सहुलियत पसलमा ५ देखि १० रुपैयाँसम्म छुट

सहुलियत पसलमा ५ देखि १० रुपैयाँसम्म छुट

सरकारले चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको जनाएको छ । 

कम्पनीले मुलुकभरका ४२ जिल्लामा ६१ वटा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वलक्षित सहुलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने छ । काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।

 

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउने कम्पनीले बताएको छ । 

यस्तै, जिउँदो खसीबोका तथा च्याँग्रा र दुग्ध विकास संस्थानको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीको भनाइ छ । यो वर्ष कम्पनीले दशैँमा १५ सय खसीबोका र तीन सय च्याँग्रा बिक्रीमा राख्ने योजना बनाएको छ ।

टिप्पणीहरू