प्रसाईंं वीर अस्पतालको इमरजेन्सीमा, प्रधानमन्त्रीको गृहजिल्लामा चक्काजाम

प्रसाईंं वीर अस्पतालको इमरजेन्सीमा, प्रधानमन्त्रीको गृहजिल्लामा चक्काजाम

राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध झापामा यातायात बन्दको घोषणा गरिएको छ । 

प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत नागरिक प्रतिरक्षा बल झापाले भोलिदेखि अनिश्चितकालीन चक्काजाम गर्न लागेको हो । जिल्ला अध्यक्ष भीम तुम्बापोले वक्तव्य जारी गर्दै प्रसाईंलाई पक्राउ गरिएकोप्रति घोर निन्दा र भर्त्सना गरेका छन् । 

सर्वहारा वर्ग र भुइँमान्छेको पक्षमा आवाज बुलन्द पारेकै कारण सरकारले पूर्वाग्रही भएर समातेको उनको आरोप छ । यातायात ठप्प पार्ने घोषणा गर्दै वक्तव्यमा सम्पूर्ण यातायात व्यवसायीलाई सहयोग गर्न अपील गरिएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई आज दिउँसो भक्तपुरको कमेरोटारस्थित उनको निवासबाट पक्राउ गरेको हो । साइबर अपराधमा पक्राउ परेका उनलाई तीन दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पक्राउपछि प्रसाईंलाई वीर अस्पतालको इमर्जेन्सी वार्डमा राखिएको छ ।

टिप्पणीहरू