कागजमा 'दलाल'लाई 'नो इन्ट्री',"दलाल" छुट्याउने के हो दबाइ ?

कागजमा 'दलाल'लाई 'नो इन्ट्री',"दलाल" छुट्याउने के हो दबाइ ?
सुन्नुहोस्

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलगायत विभिन्न कार्यमा सेवाग्राहीको सहजीकरणका लागि सहायता कक्ष सन्चालनमा ल्याएको छ । 

विभागले बिचौलिया,श्रम प्रतिनिधि तथा साइबरको आवश्यकता नपर्ने गरी सहायता कक्षको व्यवस्थापन गरेको हो । विभाग र मातहतका कार्यालयबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसम्बन्धी विभिन्न कार्यहरु अनलाइनमार्फत हुँदै आएको छ । 

सो क्रममा श्रम प्रतिनिधि,बिचौलिया तथा साइबरहरुले सहजीकरण गरिदिने नाममा जथाभावी रकम असुलेको गुनासो बढेपछि विभागले छुट्टै सहायता कक्ष व्यवस्था गरेको जनाएको छ । सेवाग्राही कसैलाई पनि कार्य सहजीकरणको नाममा तोकिएको रसिद वा भौचरबाहेक कुनै रकम नतिर्न पनि आग्रह गरेको छ । 

‘विभिन्न श्रम प्रतिनिधि,बिचौलिया तथा साइबरहरुले तोकिएभन्दा बढी पैसा लिने गरेको भन्ने गुनासो प्राप्त भएकोले कोही कसैलाई पनि सहजीकरणको नाममा तोकिएको रसिद वा भौचरबमोजिम रकमबाहेक कुनै रकम नदिन विभाग अनुरोध गर्दछ,’ विभागको सूचनामा उल्लेख छ, ‘साथै, विभागले सम्पादन गर्ने कार्यहरु तथा मातहतका कार्यालयबाट प्रदान गर्ने श्रम स्वीकृतिलगायतका कार्यको लागि कुनै सहजीकरणको आवश्यकता नपर्ने गरी विभाग तथा कार्यालयहरुमा सहायता कक्षको व्यवस्था मिलाइएको छ ।’

विभागले बिचौलियाहरुलाई कार्यालय प्रवेशमा रोक लगाइएको जनाउँदै मातहतका कार्यालयबाट काम समयमै नभएमा वा कार्य प्रक्रिया सम्बन्धमा कुनै दुविधा भएमा गुनासो सुन्ने अधिकारी (फोकल पर्सन) को समेत प्रवन्ध मिलाएको छ । जसअनुसार संस्था तथा प्रशासनसम्बन्धी कार्यको लागि प्रवक्ता गुरुदत्त सुवेदीको मोबाइल नम्बर ९८५१११२३१५ दिइएको छ । 

त्यस्तै, राहत उद्दार तथा अनुगमनसम्बन्धी कार्यका निम्ति निर्देशक लोकनाथ भुसाल ९८४१३६८८५०, अनुसन्धान तथा मुद्दासम्बन्धी कार्यका लागि निर्देशक गोविन्द हुंमागाई ९८५१०४६५२६ र सरकारी मध्यामबाट इजरायल तथा जापानसम्बन्धी कार्यका निम्ति निर्देशक गिरीराज ज्ञवालीको मोबाइल नम्बर ९८५१३३३२३१ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ । 

प्रवक्ता तथा निर्देशकहरुबाट गुनासो सुनुवाई तथा समस्या समाधान नभएमा महानिर्देशक सूर्यबहादुर खत्रीको फोन नम्बर ९८५११७१६०१ मा सम्पर्क गर्न सकिनेछ । 

विभागले मातहतका कार्यालयमा पनि फोकल पर्सन तोकेको छ । सोको विस्तृत जानकारी विभागको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

टिप्पणीहरू