धमिरा लागेको वृक्ष मल हालेर बौरिन्छ र कमरेड ?
कहिले एमाले त कहिले कांग्रेसको वैशाखी टेकेर गत निर्वाचनपछि सत्तामा रमाइरहेको नेकपा (माओवादी केन्द्र) लाई यतिबेला बल्ल आफ्नो पार्टी बिग्रेको महसुस भएको छ । सत्ताबाट सडकमा पुगेपछि पार्टी अध्यक्ष प्रचण्ड निद्राबाट एक्कासी झल्यास्स ब्यूझिए जसरी पार्टी निर्माणमा दलबलसहित मेची–काली यात्रामा निस्किएका छन् । तीन दशकभन्दा बढी समयदेखि पार्टीको नेतृत्व गरिरहेका प्रचण्डको नेतृत्वशैली र प्रवृत्तिमाथि नै पटक–पटक प्रश्न उठिरहेको छ । माओवादी पार्टी बनाउने हो भने प्रचण्डमै रूपान्तरण आवश्यक रहेको सुझाव जारी परामर्श बैठकमा आएको छ ।
भाषण दिँदै उनले माओवादी आगामी २०८४ सालसम्म सत्तामा जाँदैन भनेका मात्र छैनन् उनले माओवादी एक्लै चुनाव लड्छ भन्नसमेत भ्याएका छन्। शुरुमा आफ्नो सत्ता रातारात किन ढल्यो भन्ने भेऊ नपाएका प्रचण्डले अमेरिकाले आफ्नो सत्ता ढलिदिएको कुरा सत्ताबाट बाहिरनुपरेको केही हप्तापछि मात्र चाल पाएका थिए । उनले यसबारे पहिल्यै भनिसकेका छन्, ‘म कति हुस्सु रहेछु ।’
पहिचानका पक्षमा लड्ने पार्टीको रूपमा स्थापित भएको माओवादी केन्द्र पार्टीभित्रको आन्तरिक सुशासन, देशको सामाजिक न्याय र समृद्धिका लागि सुस्पष्ट एजेण्डा हुँदाहुँदै पनि सत्तामा भुलेर, परिवार र द्रव्यमोहमा लाग्दा पार्टी बिग्रेको थाहा पाएर पनि आँखा चम्लिएर बस्यो । पार्टी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पार्टीका उपल्लो तहमा रहेको नेतृत्व नै सरकारको मन्त्री पद खान तँछाडमछाड गर्दै लिगलिगे दौडमा झैँ दौडिँदा अहिले पार्टीको यस्तो अवस्था भएको हो ।
जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था लगायत सबै आजका एजेण्डा माओवादीले नै अघि सारेका एजेण्डा हन् । तर यसको जस अहिले माओवादीको भागमा छैन । पार्टीभित्र मौलाएको गुटबन्टी, दादागिरी, डनवाद, लुटवाद, ठेकेदारी, सुन काण्ड, भ्रष्टाचार र नेतृत्व चाकरी–चाप्लुसीमा रमाउँदा माओवादी पार्टी जरैदेखि धमिरा लागेको बृक्ष झैँ बनेको छ । अव जरोमै धमिरा लागेको वृक्षलाई जति नै मल र पानी हाले पनि बौरिने छैन । यसको ठाउँमा नयाँ कलमी गरिएको स्वस्थ बिरुवा हुर्काउँदै र चाँडै फल दिने बनाउनुको बिकल्प छैन ।
यसका लागि अहिलेको नेतृत्वबाट सम्भव छैन । त्यसका लागि पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रलाई फल्न, फुल्न र मौलाउनु दिनुको विकल्प देखिँदैन । यसको लागि वर्षौँदेखि (तीन दशकभन्दा बढी समयदेखि) एउटै व्यक्ति पार्टीको अध्यक्षमा लिसोझैँ टाँसिएर बसिरहनु् र पार्टीलाई नदीझैँ बगेर चलायमान बनाउनुपर्नेमा पोखरीझैँ जमेर बस्नु र हात परेका उपलब्धि हराउँदै, गुमाउँदै जानु नेतृत्वको गम्भीर कमजोरी हो । यो कमजोरी पार्टीका अन्य जनवर्गीय संगठनमा मौलाउँदै जानु क्यान्सर रोगजस्तै घातक हो । प्रेस सेन्टरको वर्तमान कथित नेतृत्व गुटमा रमाउनु पनि त्यसैको उदाहरण हो ।
तसर्थ माओवादीमा अहिले सत्ता गुमेपछि पार्टी बिग्रेको भन्दै निर्माण गर्ने जुन हुटहुटी चलेको छ, यो निकै राम्रो र स्वागतयोग्य कार्य हो । यो कार्य सरकार र सत्तामा भएका बखत पनि जारी रहनुपथ्र्यो । माओवादीले अब साँच्चै मनैदेखि सुध्रिन चाहेको हो भने सरकार सञ्चालनको नेतृव एउटा र पार्टी सञ्चालनको नेतृत्व अर्कोलाई सुम्पिन ढिला गर्नु हुँदैन । पार्टी अध्यक्ष प्रचण्डको सचिवालयमा परिवारका मान्छे राख्ने कार्यको पनि अन्त्य हुनुपर्छ । यसबारे पार्टीका सबै तहका जिम्मेवार नेताले आवाज बुलन्द पार्न डराउनु हुँदैन । पार्टीका सांसदहरूले पनि आफ्नो स्वकीय सचिवमा परिवारका मानिसभन्दा बाहिरका मानिस राख्ने आँट गर्नुपर्छ । यसले सुशानमा टेवा पुर्याउँछ, भ्रष्टाचार न्यूनीकरणमा मद्दत गर्छ र बिग्रँदै गएको पार्टीको छवि पनि सुधार्छ । यो कार्यले माओवादी स्वार्थी होइन त्यागी छ भन्ने सन्देश प्रवाह हुन्छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने माओवादी केन्द्रका कार्यकर्ता पार्टी नेतृत्वको वरिपरि चक्कर काट्ने, अध्यक्षसँग एक स्न्याप फोटो खिच्ने र त्यसैको आडमा एक वर्ष गुजारा चलाउने लम्पट शैली जबरजस्त मौलाइरहेको छ । यो अन्त्य हुन जरुरी छ । माओवादी सत्तामा टिकिरहन, भोट समर्थन प्राप्तिको नाममा नेतृत्वले गलत पात्रको संरक्षण गर्नु र नेताको नजरमा इमानदारभन्दा सामन्ती, बुर्जुवा र कामचोरहरूको नक्कल गर्ने व्यक्ति अब्बल देखिनु चिन्ताको विषय हो ।
त्यस्तो मानसिकता भएपछि खुमलटारको गेटमा पालिएको कुकुरले झम्टिएर टोक्यो भने पनि कुकुरविरुद्ध प्रतिकार गर्नुको सट्टा उल्टै कुकुरलाई ‘सरी’ भनेर हिँड्नेको के राजनीतिक चेतनाको विकास र भविष्य सुनिश्चित होला र ? नेता र नेतृत्वले गरेको गलतलाई आँखा चिम्लिदिने र कार्यकर्ताले भूलवश गरेको सानो गल्तीलाई ठूलो बनाएर कारबाही गर्ने, अवसरबाट वञ्चित गर्ने शैली अन्य पार्टीमा भन्दा माओवादी पार्टीमा निकै हावी भएको छ । यो प्रवृत्तिलाई परास्त गर्न र निमिट्यान्नै पार्न के माओवादीको नेतृत्व तयार छ ? यदि यसो गर्न माओवादीमा हिम्मत छैन भने यो पार्टी अन्य दलसरह संसदीय भासमा चुर्लुम्म डुबिसक्यो, खशीको मासु भन्दै कुकुरको मासु खाइरह्यो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू