अमेरिकी चुनावका रमाइला प्रसंग
१३ राज्यले हस्ताक्षर गरेपछि बनेको संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचन सन् १७८८/८९ मा हुँदा जर्ज वासिङ्टन स्वतन्त्र (दलविहीन) राष्ट्रपति निर्वाचित चुनिएका थिए । त्यतिबेलाको १३ ‘ओरिजनल स्टेट’ मध्ये ७ वटा राज्यले मात्र ‘इलेक्टोरल’ चुने । सन् १७७६ को स्वतन्त्रता सङ्ग्रामदेखि बेलायती उपनिवेशमुक्त भएको विश्वको शक्तिशाली देश अमेरिकामा यही वर्ष सन् २०२४ को नोभेम्बरमा अर्को निर्वाचन हुन गइरहेको छ ।
इतिहासमा अत्यन्त लोकप्रिय बनेर सन् १९३२ देखि सन् १९४८ सम्म लगातार ४ पटक विजयी बनेका डेमोक्रेटिक फ्रान्कलिन डि रुजबेल्टले सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघको स्थापनामा समेत भूमिका खेलेको देखिन्छ । सन् १८६० मा निर्वाचित अब्राहम लिङ्कनसहित बाराक ओबामासम्म १६ जना वकिल (कानुन) क्षेत्रबाट आएका छन् । अब २०२४ को निर्वाचनमा डेमोव्रmेटिक उम्मेदवार कमला ह्यारिससमेत कानुन क्षेत्रकी हुन् ।
त्यस्तै १६ जना राष्ट्रपति कुनै न कुनै राज्यका पूर्व निर्वाचित गभर्नर रहे । सबैभन्दा धेरै अर्थात २२ जना सेनाबाट अवकाशप्राप्त अधिकारी थिए । ८ जना पूर्व सचिव र ६ जना विदेशमन्त्री रहे । प्रत्येक जसो अमेरिकी निर्वाचनमा अर्थतन्त्र सुधार, कर, सामाजिक न्याय, आप्रवासी समस्या, सुरक्षा, विदेश नीति, रोजगारीजस्ता विषय उठ्ने गर्दछन्् । सन् १९९८ मा जर्ज डब्लु. बुसको मुख्य चुनावी नारा ‘रिड माई लिप्स ः नो न्यु ट्याक्सेज’ रहेको थियो । सन् २०१२ मा बाराक ओबामाको मुख्य नारा ‘एस, वी क्यान’ रह्यो । सन् २०१६ मा डेमोक्रेटिकबाट उठेकी प्रथम महिला उम्मेदवार हिलारी क्लिन्टनको मूल नारा ‘स्ट्रोङ्गर टुगेदर’ राखियो । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको नारा ‘मेक अमेरिका, ग्रेट अगेन’ थियो । उनी राष्ट्रपतिमा सन् २०२० सम्म रहे । ट्रम्पको अहिलेको नारा र ‘फोकस’ पनि उही पुरानै रहेको छ ।
इतिहासमा विलियम हार्वर्ड टाफ्ट राष्ट्रपतिबाट अवकाश पाएपछि सर्वाेच्च अदालतको प्रधानन्यायाधीश बने । चुनाव हुनुअघि नोभेम्बरमा ३ पटकसम्म राष्ट्रपतिका मुख्य उम्मेदवारहरूबीच प्रत्यक्ष डिबेट हुने गर्दछ । सन् २००० को चुनावमा जर्ज डब्लु. बुस र अल गोरले आफ्ना चुनावी विषयहरू वेबसाइटमा राखेका थिए । मतगणनाको क्रममा फ्लोरिडामा विवाद भएर अदालतमा मुद्दा गएपछि तत्काल न्यायाधीशहरूका लागि उक्त निर्वाचन रद्द गर्ने वा के गर्ने भन्ने अवस्था सिर्जना भयो । ९ जना न्यायाधीशमध्ये ५ जना बुसको पक्षमा र ४ जना गोरतिर देखिएपछि बुसलाई राष्ट्रपति घोषित गरियो ।
सन् २०१६ का १० वटा सर्वेक्षणले डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टनले शानदार तरिकाले चुनाव जित्ने प्रक्षेपण गरेको भए पनि परिणाम रिपब्लिकन पार्टीका ट्रम्पको पक्षमा गएको थियो । कूल ५३८ इलेक्टोरल भोटमध्ये ट्रम्पले ३०६ र क्लिन्टनले २३२ मत ल्याए । रिपब्लिकन पार्टीले ३० भन्दा बढी राज्यमा जितेको थियो । व्यक्तिगत स्वतन्त्रता र अधिकारलाई उच्च सम्मान गर्ने अमेरिकामा महिलालगायतलाई पर्याप्त अधिकार भएको भए पनि हिलारीले महिलावादको वकालत गरेको धेरै अमेरिकीलाई मन नपरेको बिबिसीलगायतका सञ्चार माध्यमहरूको टिप्पणी रह्यो ।
राष्ट्रपतिअन्तर्गत ५० लाखभन्दा बढी सरकारी कर्मचारी रहन्छन् । १० लाखभन्दा बढी सेना छन् । संविधानले संघीय सरकार र राज्य सरकारका अधिकार बाँडफाँड गरेको छ । अमेरिकामा हरेक राज्यका आफ्नै संविधान, कानुन छन् । राष्ट्रपतिलाई भिटो अर्थात् विशेषाधिकार प्राप्त छ । अमेरिकी कंग्रेसको (संसद) विधेयक पुनः संसदमा फर्काउन सक्ने अधिकार उनले राख्छन् । यद्यपि कंग्रेसको दुई तिहाईबाट पास भएको विधेयक भने राष्ट्रपतिको सहमति नभए पनि लागू हुन सक्छ । राष्ट्रपतिले सर्वाेच्च अदालतका न्यायाधीशहरूको चयन गर्न सक्ने भए पनि त्यसलाई सिनेटले समर्थन गर्नुपर्ने प्रावधान छ । हाउस अफ रिप्रिजेन्टेटिभ ४ सय ३५ सदस्यको हुन्छ ।
अमेरिकी राजनीतिक पार्टीको इतिहासमा लगातार २ दलको मात्र बाहुल्य छ । सन् १९३२ पछि रुजबेल्टको लोकप्रियता चुलिएका कारण रिपब्लिकन पार्टीको साख धेरै घटेको थियो । रिपब्लिकन परम्परागत मूल्य मान्यतामा बस्ने, गोरा, धनी र सेनाका पूर्व अधिकारीहरूको बाहुल्य भएको पार्टी हो । सन् १८५४ मा गठित पार्टीलाई ग्राण्ड ओल्ड पार्टी (पुरानो) पनि भनिन्छ । सन् १८६० मा यसै पार्टीबाट अब्राहम लिङ्कनले विजय हासिल गरेका थिए ।
डेमोक्रेटिकले गर्भपतनको अधिकार बिनाशर्त दिनु हुन्न भन्ने मत राखेको छ भने रिपब्लिकनले दिनुपर्दछ भनेको छ । निजी व्यापारिक कम्पनीको भूमिकालाई सीमित गर्नुहुन्न भन्ने रिपब्लिकन हो । डेमोक्रेटिकले सीमित गर्न आवश्यक ठानेको छ । प्रगतिशील कर प्रणालीको वकालत डेमोक्रेटिकले गरेको भए पनि रिपब्लिकनले त्यो अस्वीकार गर्दै आएको देखिन्छ । अध्यागमनमा कडाइ गर्नुपर्ने नारा रिपब्लिकनको भए पनि डेमोक्रेटिक त्यसमा उदार देखिन्छ । विश्वमा अमेरिकी हस्तक्षेपकारी भूमिका हुनुपर्ने कुरामा भने दुवैको एउटै मत पाइन्छ । सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्प र ह्यारिसबीच कडा टक्कर हुनेछ ।
जनताद्वारा प्रत्यक्ष राष्ट्रपति निर्वाचित गरिने भए पनि प्राविधिक रूपमा अप्रत्यक्ष प्रणालीबाट चुनाव हुने गर्छ । लोकप्रिय मतदाताले भोटिङ गर्दा ‘फर द इलेक्टोरल अफ द क्याण्डिडेट’ भन्ने वाक्य मतपेटिकामा उल्लिखित हुनुले त्यसलाई एक प्रकारले अप्रत्यक्ष तरिका पनि भन्न सकिन्छ । कूल ५ सय ३८ ‘इलेक्टोरल’ भोटमध्ये विजयी बन्नका लागि कूल २ दुई सय भोट अनिवार्य हुन्छ । माथिल्लो सदन सिनेटमा प्रत्येक राज्यबाट दुई जनाको दरले पचास राज्यबाट जम्मा एक सय जनाको प्रतिनिधित्व हुन्छ । जसमा जनसङ्ख्या र भूगोलको कुनै अर्थ छैन । इतिहासमा घर जग्गा र नामदर्ता भएको गोरालाई मात्र मताधिकार भएको अमेरिकामा हाल १८ वर्ष उमेर पूरा भएको र मतदाता सूचीमा दर्ता भएको जसकसैले मताधिकार राख्न पाउने व्यवस्था छ ।
सन् २०२४ को राष्ट्रपति निर्वाचन ६० औँ र व्यक्ति राष्ट्रपतिचाहिँ ४७ औँ हो । जनवरीको शुरुमा नतिजा आएर जनवरी २० तारिखमा औपचारिक रूपमा नयाँ राष्ट्रपतिको चयन हुन्छ । संविधानले राष्ट्रपतिलाई सेनाको सर्वाेच्च र देशको प्रमुख कार्यकारीमा राखेको छ । ‘लाइफ’, ‘लिबर्टी’ र ‘प्रपर्टी’को अधिकारलाई उच्च स्थानमा राखिने अमेरिकी निर्वाचनलाई विश्वले उच्च चासोका साथ हेरिरहेको छ । राष्ट्रपति बाइडेन नै फेरि डेमोक्रेटिक पार्टीबाट उठ्ने चर्चाका बीच अनेक कोणबाट आलोचना र टिप्पणी हुने भएपछि उनी पछि हटेका छन् ।
अहिले विभिन्न कारण, अवस्था र विश्वव्यापी तरंगको कारण फेरि ट्रम्प नै विजयी हुने सम्भावना छ । डेमोक्रेटिकतर्फ टिकट दिने कुरामा पूर्णतः सर्वसम्मति नहुनु, बाइडेनले आफैँ उठ्ने भनेर चर्काे आलोचना खेप्नु, थोरै समय बाँकी रहँदा दौडबाट पछि हट्नु, चुनावी प्रचार—प्रसार ट्रम्पको आक्रामक हुनु, उनीसँग अकुत आर्थिक स्रोत हुनु, निजी हौसला अत्याधिक हुनु (हाइ मोरल), लोकप्रियवादको नारा विश्वमा फैलनु, उग्र राष्ट्रवादी नारा लगाउनु र त्यस्तो नारा विश्व राजनीतिमा बढी बिक्नु जस्ता कारणले आवश्यकभन्दा थोरै बढी मतले ट्रम्प विजयी हुने छाँटकाँट देखिएको छ । लोकप्रियता, क्षमता, अनुभव, व्यक्तित्व, उमेर आदि कारणले ह्यारिस उत्कृष्ट देखिए पनि उम्मेदवारीमा ढिलो गरिनुको फाइदा र गोली खाएको सहानुभूति ट्रम्पलाई छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू