रैथाने शब्दार्थ विवादपछि शब्दकोष सच्याईदै

रैथाने शब्दार्थ विवादपछि शब्दकोष सच्याईदै

पछिल्लो समय चलचित्र, पुस्तक, नाटकहरुमा प्रयोग गरिएका केही शब्दका कारण नेपाल प्रज्ञा प्रतिष्ठानले तयार पारेको ‘नेपाली बृहत शब्दकोष’ विवादमा छ । रैथाने शब्दको अर्थ र वर्णविन्यासमा देखिएको विवादले द्विविधा त छ नै, शब्दकोष तयार पार्ने प्रज्ञा  प्रतिष्ठानको क्षमतामाथि प्रश्न पनि उठेको छ । 

यसबीच प्रतिष्ठानले शब्दकोष परिमार्जको प्रक्रिया अघि बढाएको छ । त्यसअघि प्रतिष्ठानले विज्ञहरुसँग सुझाव मागेको छ । आगामी पौष मसान्तसम्म लिखित सुझाव माग गर्दै भनिएको छ, ‘नेपाली बृहत शब्दकोष (२०७९)मा प्रविष्ट कतिपय शब्दार्थको बारेमा विभिन्न जाती, समुदाय, क्षेत्र, लिंग र पेशा विशेषबाट मौखिक तथा लिखित रुपमा असन्तुष्टि एंव विमति प्राप्त हुन आएकाले सो शब्दकोशमा आवश्यक परिमार्जनको प्रक्रिया सुरु गरिएको छ ।’

स्मरण रहोस्, असारमा प्रदर्शन भएको चलचित्र ‘घरज्वाइँ’मा प्रयोग गरिएको ‘रोधी’ शब्दलाई लिएर चर्को विवाद भएको थियो । चलचित्रमा ‘रोधी’ मगर समुदायको संस्कृति भएको दावीसहित दृश्य राखिएको थियो । तर, त्यसमा ‘तमु धिँ नेपाल’ले ‘रोधी’ गुरुङ समुदायको संस्कृति भएको भन्दै आपत्ती जनाएको थियो । 

यो विवाद प्रतिष्ठानसम्मै पुग्यो । र, अन्त्यमा मध्यमार्गी जवाफ दिएको थियो, ‘रोधी मगर, गुरुङलगायत पश्चिम नेपालमा बस्ने विभिन्न आदिवासी, जनजातिमा रहेको पाइएको व्यहोरा प्रमाणित गरिन्छ ।’

त्यस्तै, उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’मा प्रयोग गरिएको ‘जाँठा, ज्याँठा’ शब्दलाई लिएर पनि चर्को बहस चलेको थियो । केही समयअघि दिपकराज गिरीले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ५’ मा समाविष्ट एक गीतमा ‘कुमार, कुमारी’ शब्दले पनि सामाजिक सञ्जालमा बहस र्सिजना गरेको थियो । 

कतिपय पुस्तक र नाटकमा प्रयोग भएका रैथाने शब्दहरुको कारण पनि नेपाली बृहत शब्दकोष विवादमा आउने गरेको छ ।

 

टिप्पणीहरू