त्यतिबेला त्यसो भन्ने रवि अर्कै थिए ?

त्यतिबेला त्यसो भन्ने रवि अर्कै थिए ?
सुन्नुहोस्

सहकारी ठगीमा संसदीय विशेष छानविन समितिबाट 'क्लिन चिट' पाएको प्रचार गराउँदै हिंडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेलाई आफ्नै एउटा पुरानो अभिव्यक्ति भारी पर्ने भएको छ । 

छानविन समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा ल्याउन उनको प्रत्यक्ष संलग्नता नरहे पनि प्राप्त रकम भने सबै उनीमार्फत खर्च भएको निष्कर्ष निकाल्दै कारवाही सिफारिस गरेको छ । उक्त कम्पनीको प्रवन्ध निर्देशक रहेका लामिछानेले चेक काटेर सहकारीबाट आएको झन्डै ६५ करोड रकम खर्च गरेको आधारमा समितिले विद्यमान कानुनबमोजिम कारवाही गर्न सरकारलाई सुझाव दिएको हो । 

योसँगै लामिछानेविरुद्ध ठगी,किर्ते,जालसाजी कसूरमा पूरक मुद्दा चलाउने प्रहरीको तयारी छ । तर,गोरखा मिडियाको प्रवन्ध निर्देशकसहित सो कम्पनीद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको समाचार तथा कार्यक्रम प्रमुख रहेका उनले भने कर्मचारीलाई लगानीको स्रोत थाहा नहुने भएकाले ठगीको जिम्मा आफूले लिन नसक्ने जिकिर गर्दै आएका छन् । 

'ताल न बेतालमा बेसुरमा टिभी खोल्ने पैसा कहाँबाट आयो भनेर क्याउँ क्याउँ गरिरहन्छन्,पैसा यसका सञ्चालकहरुबाट आयो,राज्यको निकायलाई कर तिरेका हुन्छन्, लेखा परीक्षण सबै बुझाएको हुन्छ भन्ने कुरा पनि बुझाईराख्नु !'

कम्पनीको 'स्वेट शेयर' लिएका र मासिक ६ लाख तलब खाएका लामिछानेले यसरी ठगीको सबै दोष कम्पनीका अध्यक्ष जिबी राईको थाप्लोमा हालेर उम्किने प्रयास गर्दैगर्दा उनको पुरानो अभिव्यक्ति यतिबेला सञ्जालमा व्यापक छ । अहिले कर्मचारीलाई लगानीबारे सबै कुरा थाहा नहुने भन्दै तर्किएका उनले त्यतिबेला भने लगानीको स्रोत बैध रहेको दाबी गरेका थिए । जिबीसहितका सन्चालकले राज्यलाई कर तिरेर,लेखा परीक्षण गराएर कानुनसम्मत लगानी गरेको लामिछानेको दावी थियो । 

तर, ठगीमा नाम मुछिएपछि भने 'जिबी राईले गरेका सबै कामको मैले जिम्मा लिन सक्दिन' भन्ने गरेका उनले त्यतिबेला कुर्लिंदै भनेका रहेछन्, 'ताल न बेतालमा बेसुरमा टिभी खोल्ने पैसा कहाँबाट आयो भनेर क्याउँ क्याउँ गरिरहन्छन्,पैसा यसका सञ्चालकहरुबाट आयो,राज्यको निकायलाई कर तिरेका हुन्छन्, लेखा परीक्षण सबै बुझाएको हुन्छ भन्ने कुरा पनि बुझाईराख्नु !'

टिप्पणीहरू