पुरस्कार रकम बिरामी सम्पादकको उपचारमा

पुरस्कार रकम बिरामी सम्पादकको उपचारमा
सुन्नुहोस्

समाजवादी प्रेस संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । दृष्टि मिडियाका अध्यक्ष एवम् दृष्टि साप्ताहिकका सम्पादकसमेत रहेका उनलाई सम्मान पत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

स्वर्गीय वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेण्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको उक्त पुरस्कार यो वर्ष श्रेष्ठलाई प्रदान गरिएको हो । भक्तपुरको भादगाउँ होटलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सो रकम संगठनका संस्थापक तथा इटहरीबाट प्रकाशित ‘गणराज्य’ साप्ताहिकका सम्पादक पिवी दियालीको स्वास्थ्योपचारमा खर्च गर्ने घोषणा गरे ।

यता, करेण्ट पब्लिकेशनले पनि पत्रकार दियालीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । इटहरीका सक्रिय पत्रकार दियालीको दुवै मिर्गौला फेल भएपछि उनी उपचारका निम्ति आर्थिक सहयोगको पर्खाइमा थिए । उनको वीर अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको छ ।

टिप्पणीहरू