युद्ध लडेको पार्टीको यो हविगत

युद्ध लडेको पार्टीको यो हविगत
सुन्नुहोस्

मध्य अमेरिकाको सबैभन्दा फुच्चे, अमेरिकाको म्यासाचुसेट्स राज्यभन्दा सानो देश एल साल्भाडोर प्रशान्त महासागर, ग्वाटेमाला र होण्डुरसको बीचमा पर्छ । ज्वालामुखीहरूको भूमि भनेर चिनिने एल साल्भाडोरमा बारम्बार भूकम्प र ज्वालामुखी आउने गर्छ । यहाँको झण्डामा पनि ज्वालामुखीको संकेत राखिएको छ । योमध्ये अमेरिकाको एक मात्र देश हो जसको क्यारिबियन सागरसँग सिधा सम्पर्क छैन । करिब ६२ लाख जनसंख्या भएको देश करिब २१ हजार वर्ग किलोमिटरमा फैलिएको छ । प्रशस्त पहाडी भूमि रहेको यस देशका आधाभन्दा बढी नागरिक गाउँघरमा बसोबास गर्दछन् भने अधिकांश धनी परिवार राजधानी सान साल्भाडोरमा घर र अपार्टमेन्ट लिएर बस्छन् । करिब २५ लाख साल्भाडोरियनहरूले अमेरिकाबाट रेमिट्यान्स पठाउने गर्दछन् । क्यालिफोर्नियाको लस एञ्जलस उनीहरूको मुख्य बासस्थान मानिन्छ । धनी र गरिबबीचको दूरी निकै बढी र गरिबहरूको अवस्था एकदम कठिन छ । उनीहरूको घरमा बिजुली वा खानेपानीसमेत छैन भने हरेक दिन पर्याप्त खाना पनि हुँदैन । गरिब ग्रामीण जनताको मृत्युको प्रमुख कारण कुपोषण हो । सरकारले नवौं कक्षासम्म बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरेता पनि धेरै परिवारले अन्य खर्चसमेत ब्यहोर्न नसक्ने कारणले विद्यालय जान सक्दैनन् । 

लगभग ९० प्रतिशत साल्भाडोरियनहरू स्पेनिस र भारतीय पुर्खाहरूका वंशज मेस्टिजो छन् । नौ प्रतिशतले आफू स्पेनी मूलको भएको दाबी गर्छन् । मुख्य भाषा स्पेनिस बोलिन्छ भने यहाँको मुद्रालाई डलर नै भनिन्छ । सन् २०२१ देखि भने संसारमा नै पहिलो पटक राज्यले क्रिप्टो करेन्सीलाई आधिकारिक मुद्रा मानेको छ । 

ईशापूर्व २००० मा यस क्षेत्रमा ओल्मेकहरू आएका थिए । त्यसको पाँच सय वर्र्षपछि त्यहाँ माया सभ्यताले राज गरेको देखिन्छ जुन लामो समयसम्म चल्यो र सन् ९०० को हाराहारीमा टोल्टेक साम्राज्यले शासन चलायो । सन् १५२८ मा स्पेनीहरूले कब्जा गरेर स्थानीय मानिसलाई नोकर बन्न बाध्य पारे । सन् १८२१ मा स्पेनिस साम्राज्यबाट छुटकारा पाए पनि सन् १८४२ देखि एक पूर्ण स्वतन्त्र राज्य घोषणा भयो । यसबीच राजनीतिक अस्थिरता कति थियो भन्ने प्रमाण त्यहाँ २१ वर्र्षमा ३५ पटक राष्ट्रपति छानिएबाट पनि स्पष्ट हुन्छ । पूर्ण रूपमा स्वतन्त्र राज्य भएपछि पनि शक्ति हातमा लिन निकै छिनाझप्टी भएको देखिन्छ । त्यसपछाडि राजनीतिमा व्यापक अस्थिरता भयो । फलस्वरूप सीमित व्यक्तिहरूसँग मात्र देशको अधिकांश स्रोत र साधनमा पहुँच रह्यो । यही शक्तिले आफ्नो स्वार्थअनुसारको शासन चलाउने क्रममा सन् १९३१ सम्म ८९ वर्र्षमा ८० पटक राष्ट्रपति फेरियो । यसबीच सन् १८८५ देखि १९०७ सम्म आठ पटक अन्य पार्टीसँग मिलेर करिब २२ वर्र्ष सैनिक शासन चलेको थियो । त्यसपछि पनि केही महिनाबाहेक १९८० सम्म कहिले एकल र कहिले अन्य पार्टीसँग मिलेर सैनिकले नै शासन चलाएको थियो । 

सन् १८८० मा शुरु गरिएको भूमि सुधारले निर्यात–उन्मुख कफी–आधारित कृषिको शुरुवात हुन थालेपछि भूमि निजीकरणको कारण सामाजिक तथा आर्थिक असमानताको भू्रण रोपियो । निजीकरणको कारण समाजका सीमित धनाढ्यहरूले मात्र अधिकांश भूमि नियन्त्रणमा राख्न थाले । यो नीतिलाई सरकारले पनि बढावा दियो । यसले गर्दा गरिब भूमिहीन किसानहरूको अवस्था झन् खस्किँदै गयो । यो असन्तुलित वितरणको कारणस्वरुप नागरिकहरूमा असन्तुष्टिले सीमा नाघेर विद्रोहको रूप लिन पुग्यो । कफीको मूल्यमा तीव्र गिरावट तथा सन् १९२९ को महामन्दीको कारण जीवन धान्न नसकेका नागरिकहरूले अभिजात वर्ग र सरकारविरुद्ध आन्दोलन गर्ने वातावरण बन्यो । संसारमै चलेको वाम आन्दोलनको प्रभावमा त्यहाँ पनि मिगुएल मारमोलले १० मार्च १९३० मा कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । किसानहरूको सहभागिता बढ्दै जाँदा आन्दोलनले तीव्र गति लिँदै गयो । कम्युनिष्ट पार्टीमा आदिवासीहरूको सहभागिता उल्लेख्य रूपमा बढ्न थाल्यो । यसलाई कम्युनिष्ट–आदिवासी विद्रोहको संज्ञा दिंदै सरकारले व्यापक दमन गर्दा सन् १९३२ को जनवरी २२ र २५ को बीचमा मात्र करिब ४० हजार नागरिकको हत्या भएको आकलन छ । यसमा करिब एक सय सेनाको पनि मृत्यु भएको थियो । यसलाई इतिहासमा ला माटान्जा वा भिषण नरसंहार भनेर लेखियो । 

सन् १९७९ अक्टोबर १५ मा सैन्य राष्ट्रपति कार्लोस हम्बर्टो रोमेरोलाई युवा सैन्य अधिकारीहरूको नेतृत्वमा भएको कू बाट अपदस्थ गरी निर्वासनमा पठाइयो । यो रक्तहीन विद्रोहबाट नेशनल कन्सिलिएसन पार्टीको सरकारमा भएको पकड टुट्यो । सेनाले आफूलाई क्रान्तिकारी सरकारको रूपमा व्याख्या गर्‍यो । आफूलाई सुधारवादी शक्ति भन्दै विभिन्न राजनीतिक र आर्थिक सुधारको घोषणा गर्‍यो । तर यति नै बेला विभिन्न पार्टीमा संगठित पाँच वामपन्थी पार्टीहरूबीच सहकार्यको प्रयासस्वरूप फाराबुन्डो मार्टी नेशनल लिबरेशन फ्रन्टको जन्म भयो । यसमा फाराबुन्डो मार्टी पिपुल्स फोर्स अफ लिबरेशन, कम्युनिष्ट पार्टी अफ एल साल्भाडोर, पिपुल्स रिभोल्युसनरी आर्मी, मध्य अमेरिकी श्रमिकहरूको क्रान्तिकारी पार्टी– एल साल्भाडोर र राष्ट्रिय प्रतिरोधको नयाँ गठबन्धन बनेर सशस्त्र विद्रोहको घोषणा गर्‍यो । सन् १९३२ मा भएको विद्रोहको समयमा सक्रिय कम्युनिष्ट पार्टीका नेता अगस्टिन फराबुन्डो मार्टी रोड्रिग्वेजको सम्मानस्वरूप यो समूहको नाम राखिएको थियो । 

सन् १९८२ सम्मको सैनिक शासनकालमा करिब २० हजार विद्रोही तथा सर्वसाधारण मारिए । मानव अधिकार संगठनहरूले अनुमान लगाएअनुसार त्यसमध्ये ८० प्रतिशतभन्दा बढी सरकारी फौजबाट मारिएका थिए । सेनाको सरकारलाई अमेरिकाले विविध प्रकारको सहयोग उपलब्ध गरायो । यस क्षेत्रमा देखिएको कम्युनिष्ट विद्रोह दबाउनका लागि अमेरिका हरप्रकारले सक्रिय रह्यो । सशस्त्र युद्ध चलिरहेको बेला राष्ट्रिय गणतान्त्रिक मोर्चाले पनि देशमा सैनिक शासन अन्त्य गरी संविधानसभाको निर्वाचनका लागि आवाज उठाइरहेको थियो । विद्रोहलाई मत्थर गर्नको लागि सन् १९८२ को मार्चमा संविधानसभाको निर्वाचन गरियो र यसमा गणतान्त्रिक मोर्चाले जित हासिल ग¥यो । त्यसपछि राष्ट्रपतिको निर्वाचनबाट क्रिस्टियन डेमोक्र्याटिक पार्टीका जोश नेपोलियन दुआर्ते निर्वाचित भए । 

उनको कार्यकालको अन्त्यतिर जनवरी १९८९ मा विद्रोहीहरूसँग पहिलो पटक वार्ता शुरु भयो । त्यसपछि जुनमा सम्पन्न निर्वाचनबाट नेशनलिस्ट रिपब्लिकन अलायन्सका अल्फ्रेदो क्रिस्टियानीको जित भयो । सोही वर्र्ष डिसेम्बरमा शान्तिवार्ताको मध्यस्थताका लागि संयुक्त राष्ट्रसंघको प्रतिनिधि हुनुपर्ने प्रस्ताव आयो । सन् १९९० को अप्रिल २७ मा संविधान संशोधन, सेना र न्याय सेवा अनि निर्वाचन प्रक्रियामा परिमार्जन गर्ने तथा सत्य निवारण आयोग गठन गर्ने शर्तमा शान्ति सम्झौता अगाडि बढ्नेबारे पटक–पटक वार्ता भई सन् १९९२ को जनवरी १६ मा मेक्सिकोको चापुल्टेपेक शहरमा अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर भयो र फेब्रुअरी १ बाट युद्धविरामको घोषणा भयो । 

जुलाई १ देखि २० प्रतिशत प्रक्रिया शुरु भई डिसेम्बर १५ सम्म पाँच पटकमा सम्पूर्ण सेना समायोजन गरिएको थियो । युद्धकालमा ७५ हजारभन्दा बढी मानिस (अधिकांश गैर–लडाकू) ले ज्यान गुमाए, अर्थतन्त्र तहसनहस भएको थियो र पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । शान्ति सम्झौताले आधिकारिक रूपमा गृहयुद्धको अन्त्य गर्‍यो । सशस्त्र सेनाको ठूलो कटौती, छापामार इकाइहरूको विघटन र निशस्त्रीकरण गरी नयाँ नागरिक प्रहरी बल (पोलिसिया नेशनल सिभिल; पीएनसी) गठन भयो । युद्धताका साल्भाडोरन सशस्त्र बल र एफएलएमएनको मानव अधिकार उल्लंघनका घटनाहरू अनुसन्धान गर्न सत्य निरूपण आयोग गठन भयो । एफएलएमएन मोर्चा एक छुट्टै राजनीतिक दल बन्यो । 

त्यसपछि सन् १९९४ को पहिलो राष्ट्रपतीय निर्वाचनमा पुरानो दलका नेता आरमाँडो काल्देरोन सोलले ६८ प्रतिशत मत ल्याएर जिते भने विद्रोही पार्टीका नेता रुबिन जामोराले ३२ प्रतिशत मतमै चित्त बुझाउनुपर्‍यो । ८४ सदस्यीय सदनमा गणतान्त्रिक मोर्चाले ३९ सिट ल्यायो भने एफएलएमएनले २१ सिट पायो । त्यसको १५ वर्र्षपछाडि भने राष्ट्रपतिमा पहिलो पटक विद्रोही नेता माउरिसियो फन्सले जित हासिल गर्न सके । सन् २०१५ मा सम्पन्न अर्को निर्वाचनमा पनि अघिल्लो पटकका उपराष्ट्रपति साल्भाडोर सान्पेज सिरेन युद्धकालीन नेता तथा राष्ट्रपति चुनिएका थिए । 

सन् २०१९ पछि भने त्यहाँको राजनीतिले अकल्पनीय परिणाम व्यहोर्न परेको छ । सन् १९८१ मा एक कुलीन घरानियामा जन्मेका युवा सन् २०११ मा राजनीतिमा होमिने निर्णय गरी विद्रोही पार्टीको सदस्य बन्न पुगे । सन् २०१२ मा सम्पन्न स्थानीय निर्वाचनमा एउटा सानो नगरको प्रमुखमा निर्वाचित भए । त्यसपछि राजधानीको मेयर बने । आन्तरिक कलह भएको कारण कारबाहीमा परेपछि पार्टीबाट अलग भए । नयाँ विचार नामक आफ्नो छुट्टै पार्टी खोलेर दुई वर्र्षपछाडि सन् २०१९ मा राष्ट्रपति निर्वाचित भए । संविधानअनुसार दोहोर्‍याउन नपाउने व्यवस्था भए पनि केही समय आफ्नो मानिसलाई राष्ट्रपति बनाएर अदालतको फैसलापछि गत फेब्रुअरीमा ८४.६५ प्रतिशत मत ल्याएर दोस्रो पटक राष्ट्रपति बनेका छन् ।

उनको प्रतिद्वन्द्वी वामपन्थी पार्टी एफएमएलएनका म्यानुयेल फ्लोरेसले ६.४० र दक्षिणपन्थी पुरानो पार्टीका जोएल साँचेजले ५.७७ प्रतिशतमात्र मत ल्याउन सके । प्रत्येक तीन वर्र्षमा हुने ६० सदस्यीय सदनमा बुकालेको नयाँ पार्टीले ५४ सिट जित्यो भने सबैभन्दा पुरानो पार्टीले २ सिट मात्र हात पार्‍यो । युद्ध लडेको पार्टीको भने सदनमा उपस्थितिसमेत हुन सकेन । अहिले अन्य दुई पार्टीका तीन सांसदसहितको समर्थनमा बुकालेलाई ५७ जनाको समर्थन प्राप्त छ । सन् १९२८ देखि यता दुई वा तीन पार्टीको मात्र वर्चश्व देखिए पनि एल साल्भाडोरमा करिब २८ वटा पार्टी अस्तित्वमा आएको देखिन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू