रास्वपा नेतृलाई ‘वेश्या’ भनेपछि समातिएका प्रसाईंलाई यस्तो हुनसक्छ सजायँ

रास्वपा नेतृलाई ‘वेश्या’ भनेपछि समातिएका प्रसाईंलाई यस्तो हुनसक्छ सजायँ
सुन्नुहोस्

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं कम्तिमा तीन दिन हिरासतमा रहने निश्चित भैसकेको छ । हिजो दिउँसो पक्राउ परेका उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले साँझ अनुमति दिएको हो ।

भक्तपुरको मध्यपुर ठिमीस्थित आफ्नै निवासबाट समातिएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान हुनेछ । विगतमा सामाजिक अभियन्ताका रुपमा विवादमा रहेकी र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य ज्वाला संग्रौलाले प्रसाईसहित तीन जनाविरुद्ध चरित्रहत्याको आरोप लगाउंदै उजुरी दिएकी थिइन् । अब प्रसाईमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

संग्रौलालाई के भनेका थिए प्रसाईंले ? 

केही समयअघि प्रसाईंले संग्रौलालाई ‘वेश्यावृति गर्ने केटी’को संज्ञा दिएका थिए । रवि लामिछानेकी पत्नी निकिता पौडेल सञ्चालक रहेको नारी टिभीमा ‘माइतिघर’ कार्यक्रम चलाउदै आएकी संग्रौला केही वर्षअघिसम्म वैदेशिक रोजगारीको लागि जापानमा थिइन् । त्यतिबेला उनले ‘दलाल बनेर केटालाई केटी मिलाइदिने’ काम गरेको प्रसाईंको आरोप छ । 

प्रसाईले भनेका थिए- ‘कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन् । आखिरमा फेसबुकमा जुन आको छ नि, त्यसमा गाली कसलाई गरेको छ ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन । मैले लाश ल्याउँदा सुन ल्याएँ रे ! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि ! अब गर्ने कि नगर्ने ? तिनीले गरुन् । त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि ! अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने । त्यसले गर्नु नि !’ 

कान्तिपुर दैनिकको ‘फेक फ्रन्टपेज’ बनाएर राखिएको त्यससम्बन्धी समाचार प्रसाईंले शेयरसमेत गरेका थिए । जसमा लेखिएको छ, ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ । यो विषयमा कान्तिपुर मिडिया ग्रूपले विज्ञप्ति निकालेर आफ्नो कुनै पनि अंकमा यस प्रकारको शीर्षकमा समाचार प्रकाशित नभएको स्पष्टीकरण दिएको थियो ।

प्रसाईंको यस्तो आरोपपछि संग्रौलाले पनि तत्काल प्रतिवाद गरेकी थिइन् । । 

उनले भनेकी थिइन् - ‘उस्तै भए मेरो पनि श्रीशा कार्कीको जस्तै समाचार आउँथ्यो, तर मैले हिम्मत हारिनँ । मैले गलत कुराको विरुद्ध लड्नुपर्छ भन्ने सोचेर नेपाल आएँ । मलाई पत्रिकाले नलेखेको कुरालाई लेखे जस्तै गरेर बदनाम गर्नेहरुको विरुद्ध म साइबर धेरै पटक गएँ, तर प्रहरीले मलाई कुनै दिन सहयोग गरेन । अहिले पनि मेरोबारे यस्तो भ्रम फिजाउन छोडेका छैनन् । चरित्र हत्या गरेर वेश्या बनाउन छोडेका छैनन् । हुँदाहुँदा हिजो दुर्गा प्रसाईंले समेत जापानकी वेश्या, पार्टीकी केन्द्रीय सदस्य, रातभरि चर्ने, अरुलाई पनि केटा मिलाउने भन्दै एउटा युटुबेलाई अन्तर्वार्ता दिएका छन् । यदि नेपाली समाज र नेपालको न्याय ज्युँदै छ भने अराजक दुर्गा प्रसाईंलाई कानूनी रुपमा दण्डित गरेर मलाई न्याय दिन्छ कि अर्को श्रीशा बन्न बाध्य बनाउँछ ? दुर्गा प्रसाईंले के सोचेर कसैकी छोरी-चेलीलाई वेश्या-रण्डी भन्दैछन् ? के उनी महिलाको गर्भबाट जन्मिएका होइनन् ?’

प्रसाईलाई हुन सक्छ यस्तो सजायँ 

संग्रौलाको लगाएको आरोपमा प्रसाईँ दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा भनिएको छ, ‘कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
 

टिप्पणीहरू