विद्यालय नहेरी मोटरपुल हेरे राजदूतले

विद्यालय नहेरी मोटरपुल हेरे राजदूतले

भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो पटक दार्चुला र महाकालीको सीमाक्षेत्र भ्रमण गरेका छन् । दूतावासको सहयोगमा निर्माण भइरहेका विद्यालय भवन र महाकालीको मोटरपुल निरीक्षण गर्न आएका श्रीवास्तवले कुनै पनि विद्यालय भवन निरीक्षण गरेनन् । नेपाल र भारत जोड्ने मोटरपुलमा भने दुईपटक पाइला टेकेका छन् ।

भदौ २० गते अपराह्न बैतडी र दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर बजार पुगेका राजदूतलाई दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीसहित सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको गलैनाथ मावि झरकडामा भवन निर्माण निरीक्षण गर्न राजदूत पुग्ने कार्यक्रम थियो । तर, गोकुलेश्वरबाट ७ किलोमिटरको दूरीमा रहेको निर्माणाधीन विद्यालय भवनमा राजदूत पुगेनन् । बेलुकी दार्चुला सदरमुकाम पुग्नुपर्ने तालिका रहेको बताउँदै गोकुलेश्वर बजारबाट टोली सीधै महाकाली लोकमार्ग भएर खलंगातर्फ हान्नियो ।

गोकुलेश्वरमा उक्त टोलीले गलैनाथ मावि झरकडाको विद्यालय भवन निर्माणको दोस्रो किस्ताको चेक हस्तान्तरण गरेको थियो । शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले भारतीय राजदूतबाट ५४ लाख ६७ हजार ८ सय ९० रूपैयाँको चेक बुझेको बताउनुभयो । ‘विद्यालय भवन नै निरीक्षण गर्ने तालिका थियो तर समय कम भएको भन्दै सदरमुकामतर्फ टोली हिँड्यो’, निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले भन्नुभयो ।

दार्चुला सदरमुकाम खलंगाभन्दा १० किमि दक्षिणतर्फ निर्माण भइरहेको महाकाली नदीमाथिको मोटरपुलमा राजदूतको टोली हिँडेर भारततर्फ प्रस्थान गरेको थियो । टोलीलाई रिसिभ गर्न भारततर्फ धारचुलाका एसडिएम मञ्जित सिंहसहित सुरक्षा अधिकारीहरू पुगेका थिए । निर्माणाधीन मोटरपुलमा हिँडेर राजदूत श्रीवास्तवको टोली सदरमुकाम खलंगा नपुग्दै भारततर्फ गएको थियो ।

भदौ २० गते राति टोली धौलीगंगा जलविद्युत् परियोजनाको कार्यालय परिसर तपोवनको अतिथि गृहमा बस्यो । धारचुला बजारबाट २ किमि दूरीमा रहेको धौलीगंगाको कार्यालय परिसरमा राजदूतको टोलीले सीमाक्षेत्रका सुरक्षा अधिकारी र जलविद्युत् परियोजनाका अधिकारीहरूसँग भेटघाट र छलफल गरेको स्रोतले बतायो ।

सीमाक्षेत्रमा भइरहेको विकास निर्माण, सुरक्षा अवस्था र नेपाली पक्षसँगको समन्वय एवं सम्बन्धका विषयमा टोलीले भारतीय अधिकारीहरूबाट ब्रिफिङ लिएको स्रोतको भनाइ छ । नेपालतर्फ स्थानीय प्रशासनले राजदूत टोलीका लागि जिल्ला प्रहरी कार्यालय छेउको एउटा होटलमा तीन वटा भिआइपी कोठा बुक गराएको थियो । तर, टोलीले धौलीगंगा जलविद्युत् परियोजनाको अतिथिगृहलाई वासस्थान बनायो ।

भारत सरकारको ३२ करोड ८० लाख भारु लगानीमा महाकाली नदीमा मोटरपुल निर्माण भइरहेको छ । १ सय १० मीटर लामो दुई लेनको पक्की पुल दुई वर्षअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेपालका तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका थिए । मोटरपुल निर्माण अन्तिम चरणमा पुगेको छ । बिहीवार साँझ पहिलो पटक मोटरपुलको निर्माणस्थलमा पुगेका राजदूतले फोटोमा निर्माणाधीन पुल सानो देखिए पनि प्रत्यक्ष देख्न पाउँदा संरचना ठूलो देखिएको प्रतिक्रिया दिएका छन् । ‘फोटोमे तो पुलका साइज छोटासा लग रहा था, लेकिन यहाँ आ कर देखा तो बडा लग रहा है’ राजदूतको भनाइलाई उद्धृत गर्दै सुरक्षा स्रोतले भन्यो ।

राजदूत श्रीवास्तवको टोलीले गत शुक्रवार बिहान पनि मोटरपुलको निरीक्षण गरेको छ । नेपाल र भारतका अधिकारीहरूसँग राजदूतले निर्माणाधीन मोटरपुलमै छलफलसमेत गरेका छन् । दुई देश जोड्ने पहाडी क्षेत्रको पहिलो मोटरपुल भएकोले यसको निर्माण गुणस्तरीय हुनुपर्ने उनको भनाइ छ । बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा पनि महाकालीमा मोटरपुल निर्माणको गृहकार्य भइरहेको राजदूतले बताएका छन् ।

मोटरपुल निर्माणमा आपसी समन्वय गर्न र कुनै गुनासो नआउने गरी निर्माण सम्पन्न गर्न राजदूतले निर्देशन दिएका थिए । नेपालतर्फ मोटरपुलको छेउमा दुईतर्फ लिंक रोड निर्माण गर्न नेपाली पक्षले अनुरोध गरेकाले यसलाई सम्बोधन गर्न राजदूतले भनेका छन् । झण्डै २ करोड थप बजेट खर्च हुने भए पनि नेपाली पक्षको मागलाई सम्बोधन हुने गरी निर्माण अघि बढाउन राजदूतले भारतीय अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

धौलीगंगा जलविद्युत् परिसरबाट भारतीय मोटरमार्ग हुँदै टोली मोटरपुल निर्माणस्थल छारछुम पुगेको थियो । मोटरपुलमा हिँड्नुका साथै पुल अवलोकन गर्ने र प्राविधिक जानकारी लिने कार्यसमेत गरिएको छ । राजदूतको टोली मोटरपुलबाट नेपाल प्रवेश गरी सदरमुकाम खलंगा पुगेको थियो । जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यप, महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीसहित सुरक्षा अधिकारीहरूले राजदूतलाई फूलमाला र खादाले स्वागत गरेका थिए । सदरमुकाम क्षेत्रको अवलोकन गरी राजदूत दार्चुला र धारचुला जोड्ने झोलुंगे पुल तरेर भारततर्फ गएका थिए ।

राजदूतको टोलीले शुक्रवार पिथौरागढ जिल्ला सदरमुकाममा डिएम विनोद गिरी गोस्वामीसहित सुरक्षा अधिकारीहरूसँग बैठकसमेत गरेको छ । सीमाक्षेत्रको सुरक्षा स्थिति, विकास निर्माण र नेपाली पक्षसँगको समन्वयबारे राजदूतको टोलीले अधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन दिएको स्रोतको भनाइ छ । उक्त बैठकमा दार्चुला जिल्लासँग सीमा जोडिएका धारचुला र डिडिहाट तहसिलका एसडिएमहरूको पनि उपस्थिति थियो ।

भविष्यमा सीमाक्षेत्रमा निर्माण हुने र हुन सक्ने विकास परियोजनाबारे समेत टोलीले चासो राखेको छ । २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको प्रशारण लाइनमा जोडिने गरी नयाँ जलविद्युत् आयोजना निर्माण गर्नेबारे समेत गृहकार्य भइरहेको चर्चा छ । महाकाली नदी र आसपासका सहायक नदीमा नयाँ जलविद्युत् परियोजना निर्माण गरी धौलीगंगाको प्रशारण लाइनको अधिकतम उपयोग गर्ने भारतीय रणनीति छ । हाल डबल सर्किटको धौलीगंगाको प्रशारण लाइनमा २ सय ८० मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ । ४ सय केभी प्रशारण लाइनमा एक हजार मेगावाटसम्मको विद्युत् प्रवाह गर्न सकिने गरी पूर्वाधार बनाइएको छ ।

राजदूत श्रीवास्तवको टोलीले लेकम गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन लटिनाथ मावि चन्दनपुर, व्यास गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधीन हिमालय मावि हुती र दुहुँ गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको जनविकास मावि बारबाजको विद्यालय भवन निरीक्षण गर्ने तालिका थियो । तर, कुनै पनि विद्यालयमा राजदूतको टोली गएन । धनगढीबाट महाकाली लोकमार्ग हुँदै दार्चुला पुगेको राजदूतको टोली धारचुलाबाट पिथौरागढ हुँदै भारतीय मोटरमार्गबाट फर्किएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू