यस्तो हुनुपर्छ आदर्श परिवार
हामीले देशको चिन्ता गर्छौँ, समाजको चिन्ता गर्छौँ, आफ्नै परिवारको अवस्था के छ त्यसबारेमा पनि सोच्छौँ । निरन्तर चलिरहने पारिवारिक विषय र गतिविधिका बारेमा नसोँच्ने सायद कोही पनि नहोला । समाज यस्तो हुनुपर्छ, देश यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर जोड दिन्छौँ । देशको समृद्धिको आधार घर–परिवार नै हो भन्नेबारे हामीले कम मात्रामा ख्याल गर्छौँ भन्नुमा अत्युक्ति हुनेछैन । घर–परिवार सभ्य भएमा समाज सभ्य हुन्छ र समाज सभ्य भएमा मुलुक सभ्य बन्छ, यो कुरा अकाट्य नै छ ।
युवाको विवाह गर्दा ‘कुलको छोरी गर्नुपर्छ’ भनिन्छ । तर छोरीको विहे ‘कुल घरानामा गराइदिनुपर्छ’ भनेर भनिदैन । यो पहिलेदेखि नै चल्दैआएको रीति हो । ‘विहे गर्नु कूलको, पानी पिउनु मूलको’ भन्ने उखान पनि छ । तर कुल भन्नाले सामान्यतया धनीमानी भन्ने बुझिन्छ, वास्तवमा यो बुझाई भने गलत हो । कुल भन्नाले संस्कारयुक्त, चेतनायुक्त, ज्ञानवान सदस्यहरू भएको परिवारलाई बुझाउँदछ, चाहे त्यो मध्यम वर्गको होस् वा गरिब परिवारको ।
खासमा कुलको अर्थ शब्दकोशले यसरी अर्थ्याइदिएको छ– सनातनदेखि एउटै परम्परा–थर–गोत्र–संस्कार आदि अंगाल्दैआएको खलक, वंश, खानदान, समूह, समुदाय, जाति, वर्ग । त्यस्तै कुलधर्मको अर्थ यस्तो छ–पुर्ख्यौली चलन, पितापुर्खादेखि चल्दै आएको खास व्यवहार, कुलको धर्म, स्वजातीय कर्म, कुलाचार । त्यसैगरी शब्दकोशले कुलीनको अर्थ उच्च कुलको, घरानियाँ, कुलघरानको, कुलको, आचारमा रहेको भनेर उल्लेख छ । बोलिचाली, रहनसहन, सद्भाव, सद्ब्यवहार बारे ख्याल गर्ने र सोही अनुसार क्रियाशिल रहने सदस्यहरू भएको परिवार नै आदर्श परिवार हो । एउटाले अर्काको समस्या बुझ्ने, एकले अर्कालाई शोषण नगर्ने, नपेल्ने, नहेप्ने, नझर्किने, अपशब्द ब्यक्त नगर्ने परिवार भएमा त्यसलाई आदर्श परिवार भनिन्छ ।
हाम्रो समाजमा पहिलेदेखि नै श्रीमानले श्रीमतीलाई होच्यार ब्यवहार गर्ने, त्यस्तै सासु–ससुराले बुहारीलाई काममा लदाउने, घोट्याउने, दुःख दिने र बुहारीको ब्यक्तिगत समस्या नबुझ्ने तथा सहयोग गर्न नरुचाउने गरेको पाइन्छ । त्यस्तै बाबु–आमाले छोरा त हो भनेर जथाभावी भन्ने, हप्काउने, गाली गर्ने जस्ता क्रियाकलाप भयो भने त्यो परिवारलाई आदर्श परिवार भनिदैन । जुन परिवार समझदारीपूर्वक चल्दछ त्यो नै आदर्श परिवार हो । आफू मुनिकालाई स्नेह गर्ने र माथिकालाई सम्मान गर्नु कुनै पनि आदर्श परिवारका सदस्यहरूको कर्तब्य हुनआउँछ । परिवारका कुनै सदस्य विरामी परेमा, अशक्त भएमा, वृद्ध भएमा त्यस्ता सदस्यलाई हेरविचार गर्नु, अनुकूल ब्यवहार, गर्नु औषधी मुलो गर्नु अन्य हरेक सदस्यको दायित्व हुनआउँछ । आवश्यक जुनसुकै कामका लागि पनि घरको आर्थिक अवस्था हेरेर बजेट सन्तुलित गराउनु घर मुलीको कर्तब्य हुन्छ ।
घर परिवारमा महत्वपूर्ण काम गर्नुपरेमा सबै सदस्यहरू बसेर सरसल्लाह गरेर निर्णयमा पुग्नु उचित ठहरिन्छ । म परिवारको ठूलो मान्छे हुँ, मैले एक्लै गरेको निर्णय सबैले मान्नैपर्छ भनेर भनियो भने त्यो ठीक हुँदैन । त्यसरी एकल निर्णय गरेर ब्यवहारमा लागू गर्दा अन्य सदस्यले विमति जनाउनसक्छन् । त्यसैले सोँच विचार गरेर र सकेसम्म सबै जम्मा भएर मात्र कुराकानी वा छलफल गरेमा मात्र टुंगोमा पुग्नु नै आदर्श परिवारको एक पाटो हो ।
परिवारका कुनै पनि सदस्य मादक पदार्थ सेवनबाट टाढा रहनुपर्दछ । मादक पदार्थ सेवनले असाधारण परिस्थितिको सृजना गर्नसक्छ । सूर्ति सेवन एक प्रकारको अशोभनीय कृयाकलाप हो । यो स्वास्थ्यका लागि पनि हानिकारक भएको हुँदा यसबाट टाढै रहनु उपयुक्त हुन्छ । घरभित्रको सरसफाई जसले गरे पनि हुन्छ, यो नै सच्चा मानवीय गुण हो । घरको वरपर सफा राख्नु आदर्श परिवारको काम पनि हो ।
स्वास्थ्यप्रति सचेत
चिनी, नून, तेल, मसला र पीरो ज्यादा प्रयोग गर्नुहुँदैन र खानुहुँदैन । यस विषयमा परिवारका सबैजनाको सहमति जुट्नु आवश्यक हुन्छ । यस्ता चिजले स्वाद र मिठास त बढाउलान् तर स्वास्थ्यका लागि भने उपयुक्त हुँदैनन् । भोजन र पोषण जिब्रोका लागि भन्दापनि स्वास्थ्यका लागि भनेर महत्व दिइनु उपयुक्त हुन्छ ।
असल परिवारको मुख्य कर्तब्य आफू सभ्य रहनु हो भने दोस्रो कर्तब्य छिमेकीहरूलाई सहयोग गर्नु हो । गाउँघरमा खोलापारी वा डाँडापारीकाले समेत सहयोगको भावना कायम गरेका देखिन्छन् । तर शहर बजारमा बसोवास गर्नेहरू टाँसिएको घर किन नहोस् विरामी पर्दा र अप्ठेरो पर्दा एक अर्कामा जानकारी हुँदैन ।
सवारी साधन भएका परिवारका कुनै पनि सदस्यले आफ्नो घरमा भाडामा बस्ने र छिमेकीहरू कतै जाँदा बाटोमा भेटिएमा जहाँसम्म अनुकूल हुन्छ लिफ्ट दिनु जो कोहीका लागि पनि मानवीय गुण हुन आउँछ ।
घरमा रहेका कतिपय सामानहरू अनावश्यक हुँदाहुँदै पनि कसैकसैको राखिरहने बानी हुन्छ तर त्यो राम्रो होइन । अनावश्यक सामानहरू हटाउँदा घर छरितो देखिन्छ । तर अघिल्ला पुस्ताकाले प्रयोग गरेका काठको बाकस, हर्पे, बाजा, ताल्जा, लौरोलगायतका कैयन वस्तुहरू महत्वका साथ ब्यवस्थापन गरेर राख्दा राम्रो हुन्छ । छोरा नातीहरूलाई पनि ती सामानको त्यतिबेलाको महत्व बारे बताइदिएमा उनीहरूलाई जानकारी हुन्छ ।
अहिलेको जमानामा सम्पत्ति थुपा¥यो भने आफैलाई घाँडो हुन्छ र ब्यवस्थापन गर्न पनि कठिनाई हुन्छ । त्यसैले आवश्यकताभन्दा बढी धन सम्पत्ति थुपार्नु राम्रो होइन । अनावश्यक धन थुपार्नका लागि खर्चिने समय समाज सेवामा लगाउँदा राम्रो हुन्छ । पैतृक सम्पत्ति पर्याप्त छ भने त्यसको केही अंश सामाजिक कार्यमा लगाउँदा राम्रो हुन्छ । यसो गरेमा समाजले पछिसम्म त्यसको महत्वका साथ स्मरण गर्नेछ ।
सन्तानको संख्या
पहिले बाजे–जिजुबाजेले दशैँमा आशिर्वाद दिँदा ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्नेगर्नुहुन्थ्यो । केही दशक पहिले सरकारले नै परिवार नियोजनसँग सम्वन्धित संघ–संस्थाहरू मार्फत् ‘दुई मात्र सन्तान ईश्वरका बरदान’ भनेर प्रचार प्रसार गर्दथ्यो । अहिले एक मात्र सन्तान जन्माउने चलन पनि आएको छ । किन कि मान्छे धेरै ब्यस्त हुनथालेकाछन् ।
प्रविधिको विकासले फड्को मारेसँगै परिवार र समाजमा धेरै उपलब्धि भएका छन्, त्यससँगै विकृति वा बेफाइदाहरू पनि भित्रिएका छन् । मोबाइल प्रयोगले सदुपयोग गर्नेले त फाइदा उठाएकाहोलान् तर दुरुपयोग गर्नेहरू पनि धेरै छन् । मोबाइलको लत धेरैमा बसेको पाइन्छ । उपलब्धिमूलक कामका लागि त ठीकै छ, तर अनावश्कय रुपमा समयको बरबादी पनि भैरहेको पाइन्छ । बालबालिकाहरूको तोतेबोली नफुट्दै आमाको हातबाट मोबाइल खोस्ने भैसकेका छन् । कतिपय सामग्रीहरू ज्ञानवर्द्धक त होलान् तर नचाहिँदा सामग्री हेर्ने र चलाउने बानी बस्यो भने बालबच्चालाई छुटाउन गाह्रो हुन्छ । यसतर्फ अविभावकहरू सम्वेदनशिल हुनुपर्छ । यो काम मैले गरेँ भने म सानो हुन्छु कि भन्ने सोच राख्नु गलत हो । श्रीमानले श्रीमतीलाई भान्सामा सहयोग गर्नु आदर्श परिवारको अर्को विशेषता पनि हो । परिवारका हरेक सदस्यले आफ्नो लुगा आफै धुनु राम्रो हो, ठालु पल्टिएमा आफैलाई हानी हुन्छ ।
साना नानिहरूलाई घर कम्पाउण्ड र घरछेउँको सुरक्षित बाटोमा उमेर अनुसारका तीनपांग्रे र दुईपांग्रे साइकल चलाउन सिकाउनुपर्छ । जसले गर्दा उनीहरूको शारीरिक विकास हुनाका साथै खाना सजिलै पच्ने र खाना रुच्ने हुन्छ । साइकिलिङले उनीहरूको शरीर फुर्तिलो हुने र शरिर भद्दा नहुने हुन्छ । बालबच्चाहरूका लागि आमाको ज्यादै महत्व हुन्छ । हुन त आ–आफ्नो ठाउँमा सबैको महत्व हुन्छ । तर आमाको विशेष महत्व हुन्छ, बालबालिकाको मनोविज्ञान आमाले नै बढी र झट्ट बुझ्नेगरेको पाइन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू