हजारौंलाई प्राविधिक तथा व्यावसायिक तालिम निःशुल्क

हजारौंलाई प्राविधिक तथा व्यावसायिक तालिम निःशुल्क

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले झण्डै २६ सयलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । परिषद्ले आज सूचना जारी गर्दै प्रि–डिप्लोमा तहको २४ महिने अवधिको निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिन लागिएको जनाएको छ । 

परिषद्ले दुई हजार पाँच सय ८५ जनालाई निःशुल्क तालिम दिन लागेको हो । तालिममा सहभागी हुने प्रशिक्षार्थीको कोटा प्रदेशअनुसार निर्धारण गरिएको छ । कोशीमा चार सय ३०, मधेशमा दुई सय, बागमतीमा ६ सय ५५, गण्डकीमा दुई सय ९०, लुम्बिनीमा पाँच सय ९०, कर्णालीमा एक सय ६० र सुदूरपश्चिममा दुई सय ५० जनाको कोटा छुट्याइएको छ । 

अनुमतिप्राप्त आंगिक, साझेदार तथा टीईसीएस सामुदायिक विद्यालयहरुमा प्रशिक्षार्थी छनौट गरी तालिम सञ्चालन गरिने जनाइएको छ । तालिममा सहभागी हुन चाहनेको न्यूनतम योग्यता एसएलसी वा एसईई परीक्षामा सहभागी भएको, मानसिक र शारीरिक रुपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको हुनुपर्नेछ । 

दलित, जनजाति, अपांग, मुस्लिम, मधेशी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा स्थानीय निकायको सिफारिसपत्र हुनुपर्नेछ । आवेदन दिने म्याद आजदेखि यही असोज १८ गतेसम्म तोकिएको छ । तालिममा सहभागी हुने प्रत्येक प्रशिक्षार्थीलाई प्रति हाजिरी एक सय रुपैयाँका दरले यातायात खर्च समेत उपलब्ध गराइने परिषद्ले जनाएको छ ।

टिप्पणीहरू