संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, शीर्ष नेताको यौटै श्वर

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, शीर्ष नेताको यौटै श्वर

आज संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै छ । तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगहरुले आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । 

संघीय सरकारले बिहान सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायतको विशेस उपस्थिति थियो । 

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै, सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएको थियो भने हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको थियो । संविधान दिवसको खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति हुँदैछ । 

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ९ वर्ष पूरा भएको छ । नेपाली जनताको सात दशक लामो सङ्घर्ष र बलिदानको जगमा गठन भएको संविधानसभाबाट वि.सं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देश जारी गर्नुभएको छ । 

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रता उपभोग गरेर भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । संविधानले सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाती र धर्ममा आस्था राख्नेहरुको भावनालाई संरक्षणना गर्दै नागरिकलाई अधिकार सम्पन्न बनाएको प्रधानमन्त्रीको भनाई छ । 

‘दशकौं लामो संघर्ष र सयौंको बलिदानपछि जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान हो’, उहाँले भन्नुभएको छ, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ । सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना !’

एमाले अध्यक्षसमेत रहनुभएका ओलीले संविधान प्राप्तिका लागि पुरानो पुस्ताले भोगेको कष्ट स्मरण गराउँदै नयाँ पुस्ताले त्यो बिर्सन नहुनेमा जोड दिनुभएको छ । ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन, यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा माम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ’, उहाँले भन्नुभएको छ । 

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान प्राप्तिका लागि भएका ऐतिहासिक आन्दोलनहरुमा ज्यान गुमाउने शहीदप्रति श्रदाञ्जली व्यक्त गर्नुभएको छ । अराजकता र निरकुंश सोचविरुद्ध नेपाली जनतालाई एकताबद्ध गर्न संविधान दिवस मनाउन आवश्यक रहेको उहाँको धारणा छ । 

‘देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपुर्याउन महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनमा हजारौ नागरिकले प्राण उत्सर्ग गरेका छन्’, पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, ‘ती महान शहीदहरुप्रति म हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु । वेपत्ता योद्धाहरु, घाइते तथा अपांगहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।’ 

देश अहिले चुनौतीपूर्ण र अवसरयुक्त मोडबाट गुज्रिरहेको बताउँदै प्रचण्डले संविधान कार्यान्वयनका लागि सबैलाई एकतावद्ध हुन आह्वान पनि गर्नुभएको छ । ‘यसलाई अझै सुदृढ गर्न अघि बढ्नु हामी सबैको जिम्मेवारी हो । संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनमा बाँकी रहेका कामहरुमा अझै तदारुकताका साथ कार्यान्वयन गर्न उत्प्रेरण मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’, उहाँले जारी गरेको भिडियो सन्देशमा भनिएको छ ।   

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि संविधान दिवसको अवसरमा शुभकामना दिनुभएको छ । संविधानले जनताको हकअधिकार सुनिश्चित गरेको बताउँदै उहाँले सबै मिलेर संरक्षण गर्नुपर्ने बताउनुभयो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिँदै देउवाले भन्नुभएको छ, ‘आजको दिन संविधानको सफलतासँगै देशको समुन्नतिलाई पनि सुनिश्चित गर्ने सङ्कल्प जरूरी छ ।’

संविधान निर्माणपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको धारणा छ । संविधानको रक्षा गर्दै समाजवाद स्थापनाका लागि जनतालाई साथमा लिएर राजनीतिक दलहरुले अगुवाई गर्नुपर्नेमा उहाँले जोडसमेत दिनुभएको छ । 

‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ’, अध्यक्ष नेपालले भन्नुभएको छ, ‘जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्दै समाजवाद स्थापना गर्न सकिन्छ ।’
 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको दिनलाई परिवर्तन संस्थागत भएको दिनको रुपमा लिनुभएको छ । संविधानलाई थप समृद्ध र जनमैत्री बनाउनुपर्ने उहाँको मत छ ।

‘रास्वपाको राष्ट्रिय भेलाले संवैधानिक सुधारका लागि केही प्रस्ताव अघि सारेको छ । ती प्रस्तावमा सार्वजनिक छलफल खुला गरेका छौं’, रविले भन्नुभएको छ ।

टिप्पणीहरू