काठमाडौंका मठमन्दिरको धमाधम सरसफाई
काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा, मठमन्दिरको सरसफाई, मर्मतसम्भार र पुनःनिर्माणमा तीव्रता दिएको छ । चालु आर्थिक वर्षको पछिल्ला दुई महिनामा एक सयभन्दा बढी ठूला मन्दिरको सरसफाइ गरिएको बताइएको छ ।
गत आर्थिक वर्षमा तीन सय ३३ वटा मन्दिर सरसफाई गरेको महानगरले चालु आर्थिक वर्षको दुई महिनामै एक सय १४ वटा मन्दिरमा सरसफाई गरेको छ । महानगरको स्वर्णिम योजना ‘सम्पदा, मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी, पर्खाल, भित्ता, परिक्रमा मार्ग, बार तथा अन्य फोहोरमैला भएको स्थानको सरसफाइ गरिएको हो । त्यसैगरी, ईंट्टामा सिलिकन र ड्युरासिल रङ्ग लगाइएको छ ।
महानगरका अनुसार सो अवधिमा १११ वटा हिटी (ढुंगेधारा), १० वटा कुवा, ६ वटा पोखरीको सरसफाइ गरिएको छ । चार वटा पोखरीको पुनःरुत्थान र सौन्दर्यीकरण सम्पन्न भएको छ । आठ स्थानमा ढुंगेधारा मर्मत तथा पुनःनिर्माणको तयारी अगाडि बढाइएको जानकारी दिइएको छ ।
टिप्पणीहरू