सार्वजनिक स्थलमा जथाभावी शुल्क, सर्वत्र विरोध

सार्वजनिक स्थलमा जथाभावी शुल्क, सर्वत्र विरोध
सुन्नुहोस्

कतै पुलमा हिँडेको २० रुपैयाँ, कतै तरकारी किन्न छिरेको पाँच रुपैयाँ ! प्रसङ्ग हो कालीमाटी तरकारी तथा फलफूल बजारको । बजारभित्र छिर्नेबित्तिकै ग्राहकले पाँच रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसको व्यापक विरोध भइरहेको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले पैसा उठाउन निजी कम्पनीलाई ठेक्कामा दिएको छ । कम्पनीले सर्वसाधारण गेटभित्र छिर्नेबित्तिकै पाँच रुपैयाँ माग्ने गरेको छ । यता, सवारी साधन छिरेको एक सय रुपैयाँ उठाउने गरिएको छ । 

पाँच रुपैयाँ मागेपछि झगडा परेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कम्पनीका कर्मचारी र एक महिलाबीच चर्काचर्की चल्छ । सो भिडियोमा एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेण्ट गरेका छन्,‘जताततै जनताबाट लिने मात्र कुरा छ दिने त कुरै छैन, न ट्वाइलेट सफा छ न अरु सुविधा, उठेको पैसा सबै समितिमा खर्च गरिन्छजस्तो छ ।’

त्यस्तै, अर्कोले भनेका छन्, ‘तरकारी किन्ने ठाउँमा प्रवेश गरेको पनि शुल्क, हे भगवान् !! कति हो भ्रष्ट पनि हाम्रो देशमा ? बाँच्ने कसरी हो ? अब २४ घण्टामा मान्छेले कति पौण्ड अक्सिजन लिन्छ ? त्यसको पनि शुल्क तिर्नुपर्ने व्यवस्था नआउला भन्न सकिन्न ।’

सामाजिक सञ्जालमै भेटिएको छ,‘यिनीहरुले गर्ने केही होइन, पैसा उठायो खायो । कसैले केही बोल्ने होइन, अनि लुट्नेले लुटी हाल्छ नी । सबैलाई लाग्छ पाँच रुपैयाँ त होनि, १० रुपैयाँ त होनि । यही ५, १० ले लाखौं हुन्छ भनेर बुझ्नुपर्यो । एक रुपैयाँ मात्र किन नहोस् त्यो हामीले दुःख गरेर कमाएको हो, त्यसै सित्तैंमा आएको होइन ।’

कतिपयले कालीमाटी बजार हेर्ने जिम्मा काठमाडौं महानगरपालिकालाई दिनुपर्ने बताएका छन् । ‘कालीमाटीको सम्पूर्ण सरसफाईदेखि त्यहाँको भौतिक संरचनाको व्यवस्थापन पनि महानगरले नै गरोस् र पैसा कति उठाउने निर्णय कार्यान्वयनको व्यवस्थापन पनि महानगरले नै गरोस् । यी लुटेराहरुलाई त्यहाँबाट भगाऊँ’, एक जनाले सामाजिक सञ्जालमा लेखेका छन् ।

समितिले त्यसरी उठाइएको रकमले कालिमाटी बजारको व्यवस्थापन गर्दै आएको बताएको छ । उक्त रकमले समितिका कर्मचारीलाई तलब खुवाउन र बजार व्यवस्थापन गर्न पनि हम्मेहम्मे पर्ने समितिको भनाइ छ । जबकी बजारको अवस्था लथालिङ्ग छ । सर्वत्र फोहोर मात्रै देखिन्छ । 

शौचालयको हालत प्रयोगयोग्य देखिँदैन । बाहिर निकै वरसम्म गन्हाइरहेको हुन्छ । त्यसबाट त्यहाँका व्यवसायीसमेत समस्यामा परेका छन् । समितिले सरसफाईमा ध्यानै नदिएको उनीहरुको गुनासो छ । यसअघि भक्तपुरको सूर्यविनायक नगरपालिकाले पुल तर्न २० रुपैयाँ लिएको विषय विवादमा परेको थियो ।

टिप्पणीहरू