कार्यवाहक पनि बाहिरिएपछि पत्रकार महासंघमा अर्को किचलो

कार्यवाहक पनि बाहिरिएपछि पत्रकार महासंघमा अर्को किचलो
सुन्नुहोस्

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । आगामी असोज १२ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित भएपछि उनले पद त्यागको घोषणा गरेका हुन् । 

केन्द्रीय समितिमा राजीनामा पत्र बुझाउँदै महासंघलाई उनले कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि केही व्यक्तिहरु हाबी भएको आरोप लगाए । निर्वाचनलाई अनिश्चित बनाउन उनीहरुले निरन्तर प्रहार गरिरहेको विष्टको दावी छ । 

त्यस्तै, उनले क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउन जाने गलत अभ्यास महासंघमा हुकिँदै गएको गुनासो पनि पोखेका छन् । पत्रकारितासँग साइनो नभएको करिब साढे चार सय व्यक्तिलाई सदस्यका रुपमा थप्न बाध्य पारिएको उनको राजीनामा पत्रमा उल्लेख छ । 

‘विधानअनुसार महासंघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे चार सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको छ’,पत्रमा भनिएको छ,‘क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । संगठनहरुको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भीर भुल भएको स्वीकार गर्नुपर्दछ ।’

विष्टले महासंघलाई बचाउन आवश्यक पहल गर्न अपीलसमेत गरेका छन् । 

अध्यक्ष विपुल पोखरेलले तेस्रोपटक पनि निर्वाचन गराउन नसकेको भन्दै गत भदौ २४ गते राजीनामा दिएका थिए । त्यसपछि कार्यवाहक अध्यक्ष बनेका विष्टले पनि राजीनामा दिएपछि निर्वाचन अलपत्र परेको छ ।

टिप्पणीहरू