संयुक्त राष्ट्रसंघसङ्ग नेपालबाट मागियो ५० खर्ब डलर क्षतिपूर्ति

संयुक्त राष्ट्रसंघसङ्ग नेपालबाट मागियो ५० खर्ब डलर क्षतिपूर्ति

संयुक्त राष्ट्रसंघको ७९ औं महासभाको पूर्वसन्ध्यामा नेपालका जलवायु अभियन्ताहरुले ५० खर्ब डलर क्षतिपूर्ति माग गरेका छन् ।  

विश्वका गरिब राष्ट्रहरुले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा धेरै क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुले क्षतिपूर्ति उपलब्ध गराउन भनेका हुन् । नेपाल ट्रेड युनियन महासंघकी उपाध्यक्ष सीता लामाले जलवायु न्यायका लागि विकासशील राष्ट्रहरुलाई ५० खर्ब डलर उपलब्ध गराउनुपर्ने बताइन् । 

जलवायुको नकारात्मक परिवर्तन देखिनुमा विकसित राष्ट्रहरु जिम्मेवार रहेको उनको दाबी छ । 

‘नेपाली श्रमिकहरुका लागि जलवायु परिवर्तन टाढाको खतरा होइन्, एक दैनिक यथार्थ हो । जलवायु वित्तले जोखिम ध्यानमा राखेर उनीहरुको जीवन र जीविकोपार्जनको सुनिश्चितताका लागि स्रोतसाधन उपलब्ध गराउन जरुरी छ’,लामाले भनिन् । 

त्यस्तै, महिला किसान नेतृ सरिता भुसालले किसानका आवाज र खाद्य उत्पादन क्षेत्रमा जलवायु परिवर्तनले निकै प्रभाव पारेको गुनासो पोखिन् । उनले मुलुकका हिमालहरु कालापहाड बन्न लागेको भन्दै चिन्ता व्यक्त गरिन् ।

उनी भन्छिन्,‘मुलुकका हिमालहरु कालापहाड बन्न लागेको छ । जलवायु परिवर्तनका नाममा आउने लगानी अनुदानको सट्टा ऋणका रुपमा ल्याउन कदापि हुँदैन् र जनतालाई ऋणको मारमा पार्नुहुँदैन् ।’

‘एशियन पिपुल्स मुभमेण्ट अन डेब्ट एण्ड डेभलपमेण्ट (एपीडीडी)’ ले जलवायु न्यायका लागि आवाज उठाउँदै आएको छ । पाकिस्तान, बंगलादेश, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स यस संस्थाका हिस्सा हुन् । 

एशियाका यी मुलुकहरुसँग समन्वय गरी अमेरिकाको न्युयोर्क शहरमा ‘समिट अफ द फ्युचर’, संयुक्त राष्ट्रसंघको महासभा र २९ औं जलवायु सम्मेलन आयोजना गरिएको हो । त्यसअघि विश्वका ५८ मुलुकमा ‘फसिल फ्युल’ को प्रयोग बन्द गर्न र जलवायु वित्तको न्यायपूर्ण भुक्तानीका लागि दबाब दिन विभिन्न मुलुकमा प्रदर्शन भइरहेको छ । 

जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी बढेपछि दक्षिण र दक्षिणपूर्वी एशियामा सन् २०२४ को शुरुमा विद्यालयहरु बन्द भएका थिए । साथै, खाद्य अधिकार र उत्पादनमा पनि बाधा पुगेको छ । 

दक्षिण पाकिस्तानमा ६ दिनमा ५६८ जनाले ज्यान गुमाएका थिए । हिमताल फुटेर नेपालको सगरमाथा क्षेत्रको थामे गाउँ प्रभावित भयो । 

जलवायु परिवर्तनले बढाएको मनसुन वर्षाले बंगलादेशमा एक शताब्दीकै सबैभन्दा ठूलो वर्षा भयो । धेरै स्थानमा बाढी गयो । त्यहाँ अन्नबालीमा २८२ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको छ । 

त्यसैगरी फिलिपिन्समा एक लाख ७५ हजारभन्दा बढी किसान र माछापालकहरु प्रभावित भएका छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सनअन्तर्गत विकसित मुलुकहरुले विकासशील मुलुकहरुलाई जलवायु वित्त प्रदान गर्ने सहमति भएको छ । त्यस्तै, आगामी नोभेम्बरमा अजरबैजानको बाकुमा आयोजना हुने ‘कप २९’ को मुख्य एजेण्डा गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका मुलुकहरुले उठाउनुपर्ने रकम हुने जनाइएको छ ।

टिप्पणीहरू