साइबर ब्युरो अगाडि दुर्गा प्रसाईंको समर्थनमा नाराबाजी

साइबर ब्युरो अगाडि दुर्गा प्रसाईंको समर्थनमा नाराबाजी
सुन्नुहोस्

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको विरोधमा ‘राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ ले प्रहरीमा निवेदन दिएको छ । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो पुगेर प्रसाईंका कार्यकर्ताले सामूहिक गिरफ्तारी माग्दै आज निवेदन दर्ता गराएका हुन् । 

महाअभियानका संयोजक प्रसाईंलाई कपोकल्पित र पूर्वाग्राही आरोप लगाई झूठा मुद्दा चलाउन लागेको भन्दै निवेदनमा उक्त कदम स्वीकार्य नरहेको उल्लेख छ । उक्त मुद्दा तत्काल खारेज नगरे सामूहिक गिरफ्तारी दिने बताइएको छ ।   

‘प्रतिष्ठा र शक्तिको चरम दुरुपयोग गरि गरिब, सर्वहारा र भूर्इंमान्छेको आवाज बुलन्द गर्दै तिनै नागरिकको जीवन रक्षार्थ लागि परेका एक महान व्यक्तित्व श्री दुर्गा प्रसार्इंज्यूप्रति गरिएको अमानवीय व्यवहारको घोर भत्सर्ना गर्दै अन्याय, अत्याचार, कालाबजारी, भष्टाचारविरुद्ध खबरदारी गर्दा फर्जी मुद्दामा पक्राउ पुर्जी जारी गर्ने निकम्मा सरकारको हामी घोर विरोध गर्दै झूठा मुद्दा तत्काल खारेजी गरियोस्’, निवेदनमा भनिएको छ, ‘अन्यथा अन्यायविरुद्ध आवाज बुलन्द गर्ने हामी सबै देशभक्त न्यायप्रेमी निम्न व्यक्तिहरु सामूहिक गिरफ्तारी दिने निर्णय गर्दै श्रीमानसमक्ष यो सामूहिक निवेदन पेश गर्दछौं ।’

साइबर ब्युरोमा निवेदन बुझाउनुअघि प्रसाईंले आफ्नो पक्षमा नाराबाजी गराएका थिए । भक्तपुरको कमेरेटारस्थित निवासबाट उनीहितको टोली निवेदन लिएर निस्किएकोमा काठमाडौँबाट महाभियानका उपत्यका इञ्चार्ज बिष्णुजंग बस्नेतको नेतृत्वमा ऋषि, कुमार बस्नेत, विष्णु बोहरा क्षेत्री, देवी संग्रौला, मिलन लामालगायत पाँच दर्जन जति मिसिएका थिए । 

रत्नपार्कबाट दलबलसहित भोटाइटीका लागि निस्किएका प्रसाईंका कार्यकर्ताले त्यसक्रममा ‘दुर्गा प्रसाई जिन्दावाद’, ‘दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी खारेज गर’, ‘मजदुर एकता जिन्दावाद, नागरिक एकता जिन्दावाद’, ’युवा स्वःरोजगार खारेज गर’, ‘दुर्गा दाई हाई हाई’ जस्ता नारा लगाए । 

जिल्ला अदालत काठमाडौँले प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा बुधबार पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले गरेको सिफारिसका आधारमा प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पनि पुर्जी जारी भएको हो ।

टिप्पणीहरू