विवादित राजदूतहरु अनुमोदित, रास्वपासहित सत्तापक्षकै फरक मत

विवादित राजदूतहरु अनुमोदित, रास्वपासहित सत्तापक्षकै फरक मत
सुन्नुहोस्

संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि यसअघि सरकारले प्रस्ताव गरेका १७ राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये एक जनाको नाम अनुमोदन हुन सकेन ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदूतको स्पष्टिकरण, कार्ययोजनाका आधारमा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई बाहेक अरुको नाम बहमुतले अनुमोदन गरिएको छ । भट्टराईका शैक्षिक योग्यताका प्रमाणपत्रहरु अपुरो भएको देखिएपछि बैठकलाई सचिवालयलाई त्यसबारे तोकिएका शैक्षिक प्रमाणपत्र मगाउन निर्देशन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदूत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेका छन् । 

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा फरक मत राखेका छन् ।

अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिनाको उच्च नैतिक चरित्र नभएकाले अनुमोदन गर्न नहुने भन्दै फरक मत राखेको बताइएको छ । सांसद अधिकारीले भने भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मालाई दोहोर्याइएकोमा फरक मत राखेका हुन् । 

चारै जनाविरुद्ध समितिमा उजुरीसमेत परेको थियो।

टिप्पणीहरू