राजपुरमा हैजा फैलियो, हिँडडुलमा रोक

राजपुरमा हैजा फैलियो, हिँडडुलमा रोक

रौतहटको राजपुरमा झाडा पखाला तथा हैजा फैलिएपछि स्थानीय प्रशासनले रोकथामको उपाय अवलम्बन गरेको छ । केही दिनअघि राजपुर नगरपालिका–४, मा देखिएको झाडापखाला तथा हैजाका बिरामी बढन् थालेपछि जिल्ला प्रशासन कार्यालय, रौतहटले सो क्षेत्रमा मानिसको आवतजावतलगायत विभिन्न गतिविधिमा रोक लगाएको छ ।

सिडियो कार्यालयले वडा नम्बर ४, जोवैर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खलिहानदेखि डा.नुरुल होदाको घरसम्मको वरीपरिको घरधुरी क्षेत्रमा एक घर वा बस्तीबाट अर्को घर वा बस्तीमा आवतजावतमा रोक लगाएको हो । 

‘तोकिएबमोजिमको क्षेत्रहरुमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीहरु र अत्यावश्यक वा अत्यन्त जरुरी कामबाहेक कुनै पनि व्यक्तिको हिँडडुल गर्ने र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गर्ने,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा जारी आदेशमा भनिएको छ । 

त्यस्तै, अत्यावश्यक सेवाबाहेकका सवारीसाधनको आवतजावतसहित उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्न र सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र शर्तहरुको कार्यान्वयन गर्न गराउन पनि निर्देशन दिइएको छ ।

टिप्पणीहरू