अन्नपूर्ण न्यूरो अस्पताललाई महानगरको सातदिने अल्टिमेटम

अन्नपूर्ण न्यूरो अस्पताललाई महानगरको सातदिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताललाई फोहोरमैला व्यवस्थापन अवस्थामा सुधार गर्न सात दिनको समय दिएको छ । महानगरले अनुगमनको क्रममा अस्पतालको फोहोरमैला व्यवस्थापनको अवस्था अव्यवस्थित पाएपछि सुधार्न उक्त अवधि तोकिदिएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोली हिजो अस्पताल पुगेको थियो । टोलीले अस्पतालको फोहोर उत्पादनस्थल, उत्पादन हुँदा वर्गीकरण, फोहोर जम्मा गर्ने तथा जम्मा भएको फोहोर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानिकारक फोहोरको अवस्था हेरेपछि उक्त निर्णय गरिएको बताइन्छ ।

महानगरका अनुसार अस्पतालको फोहोरमैला व्यवस्थापनको अवस्था हेरेको तेस्रो वर्ष हो । दोस्रो वर्षपछि महानगरले स्वास्थ्य सेवा विभागको समन्वयमा समस्या देखिएका अस्पतालबाट फोहोर व्यवस्थापनका फोकल पर्सनलाई जम्मा गराएर तालिम पनि दिएको थियो । तालिममा अन्नपूर्ण अस्पतालको तर्फबाट दुई जनाले भाग लिइसकेका छन् ।

तर, फोहोर व्यवस्थापनका लागि अस्पतालले आफ्नो कार्ययोजना नबनाएको महानगरले जनाएको छ । अस्पतालको आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा फोहोर वर्गीकरणमा एकरुपता नदेखिएपछि महानगर उक्त निर्णयमा पुगेको हो । 

अस्पतालमा फोहोर संकलन केन्द्र भूमिगत तलामा राखिएको छ । जुन पार्किङ्ग प्रयोजनका लागि बनाइएको देखिन्छ । सोही कारण हानिकारक फोहोरलाई सामान्य फोहोरमा मेसिनबाट रोक्न, संक्रमित फोहोर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहोर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजनसम्बन्धी कागजपत्र पेश गर्न पनि निर्देशन दिइएको छ ।

टिप्पणीहरू