उपसभामुखसहित सात सांसदविरुद्ध गृह मन्त्रालयमा उजुरी

उपसभामुखसहित सात सांसदविरुद्ध गृह मन्त्रालयमा उजुरी
सुन्नुहोस्

उपसभामुख इन्दिरा राना मगरसहित विभिन्न प्रकरणमा जोडिएका आधा दर्जन सांसदलाई कारबाहीको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । 

सुशासनको पक्षमा वकालत गर्ने भनिएका र समाजिक सञ्जालमा चर्चा कमाएका सिन्धुलीका युवराज सफलले 'विवादास्पद सांसदहरुमाथि छानविन गरी कारवाही गराई पाउँ' भन्दै लिखित उजुरी हालेका हुन् । गृहमन्त्रीलाई सम्बोधन गरिएको र २३७० दर्ता नम्बर रहेको उजुरीमा सांसदहरुको नाम र उनीहरु जोडिएका काण्डबारे उल्लेख गरिएको छ । 

उपसभामुख रानामाथि मानव तस्करी तथा मानव बेचबिखनको कसूरमा छानविन हुनुपर्ने युवराजको माग छ । सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोगको आरोप लागेका पूर्वमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेउपर पनि तत्काल छानविन गर्न र दोषी ठहरिए हदैसम्मको कारवाही गर्न माग गरेका छन् । 

त्यस्तै, रातो पासपोर्ट बिक्री तथा सहकारी ठगीको आरोप लागेका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा एमाले सचिव योगेश भट्टराईसहित सहकारी ठगीमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, रास्वपा उपसभापति डिपी अर्याल र एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि छानविन गर्न उजुरीमा माग गरिएको छ । 

गम्भीर प्रकृतिका यस्ता आरोप बोकेर निजहरु सांसद रहिरहँदा संसदको गरिमामा आँच पुग्ने उल्लेख गर्दै युवराजको उजुरीमा सातै जनालाई तत्काल पक्राउ गरी सत्यतथ्य छानबिन र दोषी ठहर भए कारबाही गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरिएको छ । 

‘प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निम्न सदस्यहरु निम्न कसुरमा अनुसन्धानको दायरामा आएका हुँदा निजहरु आफूलाई लागेका आरोप यथावतै रहँदा प्रतिनिधिसभामा बस्दा प्रतिनिधिसभाको गरिमामा समेत आँच आउने हुँदा तत्काल आरोपितहरुलाई नेपालको संविधान २०७२, मुलुकी अपराध संहिता २०७४, हातहतियार तथा खरखजाना ऐन २०१९, नियमावली २०२८, सहकारी ऐन, संगठित अपराध र ठगी कसुरमा अनुसन्धान गर्न तत्काल पक्राउ गरी निजहरुउपर लागेको आरोपको सत्यतथ्य छानबिन गरी दोषी देखिएमा हदैसम्मको कानूनी कारबाही गर्नहुन माननीय गृहमन्त्रीज्यूसमक्ष प्रस्तुत निवेदन पेश गरेको छु’, उजुरीमा उल्लेख छ ।

 

टिप्पणीहरू