारवाहीस्वरूप जरिवाना तिराउने जानकारी गराएको छ । जसअनुसार सडकमा निर्माणजन्य फोहोरमैला फाल्ने वा थुपार्नेले पहिलो पटक २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । दोस्रो पटकदेखि ५० हजार रुपैयाँ तिराइने महानगरको भनाइ छ । 

यस्तै, सवारीसाधन वा व्यक्तिले सडकमा माटो, बालुवा वा हिलो खसाले पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । अनुमतिबिना सडकपेटी अतिक्रमण गरी निर्माण सामग्री राख्नेका लागि १५ हजारदेखि ५० हजार रुपैयाँसम्म तोकिएको छ । 

निर्माण कार्य गर्दा तोकिएको सामान्य मापदण्ड पूरा नगरेमा वा स्वीकृति नलिई सडक तथा फुटपाथ खनेमा ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ । धुलो उड्ने गरी सार्वजनिक सडक तथा भवनको निर्माण तथा मर्मत गर्न पाइने छैन । 

निर्माण कार्य भैरहेको स्थानमा 'नो इन्ट्री' लेखिएको सूचना नराखेमा, निर्माणस्थल छेकबार नगरिएमा वा भवन जाली नराखिएमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने महानगरले जनाएको छ ।

टिप्पणीहरू