अनि माननीयहरूका आँखा रसाए

अनि माननीयहरूका आँखा रसाए

छिमेकी देश चीन जोड्ने अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको दुरवस्था देखेर सांसदहरू चकित परेका छन् ।

संसदीय समितिका तर्फबाट शंकर भण्डारी, ठाकुर गैरे, माधव सापकोटालगायत धुलिखेलदेखि कोदारीसम्मको सडक अनुगमनमा जाने क्रममा खावामा स्थानीयसँग परामर्श हुँदा तिनका आँखा रसाएका थिए । संसद्मा पटक–पटक कुरा उठाउने गोकुल बाँस्कोटाप्रति नागरिकले आक्रोश पोखे ।

तत्काल निर्माण व्यवसायीसँग ठेक्का सम्झौता तोडेर अर्काे व्यवस्था गर्न सांसदहरूले २०८० चैतमा दिएको निर्देशनसमेत अटेर गरेको भन्दै सडक विभागसँग सांसदहरू आक्रोशित बने । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम अनशन बसेर निर्माण व्यवसायीलाई फाइदा पुग्ने तर बाटो नबन्ने अवस्था सिर्जना आएको स्थानीयले बताए ।

उता, केही वर्षदेखि काठमाण्डौ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको द्वन्द्व भाद्र महिनाभित्र समाधान गर्ने गरी प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सिनेट बैठकमा जनाएको प्रतिबद्धताअनुसार धमाधम प्रयत्नका छलफल प्रारम्भ भएका छन् । संयोग पनि त्यस्तै परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमार्फत विश्वविद्यालयको दीक्षान्त सभामा गत शुक्रबार धुलिखेल आएका थिए ।

फर्कने क्रममा हेलिकप्टरमा प्राविधिक समस्या आएको देखाउँदै उनलाई लिन नेपाली सेनाको हेलिकप्टर आउनुपर्ने भयो । उक्त हेलिकप्टर ल्याण्ड गर्ने उपयुक्त स्थान भनेको धुलिखेल अस्पतालभित्रको प्रांगण हो । जहाँको हेलिप्याड नेपाली सेनाको सहयोगमा अस्पतालले निर्माण गरेको थियो । विश्वविद्यालयको दीक्षान्त सभामा मन्तव्य राखेर फर्कने क्रममा प्रधानमन्त्रीलाई धुलिखेल अस्पतालका संस्थापक प्रमुख एवं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपतिसमेत रहेका प्रा.डा.रामकण्ठ माकजुलगायतले स्वागत गरे । समारोहमा बोल्दै ओलीले भनेका थिए, ‘केही समय अघिदेखि शैक्षिक संस्था र मेडिकल क्षेत्रको संस्थाबीच देखिएका समस्या ठूला छैनन्, होइनन् । ती समस्या मिल्छन् र मिलाउनुपर्छ ।’

सिनेट सदस्यसमेत रहेका धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले दुई संस्थाबीच देखिका मतभेदलाई अन्त्य गर्न आवश्यक रहेको जानकारी गराएका थिए । सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले दुबै संस्थाका प्रतिनिधिलाई बालुवाटर बोलाएर पहिलो चरणको छलफल गरिसकिएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न सहजीकरण समिति गठन गरेको छ । समितिमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मा, पूर्वमन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बाँस्कोटा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ, प्रा.डा. सीताराम अधिकारी, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु रहेका छन् ।

विश्वविद्यालय र धुलिखेल अस्पतालबीच उत्पन्न असमझदारीका कारण दुवै संस्थाको कार्यसम्पादनमा गम्भीर असर परिरहेको समेत मन्त्रालयले जनाएको छ । सोही अवस्था अन्त्य गरी विश्वविद्यालय र अस्पताल सु–सञ्चालनका लागि दुवै संस्थाबीच विगतमा झैं सौहार्द सम्बन्ध विकासका लागि समिति गठन गरिएको हो । विश्वविद्यालय आफैँले नियुक्त गरेका कर्मचारीको राजीनामा ७ महिनादेखि लुकाएर धमाधम सोही समितिमार्फत निर्णय भैरहेको छ ।

‘पचास प्रतिशत हाराहारी मात्रै एसईईमा उत्तीर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई भनिसकेको छुु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी काम थालिसकेका छौँ ।’

– मोतीराम तिमल्सिना

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू